फेरी दोब्बर बढ्यो अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्या


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा अत्यन्तै कम जारी गरिएपनि अहिले भने विद्यार्थी भिसाको दर ह्वात्तै बढेको छ । मे महिनाको तुलनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या जुनमा झण्डै दोब्बर भएको छ । जबकी अप्रिलको तुलनामा मे महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको दर झण्डै चारगुणा बढेको थियो।

अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनामा ९२९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए भने थप ५९ जना विद्यार्थी भिसाका डिपेन्डेन्टहरुले भिसा पाएका थिए । जुन महिनामा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको विद्यार्थी भिसा पाउनेहरु ९२० जना थिए ।

जबकी यस अगाडि मे महिनामा ४५१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए भने उनीहरुका २८ जना डिपेन्डेन्टहरुले पनि अमेरिकाको भिसा पाएका थिए । जसमध्ये काठमाडौंमा रहेको दूतावासबाट अमेरिकाको विद्यार्थी भिसा पाउनेहरु ४३६ जना रहेका थिए भने अरुले अरुदेशबाट भिसा पाएका थिए । डिपेन्डेन्ट भिसा पाउनेहरुभने सबै काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा पाउनेहरु हुन् ।

फरबरीमा हरेक दिन औषतमा १ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । मार्च महिनामा हरेक दिन औषतमा एकदेखि दुईजना नेपालीलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएको अप्रिलमा भने औषतमा हरेक दिन ५ देखि ६ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाए । मे मा भने हरेक दिन २० देखि २२ जनासम्म नेपालीहरुले अमेरिकाको भिसा पाए । हरेक दिन झण्डै २ सय जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने दुतावास श्रोतको भनाई छ ।

ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अप्रिलमा ११९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ११६ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र ३ जनाले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

मार्चमा भने जम्मा ३६ जना नेपालीहरुले विद्यार्थी भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ३१ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र अन्यले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए । मार्चमा विद्यार्थी भिसाका ३२ जना नेपाली डिपेन्डेन्टहरुले अमेरिकाको भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ३० जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र २ जनाले अरुदेशमा रहेका दूतावासबाट डिपेन्डेन्ट भिसा प्राप्त गरेका थिए । अप्रिलमा भने अमेरिकी भिसा पाउने विद्यार्थी भिसाका डिपेन्डेन्टहरु २७ जना रहेका थिए । उनीहरु सबैले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

गत आर्थिक बर्ष २०१६ मा ओबामा कार्यकालमा ६४४० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । गतबर्ष औषतमा हरेक महिना साढे ५ सय नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com