टीपीएस प्राप्त नेपाली १४७९१, नविकरण गर्नुपर्ने ८९५०, देशनिकाला हुने १५ सय


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस प्राप्त गर्ने नेपालीहरुको आधिकारिक संख्या सार्वजनिक गरिएको छ । कँग्रेशनल रिसर्च सर्भिसले तयार पारेको तथ्यांक अनुशार अमेरिकामा टीपीएसप्राप्त नेपालीहरुको संख्या १४ हजार ७ सय ९१ रहेको छ । उनीहरुमध्ये कैयनले भने आफ्नो स्टेटस परिवर्तन गरिसकेका छन् भने कतिपय नेपाल फर्किसकेका छन् ।

स्टेटस परिवर्तन वा एड्जस्ट गरेका, स्वदेश फर्केका, मृत्यु भएका टीपीएसप्राप्त नेपालीहरुलाई घटाउने हो भने अहिले पनि टीपीएसमा मात्र रहेका नेपालीहरुको संख्या ८ हजार ९ सय ५० रहेको युएससीआईएसको तथ्यांक रहेको छ । अर्थात् यदि टीपीएस रिन्यु भएमा बढीमा ८ हजार ९ सय ५० नेपालीहरुले त्यसबाट फाइदा लिनेछन् भने रिन्यु नभएमा उनीहरुलाई देशनिकालाको प्रकृयामा राखिनेछ ।

टीपीएस रिन्यु नभएमा उनीहरुलाई निश्चित अवधि दिएर देश छाड्न वा आफ्नो स्टेटस परिवर्तन वा एड्जस्ट गर्न अल्टिमेटम दिइनेछ । तोकिएको अवधिमा स्टेटस परिवर्तन वा एड्जस्ट गर्न योग्य नहुनेहरु देशनिकालाको प्रकृयामा जानुपर्नेछ । टीपीएस लिने नेपालीहरुमध्ये कैयन नेपालीहरु विद्यार्थी लगायतका भिसामा रहेका र कैयनले एसाइलम आवेदन दिएका कारण वास्तविक रुपमा नै देशनिकालामा पर्नसक्ने नेपालीहरुको संख्या झण्डै १५ सय रहेको तथ्यांक यसअगाडि खसोखासले सार्वजनिक गरेको थियो ।

अमेरिकाबाट डिपोर्ट गर्नुपर्ने व्यक्तिका सुचीमा १५२० जना नेपाली

अहिलेसम्म टीपीएस पाएका एलसाल्भाडोर, हैटी, होण्डुरस, नेपाल, निकारागुवा, सोमालिया, साउथ सुडान, सुडान, सिरिया र यमनका ४ लाख ३६ हजार ८६९ जना छन् । जसमध्ये स्टेटस एड्जस्ट वा परिवर्तन नगरी टीपीएसमा नै रहेका ३ लाख १७ हजार ६६० जना रहेका छन् । जसमध्ये नेपालको टीपीएसको अवधि आगामी जुन २४ मा समाप्त हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com