अमेरिकाबाट कागजपत्रविहिन डिपोर्ट गर्न १०१ बर्ष लाग्ने


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

अहिलेकै ट्रेण्ड कायम रहेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाबाट कागजपत्रविहिन आप्रवासीहरुलाई देशनिकाला गर्न १ सय १ बर्ष लाग्ने भएको छ । कतिपय संचारमाध्यमले यसलाई डोनाल्ड ट्रम्पको १ सय १ बर्षे डिपोर्टेशन योजना भन्दै व्यंग्य गरेका छन् । अहिलेको डिपोर्टेशनको गति हेर्दा यही गति कायम भएमा ११ मिलियन कागजपत्रविहिनहरुलाई अमेरिकाबाट डिपोर्ट गर्न झण्डै १ सय १ बर्ष लाग्नेछ ।

चर्चित कानुन व्यवसायी ज्यासन जुबो भन्छन् –‘माओले र स्टालिनले पनि पाँचबर्षको योजना बनएका थिए । निकिता क्रुस्चोभले ७ बर्षे योजना बनाएका थिए । तर राष्ट्रपति ट्रम्पले भने १ सय १ बर्षे योजना बनाएका छन् ।’

ट्रम्पले कार्यभारी सम्हालेपछिको सबैभन्दा पछिल्लो तथ्यांक अनुशार अध्यागमन अदालतले हरेक महिना ८९९६ जनालाई देशनिकालाको फैसला गरेको छ । गत फरबरीदेखि जुनसम्मको तथ्यांक हेर्दा औषतमा हरेकमहिना यी आप्रवासीहरुले देशनिकालाको फैसला पाएका हुन् । यही गतिमा आप्रवासीलाई देशनिकाला गर्दा १२२२ महिना अर्थात् १०१ बर्ष ८ महिना लाग्ने भएको छ । गतबर्षको सोही समयको अवधिमा हरेक महिना औषतमा ६९१३ जनाले अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएपनि ओबामाले कार्यभार सम्हालेका सुरुवाती महिनामा भने हरेक महिना औषतमा १३ हजार ५ सयले अदालतबाट देशनिकालाको आदेश पाएका थिए ।

गतबर्षको फरबरीदेखि जुनसम्म अमेरिकाको अध्यागमन अदालतले ८४ हजार ९५६ वटा मुद्दामा फैसला गरेको थियो । जबकी यसबर्ष भने फरबरीदेखि जुनसम्म ७७ हजार ८४ मुद्दामा अध्यागमन अदालतले फैसला गरेको छ ।


अध्यागमन न्यायाधिस थप्ने तयारी

ट्रम्प प्रशासनले देशनिकालाको संख्या बढाउने बताउदै आएको छ । त्यसै अन्तरगत एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले थप न्यायाधिसहरु नियुक्त गर्ने तयारी पनि गरिरहेको छ । महान्यायाधिवक्ता जेस सेसनले यो बर्ष थप ५० जना र अर्को बर्ष ७५ जना न्यायाधिसहरु नियुक्त गर्ने बताएका छन् । जुन महिनामा मात्र एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले ११ वटा नयाँ न्यायाधिसहरु नियुक्त गरिसकेको छ । जुलाईमा अहिलेसम्म अर्का एकजना थपिएका छन् ।

अहिले काम गरिरहेका कुनै पनि न्यायाधिसहरु रिटायर्ड नभएमा र १२५ जना न्यायाधिस थपेर ३७५ जना पुर्याइएमा पनि ११ मिलियन कागजपत्रविहिन लाई देशनिकाला गर्न ६८ बर्ष लाग्नेछ । तर अहिले रहेका न्यायाधिसहरुमध्ये ५० प्रतिशत रिटायर्ड हुनका लागि योग्य भइसकेका छन् । त्यस्तै ६८ बर्षमा ३७५ जना न्यायाधिसले काम गरेर अमेरिकामा रहेका कागजपत्रविहिनलाई निकाला गर्न थप कागजपत्रविहिन अमेरिका छिर्नु हुँदैन र थप व्यक्ति अमेरिकामा आएर भिसामा ओभरस्टे पनि हुनुहुँदैन ।

१०१ बर्षमा सम्भव होला र?

यही गतिमा अहिलेकै संख्याका न्यायाधिसले काम गर्दा अमेरिकामा रहेका सबै कागजपत्रविहिनलाई देशनिकाला गर्न १०१ बर्ष लाग्ने हिसाब निकालिएपनि वा न्यायाधिस थपेर ६८ बर्ष लाग्ने हिसाब निकालिएपनि १०१ वा ६८ बर्षको अवधिमा अमेरिकाबाट सबै कागजपत्रविहिनलाई निकाल्न सम्भव छैन । किनभने कागजपत्रविहिनहरुलाई देशनिकाला गरिरहदा विभिन्न तरिकाबाट थप कागजपत्रविहिनहरु थपिदै गएका छन् ।

अर्कोतर्फ न्यायाधिसले गरेको देशनिकालाको संख्या बढ्दो होइन, घट्दो क्रममा रहेको छ । गतमार्चमा अध्यागमन न्यायाधिसले १० हजार १ सय १० जनालाई देशनिकालाको आदेश दिएकोमा जुन महिनामा ८९१९ जनालाईमात्र देशनिकालाको आदेश दिएका छन् । अर्थात् देशनिकालाको आदेशको क्रम मार्चदेखि जुनसम्म आइपुग्दा झण्डै १२ प्रतिशतले घटेको छ । यसबाट ट्रम्प प्रशासनले खडा गरेको त्रासदी व्यवहारत कागजी बाघ सावित भएको छ ।

ट्रम्प प्रशासनले अमेरिका आएको ९० दिनभन्दा कमसमय भएकाहरुलाई अध्यागमनको अदालतको प्रकृया बाइपास गरेर देशनिकाला गर्ने नयाँ नीति त ल्याएको छ । यो नीतिले पछिल्लो चरणमा अमेरिका आउनेहरुलाई अध्यागमन अदालतमा पेश नगरीकनै देशनिकाला गर्न सक्ला । तर पहिलेदेखि नै अमेरिकामा रहेका भनिएका ११ मिलियनलाई भने यो नीतिले खास फरक पार्दैन । किनभने उनीहरु ९० दिनभन्दा धेरै अर्थात् बर्षौदेखि अमेरिकामा बस्दै आएका छन् । अर्कातर्फ ट्रम्प प्रशासनलाई तीब्र गतिको देशनिकालाको नीति लागु गराउनमा त्यही सहजता भने देखिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com