जालसाजी रोक्न अमेरिकी ग्रिनकार्डको नियममा थप कडाई


प्रकाशित मिति : भाद्र १४, २०७४ बुधबार

अमेरिकाको युएससीआईएसलेले अमेरिकी अध्यागमनलाई शशक्त बनाउन र जालसाजी रोक्न भन्दै ग्रिनकार्ड प्राप्त गर्ने नियममा थप कडाई गरेको छ । अब अक्टोबर १ देखि लागु हुनेगरी केही निश्चित श्रेणीमा ग्रिनकार्ड प्रदान गर्नुभन्दा अगाडि आवेदकको थप प्रत्यक्ष अन्तरवार्ता लिने भएको छ ।

अब एसाइलम स्वीकृत भइसकेका व्यक्तिका अमेरिकामा रहेका परिवारका सदस्यहरु र एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्डका आवेदकहरुले ग्रिनकार्डका लागि युएससीआईएसका अधिकारीसमक्ष प्रत्यक्ष अन्तरवार्ता दिनुपर्ने भएको छ । ट्रम्पको कार्यकारी आदेशको पालना गर्ने क्रममा यो नयाँ नियम ल्याइएको युएससीआईएसले जनाएको छ ।

यसअघि युएससीआईएस वा इमिग्रेशन अदालतबाट एसाइलम स्वीकृत भइसकेकाका परिवारले बिना अन्तरवार्ता नै एकबर्ष एसाइलीको दर्जामा बसिसकेपछि ग्रिनकार्डका लागि आवेदन दिन पाउने र ग्रिनकार्ड पाउनसक्ने व्यवस्था रहेको थियो । तर अब भने एसाइलम प्राप्त व्यक्तिका अमेरिकामा रहेका परिवारका सदस्यहरुले ग्रिनकार्ड पाउनका लागि युएससीआईएसमा अन्तरवार्ता दिनुपर्ने भएको छ ।

त्यस्तै एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्डका आवेदन दिनेहरुले विना अन्तरवार्ता नै ग्रिनकार्ड पाउनसक्ने व्यवस्था रहेको थियो । तर अब भने एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्डका आवेदकले युएससीआईएससमक्ष अन्तरवार्ता दिनुपर्ने भएको छ । यसमा सबै रोजगारमा आधारित ग्रिनकार्डहरु पर्नेछन् ।

यीबाहेक अन्य श्रेणीका ग्रिनकार्डका लागि पनि अनिवार्य अन्तरवार्ताको तयारी भइरहेको युएससीआईएसले जनाएको छ । अमेरिकाको अध्यागमन प्रणालीलाई शशक्त बनाउन र अध्यागमनमा भइरहेको जालसाजी रोक्न यो विधि अपनाइएको कार्यकारी युएससीआईएस निर्देशक जेम्स म्याकक्यामेन्टले जनाएका छन् । उनले अमेरिकामा अध्यागमन सुविधा खोजिरहेको व्यक्तिका सन्दर्भमा आफूहरुले थप कडाई गर्नका लागि अन्य संघीय निकायहरुसँग काम गरिरहेको जनाएका छन् ।

आवेदकलाई प्रत्यक्ष भेटेर अन्तरवार्ता लिंदा आवेदकका विवरणहरु प्रमाणित गर्न युएससीआईएस अधिकारीहरुलाई थप मौका मिल्ने युएससीआईएसले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com