बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

बार्सिलोना, २ भदौ । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ ।

उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली हमलामा परी अरु पनि करिब १०० जना नराम्ररी घाइते भएका बताइएको छ ।

भ्यानबाट भएको आक्रमणमा परी ती नागरिकको ज्यान गएको एकजना स्पेनिस अधिकारीले जानकारी दिएका छन् ।
स्पेनका गृहमन्त्री जोकिम फोर्नले भन्नुभयो– सो घटना आतङ्ककारी नै हो, यसमा संलग्नहरुको पहिचानको खोजी हामीले गरिरहेका छौँ ।

बिहीबार अपराह्न पाँच बजे सो सहरमा नागरिकको बाक्लो उपस्थिति रहेको स्थानमा भ्यान लगेर ठोक्काई हमला गरिएको थियो ।

स्पेनमा भएको निकै लामो समयपछिको यो ठूलो हिंसात्मक हमला हो । सन् २००४ पछि स्पेनमा यो पहिलो पटक यस्तो हिंसात्मक हमला भएको हो ।

सो हमलाको जिम्मेवारी कुनै समूह वा व्यक्तिले पनि लिएको छैन । त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हमलाको सर्वत्र निन्दा
यसैबीच उक्त हमलाको विश्वव्यापी रुपमा निन्दा गरिएको समाचार छ । उक्त हमलाको निन्दा गर्दै त्यसमा संलग्नहरुमाथि कडा भन्दा कडा कारबाही गर्न विश्वका नेताहरुले माग गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आतङ्ककारी हमला गरी १३ जना नागरिकको ज्यान लिने काम मानवता विरोधी जघन्य अपराध हो भन्नुभएको छ ।

उहाँले यस्तो आतङ्ककारी हमलाको तत्कालै अन्त्य हुनुपर्नेमा जोड दिँदै यसमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन स्पेन सरकार सफल हुने अपेक्षा गर्नुभएको छ ।

त्यसैगरी क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो आतङ्ककारी हमलाको निन्दा गर्नुभएको छ ।

एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै प्रधानमन्त्री जस्टिनले यस्ता प्रकारका आतङ्ककारी क्रियाकलापहरुका विरुद्धमा क्यानाडा अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्ध भएर लड्ने पनि बताउनुभएको छ ।

यसैगरी उक्त आतङ्ककारी हमलाको डेनमार्कका प्रधानमन्त्री लार्स लुक्के रसमुसेनले पनि कडा शब्दमा निन्दा गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले आतङ्कवादलाई विश्वव्यापी रुपमा नै निर्मूल पार्न आवश्यक जस्तोसुकै कामगर्न पनि डेनमार्क तयार रहेको पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com