शिकागोका मेयरका सल्लाहकारमा बाला घिमिरे


प्रकाशित मिति : श्रावण १७, २०७४ मंगलबार

अमेरिकाको शिकागो निवासी सामाजिक व्यक्तित्व बाला घिमिरेलाई शिकागोका मेयरले सल्लाहकारमा नियुक्त गरेका छन् । घिमिरेलाई मानव सम्बन्ध सम्बन्धि सल्लाहकार परिषदको सदस्यमा नियुक्त गरिएको हो । शिकागो कमिशन अन ह्युमन रिलेशन एड्भाइजरी काउन्सिल अन इक्वीटीमा सल्लाहकार सदस्यका रुपमा रहेर घिमिरेले काम गर्नुहुने भएको छ ।

शिकागोका मेयर राह्म इमान्युअलले हस्ताक्षर गरेको पत्रमा घिमिरेलाई सन् २०२० को जनवरी १७ सम्मका लागि नियुक्त गरिएको हो । सामुदायिक एकता कायम गर्न र विभेदको अन्त्यका लागि खेलेको भूमिकाको सम्मान गर्दै घिमिरेलाई सल्लाहकारमा नियुक्त गरिएको हो । सिटी अफ शिकागो सिटी काउन्सिलले घिमिरेको नियुक्ती पारित गरेको हो । सामाजिक सेवामा सकृय घिमिरे नेपाल सरकारका तर्फबाट पर्यटनदूत समेत हुनुहुन्छ ।

बाला घिमिरे अमेरिकामा सफल व्यवसायी एवं चर्चित सामाजिक व्यक्तित्व हुनुहुन्छ । सामाजिक क्षेत्रमा सकृय भएवापत अमेरिकन एड्भाइजरी काउन्सिलको कम्युनिटी सर्भिस अवार्डदेखि बराक ओबामाबाट हस्ताक्षरित स्वयमसेवक अवार्ड प्राप्त गर्नुभएका घिमिरे एसियन कोर्निकल अमेरिकाबाट एसियन एक्जम्पलेरी सर्भिस अवार्डबाट पनि सम्मानित हुनुभएको थियो । शिकागो सिटीको ह्युमन रिलेशन कमिशनमा झण्डै पाँच वर्ष सेवा गर्नुभएका घिमिरे नेपालको प्रजातान्त्रिक आन्दोलनका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि सकृय हुनुहुन्छ ।

एसोसिएसन अफ नेजलिज इन मिडवेष्ट अमेरिका, नेपलिज एसोसिएन इन साउथइष्ट अमेरिका, एसियन अमेरिकन एड्भाइजरी काउन्सिल लगायतका सामाजिक संस्थामा नेतृत्वदायी तहमा काम गरिरहनुभएका घिमिरे अमेरिकामा रहेका विभिन्न सामाजिक संस्थाहरुमा सल्लाहकार हुनुहुन्छ । डेढ दशक भन्दा लामो समयदेखि अमेरिकामा रहदै आउनुभएका घिमिरेले शिकागोमा रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आउनुभएको छ । भारतको ओस्मानिया विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र दिल्ली विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गर्नुभएका घिमिरेले नेपालमा महाभूकम्पपछि भूकम्पपीडितको सहयोगका लागि अमेरिकाबाट गर्नुभएको योगदान विशेष उल्लेखनीय छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com