मातृशिशु निगरानी परियोजना सञ्चालन गरिने


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १ जुम्ला कर्णालीका आमा र बच्चाको स्वास्थ्य अवस्था सुरक्षित राख्न जुम्लाबाट ‘मातृशिशु निगरानी तथा प्रतिकार्य’ परियोजना लागू गर्न लागिएको छ।

यूनिसेफको सहयोगमा नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय जुम्लाद्वारा ‘मातृशिशु निगरानी तथा प्रतिकार्य’ परियोजना एकसाताभित्रै शुरु गरिने भएको छ । गर्भवती भएको समयमा आमा र बच्चाको मृत्यु हुन नदिन र मृत्यु भए किन र कसरी भएको भन्ने कारण पत्ता लगाइ त्यसको रोकथाम गर्न यो परियोजना लागू गर्न लागिएको महाशाखाका नर्सिङ अधिकृत केशु काफ्लेले बताए। सो परियोजना लागू गर्नका लागि शुक्रबार यहाँ एक अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो ।
‘परियोजना अन्तर्गत भावी दिनमा घटना हुननदिन घटना भइसकेपछि हामी कमजोरी खोतल्छौं र त्यसको रोकथाम तथा समाधानमा जोड दिन्छौं,’ अधिृकत काफ्लेले भने। हरेक मृत्युले गणना हुनु पाउनुपर्छ भन्दै अधिकृत काफ्लेले कर्णालीका दुर्गम जिल्लाका ग्रामीण भेकका आमाहरुले मृत्यु भइसकेपछि समेत गणना हुने अधिकार नपाएको टिप्पणी गरे।

अभिमुखीकरणका सहभागीले सामाजिक जनचेतनाको कमी, गरिबी, स्वास्थ्यकर्मीको लापरबाही, औषधिको अभाव, भौगोलिक दुर्गमता र शीघ्र सेवाको व्यवस्था नहुँदा यहाँका गर्भवती आमा र शिशुले अकालमा ज्यान गुमाउनु परेको कुरा औंल्याएका थिए । यसमा स्वास्थ्य निकायबाट मात्र यो अभियान पूरा नहुने भन्दै सरोकारवाला निकायलाई सहयोग गर्न अपिल गरिएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडलले कर्णालीको आमा र शिशुको स्वास्थ्य अवस्था सुरक्षित गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मिडवाइफेरि कार्यक्रम शुरु हुन थालेको जनाए। उनले यो कार्यक्रमका विषयमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गर्नुपर्ने सुझाव दिए।
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगदबहादुर शाहीले गत वर्ष गर्भवती एउटा आमाको मृत्यु भए पनि यो वर्ष कुनै त्यस्तो घटना नघटेको जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com