न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने, ११ विधामा अवार्ड, ११ चलचित्र सहभागी


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले महोत्सव गर्न लागेको हो । फिप्ना अमेरिकामा सन् २००५ सालमा स्थापना भएको स्वायत्त र मुनाफारहित सामाजिक संस्था हो ।

आगामी अगष्ट २५ देखि २७ तारिख तीन दिनसम्म ‘नेपाल आदिवासी चलचित्र महोत्सव, न्यूयोर्क– २०१७’ आयोजना गर्न लागेको महोत्सवका संयोजक मणी बाङ्देल राईले वक्तब्यमार्फत जानकारी दिनुभएको छ । आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र सामाजिक रुपान्तरणको विषय समेटेर निर्माण गरिएका चलचित्र, कलाकार र प्राविधिकहरुको अन्तर्राष्ट्रिय प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रुपमा सञ्चालन र समापन गर्नको लागि मुख्य आयोजक संस्था फिप्ना र मातहतका सम्पूर्ण जातिय संगठनहरु सह–आयोजकको रुपमा रहने जनाइएको छ । यसैगरी आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) महोत्सवको सह–आयोजक र नेपाल चलचित्र विकास बोर्ड र नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क महोत्सवमा बिशेष सहयोगी संस्था रहनेछ ।

महोत्सवमा सहभागिताको लागि बिभिन्न जाती र समुदायबाट ३९ वटा चलचित्रहरु दर्ता भएको र ती चलचित्र मध्येबाट आयोजक समिति र निर्णायक समितिले ११ चलचित्रहरुलाई अन्तिम छनौट गरेकोछ । महोत्सवमा दुई चलचित्रहरुको बिशेष प्रर्दशन गरिनेछ । छनौट भएका चलचित्रहरुमा लिम्बुको हेलुक्वा, मगरको लोम्बा, नेवारको कृषा गौतमी, गुरुङको मैंरिमो, राईको सुम्निमा, तामाङको सेम ताबा म्ही र मुस्ताङको शेरढाक रहेका छन् । त्यस्तै छनौट भएका लघु चलचित्रहरुमा मुगलको फेके, माझीको बन्ठी, नेवारको कल्ली, थारुको लाज रहेका छन् ।

महोत्सवमा बिशेष प्रर्दशन गरिने चलचित्रहरुमा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार–२०१५ प्राप्त राईको मतान र आदिवासी जनजाति चलचित्र महोत्सव–२०१७ को पब्लिक चोईस अवार्ड विजेता गुरुङको कर्म क्या रहेका छन् । छनौटमा परेका सम्पूर्ण चलचित्रहरुको सार्वजानिक प्रर्दशन हुने जनाइएको छ ।

महोत्सवमा उत्कृष्ट चलचित्रले ट्रफी, नगद १००,००० रुपैया र प्रमाण पत्र, उत्कृष्ट अभिनेताले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट अभिनेत्रीले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट कथाले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट छाँयाकारले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट सम्पादकले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट भेषभुषाले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट संगीतले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट शर्ट फिल्मले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट निर्देशकले ट्रफी र प्रमाण पत्र, पब्लिक चोईस अवार्डमा ट्रफी र प्रमाण पत्र पाउनेछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com