नेपाली डाक्टरलाई अमेरिकी विश्वविद्यालयको विशेष पुरस्कार


प्रकाशित मिति : आश्विन ५, २०७३ बुधबार

नेपाली अमेरिकी क्यान्सर चिकित्सक डा. विनय शाह स्वेनी स्पिरिट अफ मेडिसिन पुरस्कारबाट सम्मानीत भएका छन् । विपन्न वर्गमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनको लागि मानवीय कार्य गरेबापत शाहलाई इलिनोइस विश्वविद्दालयले यो पुरस्कार प्रदान गरेको हो ।

इलिनोइस विश्वविद्दालय अन्तर्गत कलेज अफ मेडिसिन अमेरिकाकै सबैभन्दा ठूलो मेडिसिन कलेज हो । स्पिरिट अफ मेडिसिन पुरस्कार इलिनोइस विश्वविद्दालय कलेज अफ मेडिसिनसँगको सहकार्यमा सामुदायिक सेवाका निम्ति काम गर्ने समुदाय साझेदार, व्यक्ति, निगम वा संस्थालाई हरेक वर्ष प्रदान गरिंदै आएको छ । सो पुरस्कार चिकित्सा शिक्षा, नागरिक संलग्नता लगायत समुदायको सम्पूर्ण स्वास्थ्य सुधारमा अग्रसरता तथा नेतृत्व लिएका व्यक्ति या संस्थाहरुलाई प्रदान गरिंदै आएको छ ।

नेपालमा पहिलो बोनम्यारो प्रत्यारोपण केन्द्र (बिएमटि) स्थापनामा डा. शाहले अहम् भूमिका निभाएका छन् । सिभिल सर्भिस अस्पताल काठमाडौंमा सो प्रत्यारोपण केन्द्र स्थापित गरिएको छ । उनको संस्था विनयतारा फाउण्डेशन (बिटिएफ) ले नेपालको बिएमटि टीमलाई सिकागो (अमेरिका) स्थित इलिनोइस विश्वविद्दालयमा तालिम प्रदान गर्नको लागि आर्थिक सहयोग गर्यो । सो तालिम दुई चिकित्सक र एक नर्सलाई दिइएको थियो । हाल कोलम्बो विश्वविद्दालय (श्रीलंका) मा अध्ययनरत एक चिकित्सकलाई क्लिनिकल जेनेटिक्समा तालिमका निम्ति बिटिएफ आर्थिक सहयोग गरिरहेको छ ।

यी चिकित्सक सन् २०१७ मा सिभिल सर्भिस अस्पतालको बिएमटि टिममा आवद्य हुने आशा छ । क्यान्सर केयर नेपालसँगको सहकार्यमा विनयतारा फाउण्डेशनले ललितपूर जिल्लामा होम हस्पिस कार्यक्रम पनि स्थापना गरेको छ । विटिएफले हस्पिस केयर टीमलाई तालिम दिलाउनुका साथै चिकित्सकिय तथा बिमारीको हेरचाह गर्ने कर्मचारीको तलब, उपकरण, मोटरसाइकल यातायात, एवम् इलेक्ट्रोनिक चिकित्सा रेकर्डको खर्च व्यहोरी बिमारीको घरैमा निशुल्क सेवा प्रदान गराएको छ ।

डा. शाह नेपालमा हुर्के । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सा विज्ञान अध्ययन गरेका शाहले अमेरिकाको लंग आइल्याण्ड कलेज अस्पताल, न्यू योर्कमा इन्टर्नल मेडिसिन रेसिडेन्सि तथा इलिनोइस विश्वविद्दालय सिकागोमा हेमाटोलोजी अन्कोलोजी फेलोसिप गरेका थिए ।

विनयतारा फाउन्डेसन इलिनोइसको आन्तरिक राजस्व कानूनको दफा ५०१ (ग) (३) बमोजिम करछूट हुने गैर मुनाफायुक्त संस्था हो । बिटिएफ लोक कल्याणकारी योजना भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र (बोनम्यारो ट्रान्सप्लान्ट सेन्टर ),  होम हस्पिस कार्यक्रम (होम हस्पिस प्रोग्राम), क्यान्सर स्क्रिनिङ, श्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुराहरु पर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com