अमेरिकी सेनामा सुचिकृत नेपालीसहितका आप्रवासीलाई देशनिकालाको जोखिम घटाउने विधयेक पारित


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको सैन्य खर्च सम्बन्धि विधयेकको एउटा प्रावधानले अमेरिकी सेनामा सुचीकृत आप्रवासीहरुका लागि अमेरिकाबाट देशनिकालाको जोखिमलाई कम गरेको छ । विधयेकले अमेरिकी सेनामा सुचीकृत भएर पृष्ठभूमी परिक्षणका लागि कुरिरहेकाहरुका लागि देशनिकालाको डरलाई कम गरेको छ ।

विधयेकमा अमेरिकी सेनामा सुचीकृत व्यक्तिलाई रक्षा सचिवले पृष्ठभूमी परिक्षणका लागि थप एकबर्ष दिनसक्ने प्रावधान राखिएको छ । यसअगाडि २ बर्षको प्रतिक्षा अवधि राखिएपनि सन् २०१६ को सुरक्षा जाँचबारेको नयाँ मापदण्डले प्रमाणिकरण प्रकृयालाई निकै सुस्त बनाएपछि पेन्टागनले गत डिसेम्बरमा आप्रवासीलाई अमेरिकी सेनामा भर्ना गर्ने माभ्नी कार्यक्रम नै बन्द गरेको थियो ।

परिणाम स्वरुप अमेरिकी सेनामा सुचीकृत भएर पृष्ठभूमी परिक्षण कुरिरहेका १ हजार भन्दा धेरै आप्रवासीहरुले गत जुनमा कानुनी हैसियत नै गुमाउँदा देशनिकालाको जोखिमको सामना गर्नुपरेको थियो । अमेरिकी सेनामा सुचीकृत भइसकेकाहरुले २ बर्षभित्र सुरक्षा पृष्ठभूमी परिक्षणको परिणाम प्राप्त गर्न नसक्दा कानुनी आप्रवासी हैसियत गुमाएर देशनिकालाको जोखिम भोग्नु परेको हो ।

अमेरिकी सेनामा सुचीकृत भइसकेका कतिपयलाई उनीहरुको देशमा फर्कन समेत जोखिम रहेको छ । अमेरिकी सेनामा सुचीकृत भएका तर पृष्ठभूमी परिक्षणको परिणाम प्राप्त गर्न नसकेका एकजना इराकी युवाले क्यानडामा शरण लिएका थिए । उनी इराक फर्केको खण्डमा आतंकबादी संगठनबाट समातिन सक्ने खतरा रहेको थियो । रुस र चीन जस्ता देशका नागरिकका लागि समेत उनीहरु स्वदेश फर्केपछि अमेरिकी सेनामा सुचीकृत भएको पत्ता लागेमा जेल पर्नसक्ने समेत खतरा रहेको छ ।

क्यालिफोर्नियाकी डेमोक्रेटिक सिनेटर कमला ह्यारिस र इलिनोयका रिचार्ड डर्बिनले विधयेकमा नयाँ प्रावधान घुसाएका थिए । जसका कारण अब कर्मचारीतन्त्रको ढिलाइको शिकार कुर्दा कुर्दै कानुनी हैसियत गुमाएर देशनिकालाको सामना गर्नुपर्ने अवस्थामा कमी आउने विश्वास गरिएको छ ।

अमेरिकामा १० हजार ४ सय भन्दा धेरै आप्रवासीहरु माभ्नी कार्यक्रममार्फत सेनामा प्रवेश गरेका छन् । जसमा कैयन नेपालीहरुसमेत छन् । यो कार्यक्रमले सेनामा भर्ती हुने विभिन्न भाषा र मेडिकल क्षेत्रमा योग्यहरुलाई बिना ग्रिनकार्ड सिधै अमेरिकी नागरिकता प्रदान गर्दछ । विभिन्न गैर आप्रवासी भिसामा रहेका, एसाइलम पाएका वा टेम्पोरेरी प्रोटेक्टेड स्टेटसमा रहेकाहरुले समेत यो सुविधा प्राप्त गर्न सक्ने प्रावधान छ । तर कतिपयको कानुनी स्टेटस पृष्ठभूमी परिक्षणको परिणाम कुर्दा कुर्दै नै समाप्त हुँदा देशनिकालाको सामना गर्नुपरेको हो । त्यसैले पृष्ठभूमी परिक्षणको परिणाम प्राप्त गर्न दुईबर्षको प्रतिक्षा अवधि निकै छोटो भएकाले यसलाई बढाइएको हो ।

गत सेप्टेम्बरमा २ बर्षभित्र पनि पृष्ठभूमी परिक्षणको परिणाम प्राप्त गर्न नसकेकाहरुको सम्झौता रद्द गरिएको थियो । तर पछि कैयनको सम्झौता पुन कायम गरिएको थियो । दुईबर्ष कुर्दा पनि सुरक्षा पृष्ठभूमी परिक्षणको परिणाम प्राप्त गर्न नसकी सम्झौता रद्द गरिसकिएकाहरुले भने थप एक बर्षको अवधि नपाउने जनाइएको छ । यो थप एकबर्षको सुविधा केबल सम्झौता रद्द नभइसकेकाहरुको हकमामात्र लागु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com