‘अबको दुईबर्षभित्र दुर्गामन्दिर र सांस्कृतिक केन्द्र बनाउनेछौं’


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

रवि किरण कोइराला, अध्यक्ष, रिजउड नेपाली समाज न्युयोर्क

महापुराणको तयारी कस्तो छ ?

हामीले न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा सातदिनको लागि ठाउँ बुक गरिसकेका छौं । वाचनप्रविण दिनबन्धु पोखरेल अमेरिका आइसक्नुभएको छ । मेरो अध्यक्षतामा १ हजार ८ जनाको मुल समारोह समिति गठन भइसकेको छ भने अरु सहयोगका लागि २१ सदस्यीय उपसमिति पनि गठन भइसकेको छ ।

१० लाख डलर उठ्ने योजना पूरा हुने आधार के छन् ?

यो योजना झट्ट हेर्दा महत्वाकांक्षी देखिन्छ । तर हामीले सन् २०१० मा एकपटक महापुराण गरिसकेका छौं । हामीसँग महापुराणको ज्ञान पनि छ । त्यो बेलाको अवस्थामा हामीले झण्डै ६ लाख डलर संकलन गरेका थियौं । अहिले ७ बर्ष पछाडि आइपुग्दा हामीलाई सांस्कृतिक केन्द्रको आवश्यकता अझ टड्कारो महसुस भएको छ । यो अवधिमा नेपालीको संख्या र स्तर दुबै बढेको छ । दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र अपरिहार्य रहेको अवस्थामा १ मिलियन डलर संकलन गर्न सक्छौं भन्नेमा हामी विश्वस्त छौं ।

पहिलेको महापुराणमा त कबोल गरे अनुशार संकलन भएन नि ?

त्यो बेलामा पनि दाताले स्वतस्फूर्त कबोल गरेका थिए । त्यसलाई हामीले पेमेन्ट प्लानमा राखेका थियौं । कतिपय रकम अझै उठ्दैछ । त्यतीबेला दाताले केही रकम जग्गा किन्ने बेलामा र केही रकम जग खन्ने बेलामा दिने शर्त समेत थियो । झण्डै दुईलाख उठ्न बाँकी छ । कतिपय सानातिना कबोल गर्ने दाताको फोन नम्बर नहुँदा र राम्रो रेकर्ड राख्न नसक्दा केही रकम उठेन । तर बाँकीबाट रकम उठ्न कुनै समस्या छैन ।

रिजउडमा दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र अहिलेसम्म किन बन्न सकेन ?

हामीले सन् २०१० मा श्री पराजुलीजी अध्यक्ष हुँदा महापुराण गरेका थियौं । सबै रकम एकैपटक संकलन हुन गाह्रो भएको यथार्थ हो । जग्गा किनेपछि २ बर्ष त्यसैको प्रकृयामा लाग्यो । हामीले नक्सा पनि बनाइसकेका थियौं । त्यसपछि अर्को समिति बन्यो । र मेरो नेतृत्वमा समिति बन्यो । रकम संकलनका लागि जानका लागि हामीसँग ठोस योजना थिएन । बीचमा हामीले महापुराण गर्ने योजना बनाएका थियौं । तर त्यो बेला शुक्रअन्ध भएका कारण गर्न सकेनौं । स्थगित गर्नुपरेको थियो । सबै अवस्थालाई हेर्दा अहिले दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माण हुनु अपरिहार्य छ । अब हामी गर्न सक्छौं भन्ने विश्वास छ ।

अब कहिलेसम्म दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माण होला ?

अबको दुईबर्षभित्र हुनेछ । यो समितिको कार्यकाल पनि दुईबर्ष नै हो । महापुराण लगत्तै हामी नक्साको प्रकृयामा जान्छौं । जाडोमा निर्माणको काम नहुने भएकाले अप्रिलदेखि जग खन्ने काम हुन्छ ।

यो हिन्दु धर्मालम्बीहरुका लागिमात्र हो ?

मन्दिरमा पनि हामीले सबैभन्दा अगाडि बुद्धको मूर्ती राखेका छौं । हामीले बुद्ध पूर्णीमा पनि उत्तिकै महत्वका साथ मनाउछौं । रिजउड सोसाइटी सबै धर्मालम्बीहरुलाई उत्तिकै आदर गर्छ । हामीले स्वस्थानी ब्रतकथा गर्दा बौद्धधर्मालम्बीहरु पनि उपस्थीत हुनुहुन्छ । यसभन्दा अगाडिको कार्यकालमा मुस्ताङ किदुग, एनआरएन अमेरिका र रिजउड समाज मिलेर संयुक्त जग्गा किनेर बुद्ध र हिन्दु मन्दिर बनाउने उद्देश्यमा लागेका थियौं । सोनाम लामा सल्लाहकार हुनुहुन्थ्यो । महावाणिज्यदूत नारायण मैनालीले सहयोगको प्रतिबद्धता पनि जनाउनुभएको थियो । हामीले सँगैको जग्गा पनि हेरेका थियौं । सँगैको जग्गा लिनलाई हामीले प्रयत्न पनि गरेका हौं । श्री पराजुलीले प्रयास पनि गर्नुभएको थियो । हामी नेपाल घर नै बनाउने प्रकृयामा गएका थियौं । त्यसैले मन्दिर बनाउनमा ढिलाई भएको हो । तर सँगैको जग्गा नपाउँदा त्यो परियोजना पूरा हुन सकेको थिएन । हामी सबै धर्मालम्बीहरुदेखि धर्मलाई समान आदरका साथ हेर्छौं । हामीलाई विश्वास छ, महापुराणमा पनि बहुधार्मिक नेपालीको उपस्थीति हुनेछ ।

सांस्कृतिक केन्द्र निर्माण भइसकेपछि त्यसपछि समुदायलाई कस्तो फाइदा पुग्नेछ ?

दुर्गामन्दिरभित्र बुद्धको मूर्ती पनि स्थापित हुनेछ । अहिले भाडाको मन्दिरमा पनि शिवसँगै हामीले बुद्धलाई राखेका छौं । सांस्कृतिक केन्द्रमा नेपाली भाषा कक्षा संचालन गरिनेछ । नेपाली संस्कृति झल्काउने संग्राहालय हुनेछ । बृद्ध बुबाआमाहरु दिउसो बस्ने स्थान पनि हुनेछ । हामी विस्तारै प्राथमिकताका आधारमा काम गर्दै जानेछौं ।

महापुराणमा सहभागी हुनका लागि के आब्हान गर्न चाहनुहुन्छ ?

यो रिजउड नेपाली समाजको मात्र होइन । यो हामीले धेरै पहिले कल्पना गरेको नेपाल घरको सपना पनि हो । २००४ मा युनएनमा कार्यरत कुलचन्द्र गौतमले पनि नेपाल घरको अवधारणा ल्याउनुभएको थियो । हामीले केही बैठकमा पनि सहभागीता जनाएका थियौं । तर त्योबेला सम्भव भएन । अहिले न्युयोर्कमा बन्दै गरेको दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र न्युयोर्क लगायत आसपासका राज्यमा बस्नेदेखि अमेरिकाका बस्ने सबै नेपालीको हो । हामी सबैको धरोहर हो । यो पूण्य कार्यमा सहभागी हुनका लागि हामी अमेरिकामा रहेका सबै नेपालीमा अनुरोध गर्दछौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com