‘न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन सहयोग गर्न पाउनु हाम्रा लागि अवशर हो’


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

-आनन्द बिष्ट, सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका

 

नेपाली जनसम्पर्क समितिका अमेरिकाका तर्फबाट सांस्कृतिक केन्द्र निर्माणका लागि सबैभन्दा ठूलो रकम प्रदान गर्ने घोषणा गर्नुभयो । के कुराले प्रेरित गरेको हो ?

नेपाली जनसम्पर्क समिति अमेरिका सामाजिक कार्यमा स्थापना कालदेखि नै सकृय रहदै आएको छ । नेपाली सांस्कृतिक केन्द्र र मन्दिर बनाउने योजना अत्यत्नै प्रशंसनीय छ । त्यसका लागि रिजउड नेपाली समाजले जग्गा पनि किनिसकेकाले यो काम सफल हुन्छ भन्ने लागेर हामीले सहयोगको घोषणा गरेका हौं । जनसम्पर्क समितिमा आवद्ध कैयन साथीहरुले व्यक्तिगत रुपमा लाखौं डलर दिइसक्नुभएको छ । तर हामीले संस्थागत आबद्धता पनि हुनुपर्ने बोध गरेर यो निर्णय गरेका हौं । हामीले साथीहरु बैठक बसेर, २३० जना साथीहरुको नाम संकलन गरेर, न्यूनतम ५ सयका दरले सहयोग गर्ने निर्णय गरेका थियौं । जसअनुशार १ लाख २५ हजार ५ सय ५५ डलर संकलन हुने भएपछि सो रकम प्रदान गर्ने घोषणा गरेका हौं । सामाजिक कामप्रतिको हाम्रो ओतप्रोत र समाजका लागि केही गर्नुपर्छ भन्ने धारणाका कारण हामीलाई यो एउटा अवशर जस्तो लागेको छ ।

सबैभन्दा ठूलो दाताका रुपमा त्यो रकम कहिलेसम्म र कसरी प्रदान गर्नुहुनेछ ?

हामी ठूलो दाता बन्ने कुनै मनाशाय थिएन । रिजउड नेपाली समाजको पहलमा सांस्कृतिक केन्द्र बनाउने अभियानमा ७५ देखि ८० प्रतिशत रकम काँग्रेस र जनसम्पर्क आवद्ध साथीहरुले नै प्रदान गर्नुभएको छ । तर त्यसलाई हामीले राजनीतिक रुपमा लिएका छैनौ । दानविर र मनकारी साथीहरुका रुपमा हेरेका छौं । जनसम्पर्क समितिको उतारचढावकाबीचमा हामीले यो सहयोग गर्न पाउदा खुशी लागेको छ । हामीले प्रतिस्पर्धाका रुपमा ठूलो रकम प्रदान गर्ने घोषणा गरेका होइनौ । हामीले रकम संकलनको योजना बनाउदा हामीले प्रदान गर्ने रकम सबैभन्दा ठूलो भयो, त्यो बेग्लै कुरा हो । हामीले त्यो रकम १ बर्षभित्र प्रदान गर्नेछौ । त्यसका लागि हामीले बेद खरेल संयोजक, रोशन ढुंगाना सदस्य सचिव रहेको समिति समेत बनाएका छौं ।

यो सांस्कृतिक केन्द्र कस्तो बनोस् भन्ने अपेक्षा गर्नुहुन्छ ?

यो नेपाल र नेपालीलाई चिनाउने हुनुपर्छ । अमेरिकाको सबैभन्दा ठूलो शहर न्युयोर्कमा सामुदायिक केन्द्र बन्दैछ । त्यो सबै नेपालीको बन्नुपर्छ । कुनै जातधर्म, विचार, टोल छिमेक, समुदाय नभई सबै नेपालीको साझा सामुदायिक केन्द्र बन्नुपर्छ । यसमा दाता पनि सबै क्षेत्र, जातधर्म, विचारका हुनुहुन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com