प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै


प्रकाशित मिति : भाद्र ३०, २०७३ बिहीबार

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजकीय भ्रमणको विस्तृत तालिका बुधबार सार्वजनिक गरेको छ । राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री प्रचण्डसहित १५ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् । सरकारी भ्रमण दलका बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ ।

१२ः३० बजे इन्दिरा गान्धी विमानस्थलमा स्वागत

प्रधानमन्त्री प्रचण्ड बिहीबार दिउँसो १२ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको सेरेमोनियल लन्जमा आइपुग्नेछन् । उनलाई भारत सरकारका अधिकारीले स्वागत गर्नेछन् ।

विदेश मन्त्रालयको कार्यक्रमअनुसार प्रधानमन्त्री प्रचण्डको सम्मानमा शुक्रबार बिहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले गार्ड अफ अनर दिनेछ । प्रधानमन्त्री प्रचण्ड ९ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा गएर बत्ती बाल्ने कार्यक्रम छ । १०ः३० बजे प्रधानमन्त्रीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमै गएर शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रचण्ड र मोदीबीच छुट्टै भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार बिहान ११ः३० बजे औपचारिक वार्ता गर्ने कार्यक्रम छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले हैदराबाद हाउसमा मोदीसँग एक्लाएक्लै पनि कुराकानी गर्नेछन् भने प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि हुने नयाँ पत्रिकामा खबर छ । सम्झौताहरूको आदानप्रदान र पत्रकार सम्मेलन पनि हुने कार्यक्रम छ । शुक्रबार साँझ ४ बजे भारतका अर्थमन्त्री अरुण जेट्लीले राष्ट्रपतिभवनमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् । ऊर्जा, बिजुली तथा कोइला राज्यमन्त्री पियुष गोयलले साढे ४ बजे प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

शुक्रबार साँझ राष्ट्रपति मुखर्जीसँग शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नेछन् । साँझ ७ः१५ बजे ताजमहल होटेलमा संयुक्त व्यापारिक कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् ।

आइतबार प्रधानमन्त्री प्रचण्ड बिहान ८ः४० बजे हिमाञ्चलस्थित नाथाप झाक्री जलविद्युत् परियोजना अवलोकनका लागि जानेछन् । उनी साँझ ३ः१५ बजे दिल्ली फर्किनेछन् । दुईवटा हेलिकोप्टरमा १४ जना प्रतिनिधिमण्डललाई हिमाञ्चल जाने व्यवस्था मिलाइएको छ । आइतबार साँझ ६ बजे गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com