डिपोर्ट गर्न चाहेका व्यक्ति फिर्ता नलिने देशका अधिकारीलाई अमेरिकी भिसा नदिइने


प्रकाशित मिति : भाद्र २९, २०७४ बिहीबार

अमेरिकाले देशनिकाला गर्न चाहेका व्यक्तिलाई फिर्ता नलिने चारदेशका अधिकारीहरुलाई अमेरिकी सरकारले निश्चित प्रकारका भिसाहरु जारी नगर्ने भएको छ । कम्बोडिया, सिरिया लिओन, गायना र इरिटेरियाले अमेरिकाबाट देशनिकाला हुने आफ्ना देशका नागरिकहरु फिर्ता लिन नमानेपछि ती देशका अधिकारीहरुलाई भिसा जारी नगर्न अमेरिकी सरकारले विश्वभरका सबै दूतावासका नाममा निर्देशन जारी गरेको छ ।

अमेरिकामा गैरकानुनी रुपमा रहेका कागजपत्रविहिनहरुलाई कारवाही गर्ने ट्रम्प प्रशासनको पछिल्लो कदम स्वरुप यो निर्देशन जारी गरिएको हो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले जारी गरेको आन्तरिक निर्देशनमा ती चारदेशले आफ्ना नागरिक फिर्ता लिन नमानेका वा अकारण ढिलाई गरेकाले ती देशका अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने र पछि फिर्ता लिन मानेको खण्डमा त्यस्तो प्रतिबन्ध हटाइने उल्लेख छ ।

अमेरिकी विदेशमन्त्रीले इरिटेरियाका कुनै पनि नागरिकलाई अमेरिकाको बिजनेश र पर्यटक भिसा अस्वीकार गर्न निर्देशन दिएका छन् भने गायनका सरकारी अधिकारी र उनीहरुका परिवारलाई अमेरिकाको पर्यटक , बिजनेश र विद्यार्थी भिसा जारी नगर्न निर्देशन दिएका छन् । त्यस्तै कम्बोडियाका विदेशमन्त्रालयका अधिकारी, डाइरेक्टर जनरलभन्दामाथिका अधिकारी र उनीहरुका परिवारलाई पर्यटक भिसा जारी नगर्न निर्देशन दिएका छन् । सिरिया लिओनका सन्दर्भमा भने फ्रिटाउनमा रहेको अमेरिकी दूतावासले त्यहाँका विदेशमन्त्रालय र अध्यागमन अधिकारीहरुलाई पयर्टक र विजनेश भिसा जारी गर्नेछैन ।

अमेरिकाले झण्डै २१३७ गायनिज, ८३१ जना सिरिया लिओनका नागरिक, ७०० इरिटेरियन र १९ सय भन्दा धेरै कम्बोडियनलाई देशनिकालाको आदेश दिएपनि उनीहरुलाई त्यहाँका सरकारले फिर्ता लिन मानेका छैनन् । अमेरिकाले आफ्ना देशका नागरिक फिर्ता लिन नमान्ने देशहरुमाथि निरन्तर दवाव सृजना गर्दै आएको छ । जुलाईसम्म यसरी आफ्ना देशका नागरिक फिर्ता लिन नमान्ने देशहरुको सुचीमा चीन, क्युबा, भियतनाम, लाओस, इरान, कब्बोडिया, बर्मा, मोरक्को, हङकङ, साउथ सुडान, गायना र इरिटेरिया समेत थिए । यसअघि भारत पनि त्यस्तो देशको सुचीमा थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com