ट्रकमा अमेरिका ल्याइएका १० को मृत्यु, मानव तस्करलाई मृत्युदण्डको सम्भावना


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

ट्रकमा खाँदेर मेक्सिकोको सिमाक्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका छिराइएका आप्रवासीहरुमध्ये १० जनाको ट्रकभित्रै मृत्यु भएपछि ड्राइभरबिरुद्ध मानवतस्करीको अभियोगमा मुद्दा चलाइएको छ । ६० बर्षका ड्राइभर जेम्स म्याथ्युलाई मृत्युदण्डको समय सजाय हुनसक्ने जनाइएको छ ।

उनले १ सय भन्दा धेरै व्यक्तिलाई ट्रकभित्र खात लगाएर राखेर गैर कानुनीरुपमा अमेरिका छिराउने क्रममा १० जनाको मृत्यु भएको थियो । गत आइतबार टेक्सासको सान एन्टोनियोमा रहेको वालमार्टको पार्किङ लटमा पार्क गरिएको तातो ट्रकभित्र गैरकानुनी रुपमा अमेरिका छिराइएका आप्रवासीहरु भेटिएका थिए । जसमध्ये ८ जनाको ट्रकभित्र मृत्यु भइसकेको थियो भने २ जनाको अस्पतालमा मृत्यु भएको छ ।

श्वास फेर्न नसकेर र तातोले गुम्सिएर उनीहरुको मृत्यु भएको र केही बेहोस भएर ढलेको ट्रकभित्र रहेका एकजनाले बताएका छन् । उनीहरुले ढक्ढकाएपनि ड्राइभरले ट्रक नरोकी अगाडि बढाएको ट्रकभित्रका एकजनाले संघीय अधिकारीसमक्ष बयान दिएका छन् । ट्रकमा कोचेर ल्याइएका केही व्यक्ति गम्भिर रुपमा बिरामी छन् भने केहीको निको हुन नसक्नेगरी मस्तिष्कमा क्षति पुगेको छ ।

होमल्याण्ड सेक्युरिटीका अनुसन्धानकर्ताहरुले ट्रकमा कोचेर ल्याइएका केही आप्रवासीहरुसँग अस्पतालमा बयान समेत लिएका छन् । उनीहरुमध्ये एकजनाले आफूहरुसहित २८ जनाले अमेरिका आउनका लागि सेन्ट्रल मेक्सिको छाडेको बताएका छन् । उनले रियो ग्रान्दे पार गर्नका लागि दलाललाई ७ सय डलर बुझाएको र उनीहरुलाई दलालले गाडीमा राख्दै र हिडाउदै लगेर ट्रकमा कोचेको बताएका छन् । आफूसहित २८ जना ट्रकमा कोच्दा त्यहाँ पहिले नै ७० जना रहेको उनले बयान दिएका छन् । दलालले आफूहरुलाई बेलुका हिडउने भन्दै ट्रकभित्र बस्न लगाएर बाहिरबाट ढोका लगाएको र ट्रकभित्र एकदमै तातो तथा खानापानीको समेत व्यवस्था नगरिएको उनले बयान दिएका छन् ।

१२ घण्टासम्म त्यो ट्रकमा राखेपछि उनीहरुलाई अर्को ट्रकमा सारेर सान अन्टोनियो ल्याइएको थियो । सान अन्टोनियो ल्याउदासम्म कैयन ट्रकभित्रै ढले भने ८ जनाको ट्रकभित्रै मृत्यु भयो । अमेरिकी अधिकारीहरुले ट्रकमा कोचेर ल्याइएकाहरु कुन देशका हुन् भन्नेबारे केही खुलाएको छैन तर मेक्सिकोको सरकारले मृत्युहुनेमध्ये ४ जना मेक्सिकन रहेको र अरु २१ जना अस्पतालमा रहेकाहरु पनि मेक्सिकन रहेको जनाएको छ । ग्वाटेमालाको सरकारले २० बर्षका फ्रयांक गोन्जालेज ग्वाटेमालाका नागरिक रहेको बताएको छ । अरु दुईजना पनि ग्वाटेमालाका नागरिक रहेको जनाइएको छ । अस्पतालमा भर्ना गरिएकाहरुमध्ये २ जना १५ बर्षभन्दा कम उमेरका रहेका छन् ।

वालमार्टमा के भयो ?

जब वालमार्टमा ट्रक रोकियो । त्यसपछि आप्रवासीहरुलाई कोचेर ल्याएका ड्राइभरले ट्रकको पछाडिको भाग खोले । तब मासुको थुप्रोजस्तै मान्छेहरु ढलेका थिए । जसमध्ये ८ जनाको मृत्यु भएको थियो भने कैयन बेहोस थिए । ट्रकमा भएका एकजना लड्खडाउदै वालमार्टभित्र पुगेर पानी मागे । वालमार्टका कर्मचारीले पानी दिए, त्यसपछि प्रहरीलाई खबर गरे ।

त्यसलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा ट्रकभित्र कैयन व्यक्ति ढलेको अवस्थामा थिए । शनिवार टेक्सासको तापक्रम १०० डिग्री फरेनहाइटसम्म पुगेको थियो । ट्रकभित्र एयर कन्डिसन थिएन । प्रहरी पुग्दा ट्रकभित्र ३९ जनामात्र थिए । अरुसबै ट्रकबाट निस्केर भागिसकेका थिए । जसमध्ये ८ जनाको मृत्यु भएको थियो भने ३१ जना गम्भिर बिरामी थिए । थप २ जनाको अस्पतालमा मृत्यु भएपछि बाँकी २९ जनाको उपचार भइरहेको छ ।

मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा नेपालीहरुपनि ठूलो संख्यामा अमेरिका छिर्ने गरेपनि त्यो ट्रकमा नेपालीहरु थिए वा थिएनन् भन्नेबारे केही खुलेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com