‘मेरो कार्यकालमा देखिएको न्युयोर्कमा सांस्कृतिक केन्द्रको सपना पूरा हुन लाग्दा निकै खुशी छु’


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

-श्री पराजुली, पूर्व अध्यक्ष, रिजउड नेपाली समाज, न्युयोर्क

 

तपाईको कार्यकालमा सामुदायिक केन्द्रको निर्माणको योजनाका साथ सन् २०१० मा महापुराण गरेर जग्गा किनिएको थियो । अब त्यो योजना पूरा हुने दिशामा छ । कस्तो अनुभव भइरहेको छ ?

हामीले निकै पहिलेदेखि न्युयार्कमा नेपालीको सांस्कृतिक केन्द्रको रहर थियो । त्यसका लागि हामीले सन् २०१० मा महापुराण गरेका थियौं । त्यसबाट संकलित रकमले जग्गा किनेपनि भवन बनाउन सकेनौं । यसपटकको महापूराणबाट संकलित रकमबाट हामीले सोचेको भवन बन्छ भन्ने कुरामा विश्वास छ ।

व्यक्तिगत रुपमा तपाई र तपाईको परिवारले सबैभन्दा धेरै रकम प्रदान गर्नुभयो । यसको लागि के कुराले प्रेरित गरेको हो ?

रिजउडमा नेपाली सांस्कृतिक केन्द्र र दुर्गा मन्दिर निर्माणका लागि म सुरुदेखि नै लागेको हुँ । अघिल्लो पटक हामीले महापुराण गरेर जग्गा किन्न सक्यौं । र अहिलेको कार्यसमितिले महापुराण गर्दा धेरै दाताबाट दान भएको छ । म अध्यक्ष हुँदा मेरो नेतृत्वमा यो अभियान सुरु गरिएको थियो । त्यसैले यो अभियानमा आर्थिक रुपमा सहयोग गर्नु मेरो कर्तब्य हो । यो बारे परिवारका सदस्यहरुसँग मैले सल्लाह गरें । त्यसैले यो रकम प्रदान गर्ने निष्कर्षमा पुगेका हौं ।

सांस्कृतिक केन्द्रलाई सबैको साझा भएको अनुभूती कसरी दिलाउन सकिएला ?

पहिले पनि यो विषयमा धेरै कुराहरु उठेका थिए । यो भवन रिजउड आसपासमा बस्नेहरुका लागिमात्र हुने हो कि ? पायकका लागि अरु स्थानमा सार्नपर्ने हो कि ? भन्ने कुराहरु आएका थिए । तर अरु स्थानमा किन्न महँगो पर्ने भएकाले तत्काल त्यो स्तरको भवन सम्भव नहुन पनि सक्छ । हामीले सोचेकै स्थानमा बनाउन तीनदेखि चारमिलियन डलर लाग्न सक्छ । त्यो क्षमता तत्कालका लागि नहुनसक्छ । रिजउड पुग्नका लागि त्यती टाढा छैन । सबै सजिलै पुग्न सकिन्छ । यो सांस्कृतिक केन्द्र सबै नेपालीहरुको हुनेछ ।

तपाईहरुले कबोल गरेको रकम कहिलेसम्म प्रदान गर्नुहुनेछ ?

बोर्डका सदस्यहरुले दुईबर्षभित्र सो रकम प्राप्त गर्ने अपेक्षा गर्नुभएको छ । एकैपटक सबै रकम प्रदान गर्न गाह्रो पनि हुन्छ । त्यसैले मैले काम हुँदै गर्दा रकम पनि प्रदान गर्दै जानेछु । किस्ताबन्दीमा रकम प्रदान गर्दै जानेछु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com