ट्रम्पको कडा नीतिपछि कागजपत्रविहिनको क्यानडातिर ओइरो


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजपत्रविहिन आप्रवासीबिरुद्ध कडा रवैया अपनाएपछि अमेरिकाबाट क्यानडा जाने कागजपत्रविहिन आप्रवासीहरुको ओइरो लागेको छ । जनवरी १ देखि जुन ३० सम्म ३३ सय आप्रवासीहरु अमेरिकाबाट भविश्य खोज्दै क्यानडा प्रवेश गरेको र जुलाईमा १२ सय प्रवेश गरेको जनाइएको छ । त्यस्तै हाल हरेक दिन एकसय पचासको दरमा कागजपत्रविहिन आप्रवासीहरु क्यानडातिर गइरहेको जनाइएको छ ।

क्यानडाले अमेरिकाबाट जाने आप्रवासीहरुका लागि अस्थायी आवास उपलब्ध गराउन मोन्टरियल ओलम्पिक स्टेडियम समेत खुल्ला गरिदिएको छ । यसरी जनवरीदेखि जुलाईसम्म अमेरिकाबाट क्यानडा पुगेर शरण माग्नेहरुको संख्या ४३ सय रहेको बीबीसीको रिपोर्टले जनाएको छ । क्यानडामा शरण माग्ने अधिकांश अमेरिकामा शरण अस्वीकृत भएकाहरु रहेका छन् ।

जुलाईमा क्यानडा प्रवेश गर्ने १२ सयमध्ये ९० प्रतिशत हैटीका रहेको जनाइएको छ । हैटीका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएस आगामी जनवरी २२ बाट समाप्त हुँदैछ । टीपीएस समाप्त हुने भएकाले अमेरिकाले उनीहरुलाई देश छाड्ने तयारी गर्न चेतावनी दिइसकेको छ ।

अमेरिकाबाट क्यानडा छिर्नेहरु अनाधिकृत क्षेत्रबाट सिमा पार गरेर क्यानडा प्रवेश गर्नेहरु हुन् । गैरकानुनी रुपमा सिमा पार गर्नेहरु मोन्टरियल क्षेत्रबाट क्यानडा प्रवेश गरिरहेका छन् । उनीहरुलाई क्यानडा प्रवेश गर्नासाथ त्यहाँको शाही क्यानडीयन प्रहरीले नियन्त्रणमा लिनेगर्छ । नियन्त्रणमा लिइसकेपछि उनीहरुका बारेमा छानविन गरिन्छ । यदि उनीहरु एसाइलम दावी गर्नका लागि योग्य भएमा उनीहरुलाई क्यानडा प्रवेशमा अनुमति दिइन्छ भने उनीहरुको केस इमिग्रेशन एण्ड रिफ्युजी बोर्डमा पठाइन्छ ।

अमेरिकाबाट शरण खोज्दै क्यानडा प्रवेश गर्नेहरुमा अधिकांश मेक्सिको, होण्डुरस, एल साल्भाडोर, आपराधिक रेकर्ड भएका सोमालियन, टीपीएस गुमाउने अवस्थामा रहेका हैटीएन, पयर्टक भिसामा अमेरिकाका आएका सिरियनहरु रहेका छन् । क्यानडामा यसरी पुगेर एसाइलम माग्नेको संख्या हरेक दिन डेढसय नाघेपछि क्यानडाको अध्यागमन प्रकृयामा भारी परेको छ ।

शरण खोज्दै पुगेकाहरुका कारण अहिले मोन्टरियल स्टेडियम भरिएको छ भने क्यानेडियन सेनाले ५ सय व्यक्तिलाई राख्नका लागि क्याम्प बनाउन थालेको छ । जाडो मौसममा गैरकानुनी सिमा पार गरेर क्यानडा जान खतरनाक भएपनि अहिले गर्मी मौसममा कम खतरा भएकाले अमेरिकाबाट क्यानडा जानेहरुको ओइरो लागेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com