डाकाको भविश्य : बाल्यकालमा अमेरिका छिरेका ८ लाखलाई देशनिकाला !


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

ट्रम्प प्रशासनसले सन् २०१८ को मार्च ५ बाट डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम चरणबद्ध रुपमा हटाउन सुरु गर्ने घोषणा गरेको छ । बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको डरविना बस्न र कामगर्न अनुमति प्रदान गर्ने यो कार्यक्रम सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।

तर वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका छन् । उनले पहिले नै यो कार्यक्रमका लागि योग्य ठहरिएकाहरुका सन्दर्भमा उपयुक्त समाधान ल्याउन सदनलाई ६ महिनाको समय दिएका छन् ।

ओबामाले पाँचबर्ष अगाडि कार्यकारी आदेशमार्फत यो कार्यक्रम ल्याएपछि बाल्यअवस्थामा नै अमेरिकामा आएका वा ल्याइएका झण्डै ८ लाखले यो कार्यक्रमबाट फाइदा लिएका छन् । कतिपय राज्यहरुमा यसरी डाका कार्यक्रममा योग्य ठहरिएकाहरु कामको अनुमतिका लागिमात्र नभई ड्राइभर लाइसेन्स र पब्लिक कलेजमा ट्युसनका लागि समेत योग्य हुदै आएका छन् ।

ट्रम्प प्रशासनको मंगलबारको घोषणापछि अमेरिकी सरकारको युएससीआईएसले मंगलबारदेखि नै डाकाका लागि नयाँ आवेदनहरु लिन छाडिसकेको छ । अगस्त २० सम्म १ लाख ६ हजार ३ सय ४१ आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् । जसमध्ये ३४ हजार ४ सय ८७ नयाँ आवेदन रहेका छन् भने ७१ हजार ८५४ नविकरणका लागि दिइएका आवेदन छन् ।

डाका प्राप्त गरिसकेकाहरुले आफ्नो डाका स्टेटस नसकिदासम्म त्यसको प्रयोग गर्न पाउनेछन् । आगामी मार्च ५ अगाडि नै अवधि सकिनेहरुले यही अक्टोबर ५ सम्म २ बर्षको लागि देशनिकाला हुनबाट बच्न र वर्क परमिट रिन्युका लागि आवेदन दिन सक्नेछन् । आगामी मार्च ५ अगाडि नै अवधि सकिने र रिन्यु गर्नुपर्नेहरुको संख्या झण्डै २ लाख रहेको छ । यसरी सन् २०२० सम्म सबैको डाका समाप्त हुनेछ ।

सदनले कुनै नयाँ समाधान नल्याएमा सन् २०१८ को अक्टोबर ६ पछि डाकाको अवधि सकिनेहरुको म्याद थपिने छैन । यसर्थ डाका प्राप्त गरेकाहरुले सन् २०१८ को मार्च ६ देखि नै आफ्नो स्टेटस गुमाउन थाल्नेछन् । मार्च ६ पछि डाकाको अवधि सकिनेहरु क्रमश देशनिकालाको लागि योग्य हुनेछन् । तर मार्च ६ अगाडि नै रिन्युका लागि योग्य हुनेहरु भने थप २ बर्षसम्म अमेरिकामा बस्न र कामगर्न पाउनेछन् ।

डाकाका आवेदकहरुले युएससीआईएसमा बुझाएका विवरणहरु उनीहरुलाई पक्राउ गर्नका लागि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टलाई प्रदान नगरिने युएससीआईएसले स्पष्ट पारिसकेका छ । आवेदकहरुले युएससीआईएसमा आफ्ना नाम, ठेगाना र औठाछाप लगायतका विवरणहरु बुझाएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पहिले डाका प्राप्त गरिसकेका व्यक्तिलाई उनीहरुले अपराध नगर्दासम्म देशनिकालाको प्राथमिकतामा नराखिने जनाएको छ ।

ट्रम्पले सदनलाई समाधानसहित आगामी मार्च ५ भित्र आउन आग्रह गर्दै र नआएमा त्यसपछि डाका खारेज गरिने बताएपनि विभाजित सदन मार्च ५ भित्र सहमतिमा पुग्नेबारे अनिश्चितता रहेको छ । यद्यपी केही विधयेकहरुका ड्राफ्ट भने तयार पारिएको छ । डाका खारेज भएमा डाका प्राप्त व्यक्तिले अमेरिकामा एसाइलम, पारिवारिक आधारका भिसा आवेदन वा विवाहका उपायहरु ऋपनाउन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com