अमेरिकाबाट देशनिकाला : वास्तविकभन्दा हल्लाबढी


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अध्यागमनका क्षेत्रमा धेरै हल्लाखोर भइरहेको छ । तर जति हल्ला भएपनि पहिले नै अमेरिका छिरिसकेका र अपराध नगरेका कागजपत्रविहिन आप्रवासीहरुमा व्यवहारत त्यसको प्रभाव खासै देखिएको छैन । यस अर्थमा ट्रम्पको इमिग्रेशन नीति अहिलेसम्म कागजी बाघका रुपमामात्र रहेको छ । इमिग्रेशन पक्राउ ओबामा कार्यकालको तुलनामा बढेपनि ट्रम्प कार्यकालमा डिपोर्टशन दर भने झन् घटेको छ ।

ओबामा कार्यकालको गतबर्षको सोही अवधिको तुलनामा ट्रम्प कार्यकालमा अमेरिकाबाट देशनिकालाको दर १२ प्रतिशतले घटेको छ । किनभने धेरैजसो आप्रवासीहरु सिमाक्षेत्रको तुलनामा अमेरिकाबा अन्य भागबाट पक्राउ परेका छन् । परिणास्वरुप अध्यागमन प्रणालीको लामो सुनुवाई पक्रियाका कारण देशनिकालाको दर बढेको छैन, घटेको छ । त्यस्तै मेक्सिकोको सिमाक्षेत्रमा गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने आप्रवासीहरु पक्राउ पर्ने दर पनि ओबामाको कार्यकालको तुलनामा ट्रम्प कार्यकालमा ४० प्रतिशतले घटेको आइसको रिपोर्टले देखाएको छ ।

ओबामा कार्यकालमा सन् २०१६ को नोभेम्बरमा मेक्सिको सिमाक्षेत्रमा ४७२१० जना, डिसेम्बरमा ४३२२५ जना र सन् २०१७ को जनवरीमा ३१५७८ जना पक्राउ परेका थिए । जबकी ट्रम्प कार्यकालको पहिलो महिना फरबरीमा भने जम्मा १८७६२ जना सिमाक्षेत्रमा पक्राउ परे । तर अमेरिकाभर पक्राउ संख्या भने ओबामा कार्यकालको तुलनामा बढी छ ।

ट्रम्पले अध्यागमन सम्बन्धि कार्यकारी आदेश जारी गरेपछिका एकसय दिनमा ४१ हजार ३ सय आप्रवासीहरु पक्राउ परेका छन् जुन ओबामा कार्यकालको गतबर्षको सोही अवधिको तुलनामा झण्डै ३८ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले झण्डै ३० हजार २८ कागजपत्रविहिनलाई पक्राउ गरेको थियो । आइसले सार्वजनिक गरेको यो तथ्यांक सन् २०१७ को जनवरी २२ देखि अप्रिल २९ सम्मको हो भने तुलना पनि सन् २०१६ को जनवरी २४ देखि अप्रिल ३० सम्मको अवधिलाई गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com