‘कोरियाली प्रायद्वीपमा युद्ध हुँदैन’


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

भाद्र २, २०७४- दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले कोरियाली प्रायद्वीमा युद्ध नहुनेमा आफू ढुक्क भएको बताएका छन् । कार्यकालको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुनले प्योङयाङमाथि दक्षिण कोरियाको सहमतिमा मात्रै सैनिक कारबाही गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धता जनाएको बताए । ट्रम्पले ट्वीटरमार्फत उत्तर कोरियाले गुआममा आक्रमण नगरेर बुद्धिमान् निर्णय गरेको उल्लेख गरेका छन् ।

मुनले उत्तर कोरियाले क्षेप्यास्त्र र परमाणु हतियार परीक्षण रोके वार्ता गर्न विशेष दूत पठाउन सकिने जनाए । ‘देश निर्माण गर्न मानिस मिलेर काम गरे । हामीहरू युद्धका कारण फेरि केही गुमाउन चाहँदैनौं ।’ मुनले भने, ‘त्यसैले कोरियन प्रायद्वीपमा फेरि युद्ध हुँदैन ।’

मुनले वार्ताका लागि वातावरण बनाउन उत्तर कोरिया इमानदार हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका लागि वार्ता नै उत्तम विकल्प हो, सबै कुरा छोडेर वार्तामा लाग्न म उत्तर कोरियालाई आग्रह गर्दछु ।’ उनले विगतका वर्षहरूका तुलनामा राम्रो र परिणाममुखी वार्ताका रूपमा अघि बढ्न आफू तयार रहेको बताए ।

मुनले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरलाई दबाब दिने उद्देश्यले सैनिक चेतावनी दिएको बताए । उनले प्योङयाङलाई वार्ताका लागि बाध्य पार्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मार्फत प्रतिबन्ध लगाएको दाबी गरे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपमा तनाव मत्थर पार्न प्रयास गरिरहेका छन् । यसअघि उनले कोरियाली प्रायद्वीपले अर्को युद्ध धान्न नसक्ने बताएका थिए । उनले अमेरिकालाई उत्तर कोरियामा आफ्नो सहमतिबिना कुनै पनि आक्रमण नगर्न आग्रह गरेका थिए ।

उत्तर कोरियाले प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना पूरा भएको बताएसँगै कोरियाली प्रायद्वीपमा तनाव बढेको हो । प्रतिउत्तरमा ट्रम्पले अमेरिकी सेना पनि आक्रमणको जवाफ दिन तम्तयार रहेको बताएका थिए । उनले अमेरिकामाथिको आक्रमण नतिजा विश्वकै सबैभन्दा भीषण आक्रमण हुने चेतावनी दिएका थिए । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको आक्रमणले पूर्णरूपको युद्ध सुरु हुने बताएका थिए ।

सन् १९५० देखि तीन वर्षसम्म चलेको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई पुनर्मिलन गराउन रेडक्रसले वार्ता प्रस्ताव गरेको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोममा वार्ता गर्न आह्वान गरेको थियो । तर उत्तर कोरियाले हालसम्मका वार्ता प्रस्तावबारे कुनै जवाफ दिएको छैन ।

पछिल्लो समय दक्षिण कोरियाली राष्ट्रपतिको प्रस्तावबारे हालसम्म उत्तरको कुनै प्रतिक्रिया प्राप्त भएको छैन् । दुई कोरियाबीच सन् २०१५ को अक्टोबरपछि कुनै वार्ता नभएका कारण युद्धताका छुट्टिएका परिवारका सदस्यको पुनर्मिलन हुन सकेको छैन । युद्धका कारण दुवै देशका ६० हजारभन्दा बढी मानिस अलग भएका थिए ।

वार्ता नै उत्तम विकल्प : चीन

बेइजिङ (सिन्हवा)– चीनले कोरियाली प्रायद्वीपमा जारी तनाव अन्त्य गर्न वार्ता नै उत्तम विकल्प भएकोमा जोड दिएको छ । चीनका केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष फान च्याङ्लङले अमेरिकी जलसेनाका जर्नेल जोसेफ डनफर्डसँगको भेटमा कोरियाली तनाव अन्त्यको सैनिक समाधान उपयुक्त नहुने बताएका हुन् । उनले अमेरिकी पक्षलाई चीनसँग सहकार्य गरी कोरियाली प्रायद्वीपमा जारी द्वन्द्व समाधान गर्न आग्रह गरे । डनफर्डले डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो उच्च सैनिक भ्रमण गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com