ग्याङ सदस्यबारे जानकारी दिनेलाई ग्रिनकार्डको अफर


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

अमेरिकामा क्रुर र घातक आपराधिक गतिविधि गरिरहेका ग्याङ सदस्यबारे जानकारी दिने वा उनीहरुबिरुद्ध लड्न सघाउनेहरुलाई ग्रिनकार्डसम्म प्राप्त गर्नसकिने गरी अमेरिकी सरकारले भिसाको अफर गर्ने तयारी गरेको छ । अमेरिकाका झण्डै ४० राज्यमा फैलिएको एमएस १३ ग्याङबिरुद्ध लड्ने अभियान अन्तरगत यस्तो अफरको तयारी गरिएको हो ।

होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन डिभिजन अन्तरगतका अधिकारीहरुले मध्य अमेरिकी आप्रवासी समुदायलाई एमएस १३ ग्याङबिरुद्ध आफ्नो अभियानमा सघाउन आब्हान गर्दै सुचना वा गवाही दिन सघाउनेलाई भिसाको अफर गरिने बताएका छन् । एमएस १३ अमेरिकाका विभिन्न राज्यमा फैलिदै गरेको घातक एल साल्भाडोरियन ग्याङ हो । उनीहरुको बारेमा जानकारी दिने र लड्न सघाउने कागजपत्रविहिनहरुले समेत अमेरिकामा देशनिकालाको डर विना बस्न पाउनेगरी भिसा पाउन सक्नेछन् । जुनभिसामार्फत ग्रिनकार्ड समेत आवेदन दिन सकिनेछ ।

ग्याङबारे जानकारी दिने र मुद्दा चलाउन समन्वय गर्ने कागजपत्रविहिन आप्रवासीहरुले अमेरिकामा शरणसमेत प्राप्त गर्न सक्नेछन् भने एस, टी, यु लगायतका भिसा समेत प्राप्त गर्नसक्नेछन् । गवाही र सुचना प्रदायकलाई एस भिसा, मानव तस्करीको शिकार हुनेहरुलाई टी भिसा र अपराधको शिकार हुनेहरुलाई यु भिसा प्राप्त गर्नसक्ने अमेरिकी प्रावधान छ ।

ग्याङ उन्मुलन युनिटका विभागीय प्रमुख एडी वाङले ग्याङबारे सुचना दिने पीडित वा गवाहीहरुसँग कागजपत्र भए नभएको आफूहरुले चेकजाँच नगर्ने समेत बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com