४ होनहार नेपाली युवालाई अमेरिकामा अवार्ड


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

४ होनहार नेपाली युवा अमेरिकामा सम्मानित भएका छन् । सम्मानित हुनेहरु राजन थपलिया, जोली अमात्य, कञ्चन अमात्य र प्रियंका थापा हुन् । अमेरिकामा १० बर्षदेखि संचालित सामुदायिक संचारमाध्यम युएस नेपाल अनलाइनको १० औं बार्षिकोत्सवका अवशरमा अवार्ड प्रदान गरिएको हो । कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटमा गरिएको हो ।

२८ बर्षको युवा उमेरमा नै १२ वटा पुस्तक प्रकाशन गरिसकेका नेपाली अमेरिकन युवा लेखक राजन थपलियाले लेखन क्षेत्रअन्तर्गत पर्ने साहित्यको समेत हरेक विधामा कलम चलाउँदै आएका छन् । थपलियाको हालै फिफ्टी फाइभ इयर्स नामको उपन्यास सांराश प्रकाशित छ भने त्यो भन्दा अगाडि हन्ड्रेड पर्सेन्ट लाइफ प्रकाशित भएको थियो ।

राजनका अन्य पुस्तकहरु थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, द सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी, लाईफ इज सो ईजी, द मिराकल अफ लाईफ, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस र हन्ड्रेड पर्सेन्ट लाईफ हुन् । थपलियाले खासगरी सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्दै आएका छन् ।

जोली अमात्य राष्ट्रसंघका सन् २०१५ देखि २०१७ सम्म युवा सम्मेलनकी अध्यक्ष हुन् । उनले विश्वका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै दुईपटक राष्ट्रसंघ युवा सम्मेलनलाई सम्बोधन गरिसकेकी छिन् । सन् २०१३ देखि कार्यरत जोली राष्ट्र संघको इतिहासमै युवा अध्यक्ष पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली हुन् ।

पाटनमा जन्मिएकी उनले यसअघि विश्व बैंक, एक्सन एड नेपालजस्ता संस्थामा काम गरिकेकी छिन् । काठमाडौंको सेन्ट मेरिजमा पढेकी उनले हाल अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी छिन् । जोलीले सन् २००७ मा ‘महिलाको आवाज’ भन्ने पत्रिकामा उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गरेकी थिइन् । उनले अमेरिकाको आएवा विद्यालयमा वित्त तथा लेखा संकाय, हार्बर्ड विश्वविद्यालयमा पूर्वस्नातक तहको अध्ययन पूरा गरेकी छिन् । उनलाई हालै युएस नेशनल कमिटि फर युन वुमनले समेत च्याम्पेन अफ द चेन्ज अवार्ड प्रदान गरेको थियो ।

नेपालमा जन्मेर हाल अमेरिकामा रहदै आएकी कञ्चन सामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा समेत चर्चित छिन् । हाल उनी राष्ट्रसंघको शुन्य भोक अभियान र महिलाको आर्थिक शशक्तिकरणमा युएन वुमन ग्लोबल च्याम्पेनमा कार्यरत छिन् । सन् २०१५ मा पनि उनी एउटा फेलोसिपका लागि पूर्व राष्ट्रपति बिल क्लिन्टनबाट सम्मानित भएकी थिइन् । केहीदिन अगाडि उनले विश्वका हजारौं युवा नेताबाट छानिएर अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनबाट विशेष अवार्ड प्राप्त गरेकी थिइन् । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले कञ्चनलाई प्रेसिडेण्टल अनर रोल अवार्ड २०१७ प्रदान गरेका थिए ।

त्यस्तै प्रियंका थापाले बालविकाशमा सुस्त र अटिजम भएका बालबालिकाका न्युयोर्कमा रहेका परिवारलाई सेवा प्रदान गरेकी छिन् । साथै उनले आप्रवासी समुदायका युवाहरुलाई अगाडि बढ्नका लागि प्रेरणा प्रदान गर्दै आएकी छिन् ।

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com