एकपछि अर्को देशको टीपीएस कार्यक्रम समाप्त गर्दै अमेरिका, हैटीको पनि समाप्त


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

एकपछि अर्को देशको टीपीएस अवधि समाप्त गर्दै गएको अमेरिकाले आज हैटीको टीपीएस अवधि पनि समाप्त गर्ने घोषणा गरेको छ । हैटीको टीपीएस अवधि सकिन झण्डै २ महिना बाँकी रहेको बखत डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी कार्यकारी प्रमुख एलेन ड्युकले हैटीको टीपीएस अवधि समाप्त गर्ने घोषणा गरेकी छिन् ।

ड्युकको यो घोषणासँगै अमेरिका रहेका टीपीएसप्राप्त झण्डै ४६ हजार हैटीका नागरिकहरुको भविश्य अन्यौलमा परेको छ । हैटीका कुल ५८ हजार ५ सय ५७ जनाले टीपीएस लिएपनि कैयनले स्टेटस परिवर्तन गरेका कारण, अमेरिका छाडेका कारण वा मृत्यु भएका कारण हाल टीपीएसको संरक्षणमा रहेका हैटीका नागरिकहरु ४६ हजार रहेका छन् ।

हैटीका टीपीएस प्राप्त नागरिकहरुलाई अमेरिका छाड्नका लागि १८ महिनाको समय दिइएको छ । उनीहरुको टीपीएस अवधि सन् २०१९ को जुलाई २२ मा नथपिनेगरी समाप्त हुनेछ । कार्यकारी प्रमुख ड्युकले हैटीका विदेशमन्त्री र राजदूतलाई समेत भेटेर यसबारे छलफल गरेकी थिइन् । सन् २०१० मा हैटीमा गएको भूकम्पपछि उत्पन्न असामान्य अवस्था कायम नरहेको भन्दै हैटीको टीपीएस समाप्त पार्ने घोषणा गरिएको हो ।

गत सेप्टेम्बर १८ मा सुडानको टीपीएस समाप्त भएको घोषणा गरिसकिएको छ भने नोभेम्बरको पहिलो साता निकारागुवाको टीपीएस पनि नथप्ने घोषणा भइसकेको छ । होण्डुरसको टीपीएस अवधि आगामी जुलाईसम्म कायम गरिएतापनि त्यसपछि नथप्ने सम्भावना उच्च रहेको छ ।

एलसाल्भाडोरको टीपीएस अवधिबारे आगामी फरबरीको पहिलो साता निर्णय हुनेछ । सिरियाको टीपीएसबारे भने जनवरीको अन्तिम साता निर्णय हुनेछ । यदि एल साल्भाडोर र होण्डुरसको पनि टीपीएस समाप्त भएमा अमेरिकामा टीपीएसको संरक्षणमा रहनेहरु नेपाल, सोमालिया, सिरिया र यमनका जम्मा १६ हजारको हाराहारीमात्र हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com