न्युयोर्कमा महापुराण भोलिदेखि, बन्ने होइन त कर्ता ?


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

न्युयोर्कको ज्याक्सनहाइट नजिक रहेको सत्यनारायण मन्दिरमा रिजउड नेपाली समाजको आयोजनामा भोलिदेखि महापुराण सुरु हुने भएको छ । भोलि विहान १० बजे रिजउडको ७८९ वेकफ एभिन्युबाट कलश यात्रा सुरु हुनेछ भने महापुराणको औपचारिक उद्घाटन दिउसो ४ बजे सत्यनारायण मन्दिरमा हुनेछ । पूजामा कर्ता बन्न चाहनेहरुले आज बेलुका ८ बजेसम्म आयोजकलाई सम्पर्क गर्न सक्नेछन् ।

भेलि विहान १० बजे जलले भरिएका कलशको पुजा गरिसकेपछि कलशयात्रा सुरु गरिने मुल समिति संयोजक राजेश भट्टले जानकारी दिनुभयो । सुरुमा रिजउडमा र त्यसपछि ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजाबाट कलशयात्रा गरिने उहाँले जानकारी दिनुभयो । १०८ कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिने भएकाले कलशयात्रालाई महत्वका साथ हेरिएको छ । तर कलश संख्या बढाउन समेत सकिने जनाइएको छ ।

यस अघि रिजउड नेपिाली समाजले सन् २०१० मा न्युयोर्कमा भब्य महापुराणको आयोजना गरेको थियो । महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख डलरबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिएको थियो । सन् २०११ मा ५ हजार बर्गफुटको जग्गा खरिद गरिएको हो ।

भोलिदेखि अगस्त २९ सम्म हुने महापुराणबाट संकलित रकमबाट किनिएको जग्गामा दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणको योजना बनाइएको छ ।

 

दुर्गा मन्दिर र सांस्कृतिक केन्द्रको सपना

न्युयोर्कमा नेपालीहरुले दुर्गा मन्दिर र सांस्कृतिक केन्द्रको सपना धेरैबर्ष पहिले देख्दै आएका हुन् । सन् २००४ ताका नै न्युयोर्कमा नेपाल घर बनाउने योजना बनाइएको थियो । तर त्यो योजनाले मुर्तरुप पाउन सकेन । त्यसको ६ बर्षपछि सांस्कृतिक केन्द्र र दुर्गा मन्दिर निर्माणको लागि न्युयोर्कको रिजउडमा महापुराण लगाइयो । तर त्यो महापुराण सांस्कृतिक केन्द्र र दुर्गा मन्दिर निर्माणको लागि प्रयाप्त हुन सकेन । प्रयाप्त रकमको अभावमा निर्माण कार्य अगाडि बढ्न नसकेपनि रिजउडमा जग्गा भने खरिद गरिएको थियो ।

यसैबीचमा न्युयोर्कको ज्याक्सनहाइटमा शेर्पा किदुगले शेर्पा गुम्बा खरिद गर्न सफल भयो । गुम्बाको बेसमेन्टमा अहिले पनि विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । कुनै कार्यक्रम गर्नुपरेमा नेपालीहरुलाई निकै सहज अवस्था आएको छ । अब भने रिजउडमा पनि दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणको सपना पुरा हुने सम्भावना उच्च देखिएको छ । तर त्यसका लागि अझ दुईबर्ष कुर्नुपर्ने रिजउड नेपाली समाजका वर्तमान पदाधिकारीहरुको भनाई छ ।

 

महापुराणको तयारी पूरा

न्युयोर्कको रिजउडमा दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र बनाउन दोश्रो बृहत श्रीमद् भागवत महापुराणको तयारी पूरा भएको छ । आगामी दुईबर्षभित्र दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र निर्माण गर्न १० लाख डलरको महत्वाकांक्षी लक्ष्य सहित महापुराणको आयोजना गरेको हो ।

सन् २०१० मा जस्तै यसपटकपनि बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद भागवत महापुराणको बाचन गर्नुहुने भएको छ ।

दिनानुदिन बढ्दै गइरहेको नेपाली आगमन र अमेरिकामा जन्मेका बालबालिकाहरुलाई सांस्कृतिक केन्द्रका माध्यमबाट एक असल संस्कारी नेपालीको पहिचान दिन सकियोस् भन्ने उद्देश्यले दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र निर्माण गर्न लागिएको रिजउड नेपाली समाजले जनाएको छ ।

रिजउड नेपाली समाज विसुद्ध सामाजिक सेवाको भावनाले स्थापित गैर राजनितीक तथा गैर नाफामुलक संस्था हो । नेपाल र नेपालीको धर्म कला, संस्कृति र परम्पराको जगेर्ना गरी रिजउड तथा अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका नेपालीहरुमा आइपर्ने विविध समस्या समाधानमा सहयोग पुु¥याउने उद्देश्यले सन् २००३ मा न्युयोर्क राज्यमा दर्ता भएको हो ।

संकलन होला त १० लाख डलर ?

महापुराणबाट दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र निर्माणका लागि १० लाख डलर संकलनको महत्वाकांक्षी लक्ष्य लिइएको छ । तर यो महत्वाकांक्षी लक्ष्य पुरा होला त ? महापुराणको मुल समारोह समितिका संयोजक राजेश भट्ट भन्नुहुन्छ –‘ १० लाख डलरको लक्ष्य पुरा गर्ने हामीसँग योजनाहरु छन् । ट्रस्टीदेखि संस्थापक सदस्यसम्म बनाउने विभिन्न योजनाहरु छन् । दाताहरुले सांस्कृतिक केन्द्रमा निशुल्क कार्यक्रम गर्नेदेखिका विभिन्न सुविधाहरु समेत प्राप्त गर्नेछन् । ’

त्यस्तै रिजउड नेपाली समाजका अध्यक्ष एवं मुल समारोह समितिका अध्यक्ष रविकिरण कोइराला भन्नुहुन्छ –‘सन् २०१० मा त हामीले झण्डै ६ लाख डलर संकलन गरेका थियौं । अहिले ७ बर्ष पछाडि आइपुग्दा हामीलाई सांस्कृतिक केन्द्रको आवश्यकता अझ टड्कारो महसुस भएको छ । यो अवधिमा नेपालीको संख्या र स्तर दुबै बढेको छ । त्यसैले लक्ष्य अनुशारको् रकम उठ्नेमा हामी विश्वस्त छौं ।’

मुल समारोह समिति

महापुराणका मुल समारोह समिति गठन गरिएको छ । वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको प्रमुख बाचकत्वमा संगीतमय धारावाहिक प्रवचन हुने भएकाले महापुराणलाई धेरैले चासोका साथ हेरेका छन् ।

संयुक्त राज्य अमेरिकाका सकेसम्म सम्पूर्ण राज्यका महानुभावहरुलाई प्रतिनिधित्व गराइने, नेपाल सरकारका प्रतिनिधि÷न्यूयोर्कका मेयर तथा विभिन्न धर्मगुरुद्वारा समुदघाटन गरिने, दैनिक ५०० देखि १००० जनासम्म कार्यक्रम स्थलमा उपस्थित गराईने, नजिकका राज्यबाट पाल्नुहुने भक्तजनहरुको लागी सुलभ बसको व्यबस्था मिलाइने , दैनिक उपस्थित ५०० देखि १००० जना सम्मलाई भोजन प्रशादीको व्यबस्था मिलाइने, विमानस्थलदेखि कार्यक्रम स्थल सम्म तथा बसस्टप देखि कार्यक्रम स्थल सम्म सुलभ यातायातको व्यवस्था मिलाइने , दैनिक ३०० देखि ५०० जनासम्म चन्दादाता महानुभावहरुलाई प्रसंशापत्रद्वारा सम्मान गरिने , दैनिक छुट्टै विशष्ट व्यक्तित्वहरुलाई प्रमुख आतिथ्यको व्यवस्था गर्ने आयोजकले जानकारी दिएका छन् ।

 

महापुराणका लागि २१ उपसमितिहरु

महापूराणका लागि २१ वटा विभिन्न उप—समिती गठन र कार्य विभाजन गरिएको छ ।

१ हजार ८ सदस्यीय मुल समारोह समितिमा अध्यक्ष रवि किरण कोइराला रहनुभएको छ भने संयोजक राजेश भट्ट हुनुहुन्छ । त्यस्तै आर्थिक उपसंयोजकहरुमा तुलसीराम आचार्य, सुमन शाह, विराज रिजाल र हरिप्रसाद काफ्ले रहनुभएको छ । त्यस्तै चन्दादाता संकलन तथा ट्रस्टी उपसंयोजकमा बेदप्रसाद खरेल रहनुभएको छ । समन्वय उपसंयोजकमा दीपकराज काफ्ले, विज्ञापन सामाग्री वेवसाइट उपसंयोजक सहकुल खत्री, प्रचारप्रसार उपसंयोजक भुवनेश्वर अधिकारी र अग्नी ढकाल, संचार उपसंयोजकमा खसोखास साप्तहिक, प्रसाद उपसंयोजकमा जगन्नाथ पराजुली र कृष्ण दाहाल, भजन उपसंयोजकमा गोपी ढुंगाना र मोहन गौतम, साउण्ड सिस्टम तथा क्यामेरा उपसंयोजकमा मिलन कुमार शाही, स्वयंसेवक तथा सुरक्षा उपसंयोजकमा राजेश सापकोटा र सुनिल पौडेल रहनुभएको छ ।

त्यस्तै अतिथि सत्कार तथा जनसम्पर्क उपसंयोजकमा रवि किरण कोइराला, राजेश भट्ट, मोहन ज्ञवाली, श्री पराजुली, बेदप्रसाद खरेल, सरोज श्रेष्ठ, दिपकराज काफ्ले र अमित शाह रहनुभएको छ । यातायात उपसंयोजकमा धनेश लामिछाने र रञ्जित मल्ल ठकुरी रहनुभएको छ । फ्रन्ट डेस्क तथा रिसेप्सन उपसंयोजकमा हेमरत्न शाही हुनुहुन्छ भने महिला तथा बालबालिका उपसंयोजकमा कमला निरौला र शुस्मा पन्थ रहनुभएको छ । मण्डप श्रृंगार उपसंयोजकमा कृष्ण पन्त, सर्टिफिकेट तथा अवार्ड उपसंयोजकमा नवराज खड्का, मेडिकल टिम उपसंयोजकमा सुनिता भण्डारी पुजा सामाग्री उपसंयोजकमा पंडित हरिनारायण सापकोटा, कलश यात्रा उपसंयोजकमा पण्डित उद्धव शास्त्री र संजिता कोइराला रहनुभएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com