एसाइलम गर्नेका परिवार र एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड आवेदकले अन्तरवार्ता दिनुपर्ने


प्रकाशित मिति : भाद्र १४, २०७४ बुधबार

अमेरिकाको युएससीआईएसलेले अब अक्टोबर १ देखि लागु हुनेगरी केही निश्चित श्रेणीमा ग्रिनकार्ड प्रदान गर्नुभन्दा अगाडि आवेदकको थप प्रत्यक्ष अन्तरवार्ता लिने भएको छ । एसाइलम स्वीकृत भइसकेका व्यक्तिका अमेरिकामा रहेका परिवारका सदस्यहरु र एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्डका आवेदकहरुका लागि अब ग्रिनकार्ड प्रदान गर्नुभन्दा अगाडि युएससीआईएसले प्रत्यक्ष अन्तरवार्ता लिने भएको छ ।

यसअघि युएससीआईएस वा इमिग्रेशन अदालतबाट एसाइलम स्वीकृत भइसकेकाका परिवारले एकबर्ष एसाइलीको दर्जामा बसिसकेपछि ग्रिनकार्डका लागि आवेदन दिन पाउने र ग्रिनकार्ड पाउनसक्ने व्यवस्था रहेको थियो । एसाइलम आवेदकका परिवारले युएससीआईएसमा अन्तरवार्ता दिनु पर्दैनथ्यो । तर अब भने एसाइलम प्राप्त व्यक्तिका अमेरिकामा रहेका परिवारका सदस्यहरुले ग्रिनकार्ड पाउनका लागि युएससीआईएसमा अन्तरवार्ता दिनुपर्ने भएको छ ।

त्यस्तै एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्डका आवेदन दिनेहरुले विना अन्तरवार्ता नै ग्रिनकार्ड पाउनसक्ने व्यवस्था रहेको थियो । तर अब भने एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्डका आवेदकले युएससीआईएससमक्ष अन्तरवार्ता दिनुपर्ने भएको छ । यसमा सबै रोजगारमा आधारित ग्रिनकार्डहरु पर्नेछन् ।

यीबाहेक अन्य श्रेणीका ग्रिनकार्डका लागि पनि अनिवार्य अन्तरवार्ताको तयारी भइरहेको युएससीआईएसले जनाएको छ । अमेरिकाको अध्यागमन प्रणालीलाई शशक्त बनाउन र अध्यागमनमा भइरहेको जालसाजी रोक्न यो विधि अपनाइएको कार्यकारी युएससीआईएस निर्देशक जेम्स म्याकक्यामेन्टले जनाएका छन् । उनले अमेरिकामा अध्यागमन सुविधा खोजिरहेको व्यक्तिका सन्दर्भमा आफूहरुले थप कडाई गर्नका लागि अन्य संघीय निकायहरुसँग काम गरिरहेको जनाएका छन् ।

आवेदकलाई प्रत्यक्ष भेटेर अन्तरवार्ता लिंदा आवेदकका विवरणहरु प्रमाणित गर्न युएससीआईएस अधिकारीहरुलाई थप मौका मिल्ने युएससीआईएसले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com