अमेरिकाका न्युयोर्क र जर्सीसिटीबाट तीन नेपाली पत्रकार सम्मानित


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

अमेरिकाका दुई सिटीहरु न्युयोर्क र न्युजर्सीबाट तीन नेपाली पत्रकार सम्मानित भएका छन् । अमेरिकामा नेपाली समुदायको सदस्यका रुपमा रहेर पत्रकारिता र अधिकारकर्ममा योगदान दिए बापत युएसनेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापा, खसोखास साप्ताहिकका प्रधानसम्पादक किशोर पन्थी र संचारकर्म तथा अधिकारकर्ममा सकृय शैलेश श्रेष्ठलाई सम्मान गरिएको हो । न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारो र न्युयोर्क सिटी काउन्सिलका सदस्य म्याथ्यु युजिनका तर्फबाट पत्रकारहरुलाई कदरपत्र प्रदान गरिएको हो । अमेरिकामा नेपाली समुदायको सदस्यका रुपमा रहेर पत्रकारिता र अधिकारकर्मका माध्यमबाट गरेको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

विगत ७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका उनी न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिक म्यागेजिन खसोखासका प्रधानसम्पादक हुन् । पत्रकार पन्थी अमेरिकी सरकारको विदेश मन्त्रालयबाट अमेरिकामा बसेर पत्रकारिता गर्नका लागि मान्यता पाउने पहिलो नेपाली पत्रकार हुन् । सन् २००८ देखि नेपालको एबीसी टेलिभिजनमा समाचार सम्पादक रहेका पन्थी सन् २०१० देखि एबीसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख हुन् । एबीसी टेलिभिजनमा उनको साप्ताहिक कार्यक्रम टक अफ द टाउन समेत प्रशारण हुँदै आएको छ । अमेरिकी अध्यागमन र सामाजिक विषयमा कलम चलाउने पत्रकार पन्थीले अँग्रेजी अनलाइन द हफिंटन पोष्ट, भ्वाइस अफ न्युयोर्क लगायतमा समेत लेख्दै आएका छन् ।

युएसनेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापाले अमेरिकामा व्यवस्थीतरुपमा लामोसमयदेखि सामुदायिक पत्रकारिता गर्दै आएका छन् । मुलधारका संचारमाध्यममा प्रकाशित नहुने समुदायका कैयन समाचारलाई स्थान दिएर उनी आवाजविहिनको आवाज बन्दै आएका छन् । कैयन पुस्तकका लेखक समेत रहेका थापाले आफ्नो संचारमाध्यममार्फत परोपकारी कामहरु समेत गर्दै आएका छन् ।

अमेरिकामा नेपाली समुदाय र आप्रवासीका अधिकारबारे संचारकर्म गर्दै आएका संचारकर्मी शैलेश श्रेष्ठ टेलिभिजन कार्यक्रम सम्प्रेषणका प्रस्तोता तथा निर्माता हुन् । ह्वाइटहिमाल टेलिभिजनबाट प्रशारण हुदै आएको यो कार्यक्रम हाल श्रेष्ठले स्वतन्त्र रुपमा अनलाइन उत्पादन र प्रशारण गर्दै आएका छन् । नेपालमा बलिदान लगायतका कैयन चलचित्र र टेलिचलचित्रसहित नाटकहरुमा समेत अभिनय गरेका श्रेष्ठले अमेरिकाका नेपाली समाजमा रहेका विसंगति र बिकृतिबारे बलियो कलम चलाउदै आएका छन् । अमेरिकामा रहेका आप्रवासी नेपालीहरुको अधिकारका पक्षमा वकालत गर्दै आएका श्रेष्ठ ट्वीन टावर आक्रमणमा संयोगले बाँचेका नेपाली हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com