फोक्सो फेरेकी विनिता यसरी नाच्दा दंग परे दर्शक (भिडियो )


प्रकाशित मिति : मंसिर १८, २०७४ सोमबार

केही समय अगाडि फोक्सो नै फेरेर पुनर्जन्म पाएकी न्युयोर्क निवासी कलाकार विनिता पौड्यालले शनिबार न्युयोर्कमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दा दर्शकहरु दंग परे । उनले कुटुमा कुटु, ए दाजु नसमाउ नाडीमा लगायतका गीतमा नृत्य प्रस्तुत गर्दा दर्शकले हुटिंग गर्दै ताली बजाएका थिए । फोक्सो प्रत्यारोपणपछि पहिले भन्दा पनि अझ शशक्त ढंगले नृत्यमा उत्रिदा दर्शकहरु छक्क परेका थिए । युएसनेपाल अनलाइनको १० औं बार्षिकोत्सका अवशरमा उनले नृत्य प्रस्तुत गरेकी थिइन् । सन् २०१२ पछि दुईबर्षसम्मको प्रतिक्षापछि सन् २०१४ को डिसेम्बरमा बिनिताको फोक्सो प्रत्यारोपण गरिएको थियो । फोक्सो प्रत्यारोपणको ठ्याक्कै तीनबर्षपछि आयोजित कार्यक्रममा शनिवार उनले नृत्य प्रस्तुत गरेकी हुन् ।

कलाकार बिनिता पौड्यालको जन्म काठमाडौंको पानीपोखरीमा भएको थियो । उनकी आमा मिठु बास्कोटा र बुवा स्व. गोपालप्रशाद बास्कोटा हुन् । उनका एक मात्र दाजू शम्भूजित बास्कोटा नेपालका ख्यातिप्राप्त संगितकार हुन् । उनी ३ दिदिबहिनीमा कान्छी हुन् । उनको श्रीमान बिदुर पौड्यालसंग सन् १९९४ मा बिहे भएको हो । उनीहरुको १९ बर्षीय छोरो बिभू छन् । सन् २००० को डिसेम्बरमा अमेरिका आएपछि उनीहरु न्युयोर्कमा बसोबास गर्दै आएका छन् । बिनिताले सन् १९९३ मा निर्मित नेपाली चलचित्र महामाया मा महामाया नामक मुख्य पात्र (नायिका) को भूमिका निभाएकी थिइन् । उक्त चलचित्रको निर्देशन स्व. प्रकाश थापाले गरेका थिए ।

सन् २०११ को अप्रिलदेखि फोक्सोले बिल्कुलै काम गर्न नसक्ने भएपछि प्रति मिनेट ६ लिटर अक्सिजन लिएर उकुसमुकुसको जीवन जिउन वाध्य भएकी थिइन् । अमेरिका जस्तो ठाउँको अस्पतालहरुले उनको फोक्सोमा देखिएको कालो धब्बालाई बायोप्सी गरेर पनि रोगको निक्र्यौल गर्न नसकेपछि र परिक्षणकैलागि अनेकौ औषधी प्रयोग गर्न वाध्य पारिएपछि अन्तत सन् २००१ मा सामान्य समस्या देखिएको उनको फोक्सो अब अस्पतालकै लापर्वाहीको कारण काम नलाग्ने हुन पुगेको थियो । लामो समयको प्रतिक्षापछि सन् २०१४ मा उनको फोक्सो प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले आफ्ना श्रीमानको सहयोगमा स्वास्थ्यलाभ गरिरहेकी छिन् । उनका श्रीमान बिदुर पौड्यालले सिम्पल ट्राभल नामको ट्राभल एजेन्सी संचालन गर्दै आएका छन् ।

तस्विर : युएनेपाल अनलाइन

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com