अमेरिकी कामदार भिसा आवेदक नेपाली २२३९०, टप ट्वान्टीभित्र


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

अमेरिकी कामदार भिसा एचवान बीका लागि आवेदन दिनेमा विश्वका टप २० देशको सुचीमा नेपाल पनि परेको छ । युएससीआईएसले सन् २००७ देखि २०१७ सम्म कामदार भिसा एचवानबीका लागि आवेदन दिनेहरुको विवरण सार्वजनिक गर्दै नेपाललाई १२ औं नम्बरमा राखेको छ ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन १०१ ए, १७, एच अनुशार अमेरिकी रोजगारदाताहरुले केही विशेष पेशाका लागि विदेशी कामदारलाई एचवान भिसामा काममा लगाउन पाउँछन् । वर्तमान कानुन अनुशार हरेक बर्ष ६५ हजार विदेशी कामदारलाई एचवानबी भिसा प्रदान गरिन्छ भने अमेरिकी विश्वविद्यालयबाट उच्च डिग्री हासिल गरेका विदेशीहरुका लागि २० हजारको कोटा रहेको छ ।

युएससीआईएसले सार्वजनिक गरेको तथ्यांक अनुशार नेपालभन्दा धेरै एचवानबी भिसाका लागि आवेदनदिनेहरुमा अरु ११ देशका नागरिकहरु छन् । एचवानबी भिसाका लागि आवेदन दिने सबैभन्दा धेरै भारतीयहरु छन् भने दोश्रो नम्बरमा चिनियाहरु रहेका छन् । तेश्रोमा फिलिपिन्स, चौथोमा दक्षिण कोरिया, पाचौमा क्यानडा, छैठौंमा ताइवान, सातौंमा मेक्सिको, आठौंमा बेलायत, नवौंमा पाकिस्तान, दशौंमा फ्रान्स, एघारौंमा ब्राजिलका नागरिक रहेका छन् । नेपाल भन्दा कम एचवानबी भिसाका लागि आवेदन दिनेहरुमा तेह्र नम्बरमा जापान, चौधमा टर्की, पन्ध्रमा जर्मनी, सोह्रमा इरान, सत्रमा इटली, अठारमा रसिया, उन्नाइसमा भेनेजुयला र बीसमा स्पेन रहेका छन् ।

सन् २०१७ मा विश्वभरका ३ लाख ३६ हजार १ सय ७ जनाले एचवान बी भिसाका लागि आवेदन दिएका थिए जसमा नेपालीहरुको संख्या १२४९ रहेको छ । त्यस्तै सन् २०१६ मा १५०५, सन् २०१५ मा १५१२, सन् २०१४ मा १५९८, सन् २०१३ मा १७८८, सन् २०१२ मा २०६६, सन् २०११ म २१६९, सन् २०१० मा २४६७, सन् २००९ मा २७२४, सन् २००८ मा २५३८ र सन् २००७ मा २७७५ जना नेपालीहरुले एचवानबी भिसाका लागि आवेदन दिएका थिए । यसरी सन् २००७ देखि सन् २०१७ सम्म एचवानबी भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या २२ हजार ३९० रहेको छ ।

एचवानबी भिसामा प्राय कम्प्युटर सम्बन्धित, इन्जिनियरिंग, सर्भे, शिक्षा, प्रशासन, मेडिसिन, मेनेजर र अन्य अधिकारी, लाइभ साइन्स, गणित र शारिरिक विज्ञान लगायत सम्बन्धित पेशामा विदेशी कामदार अमेरिकामा आउने गरेका छन् । त्यस्तै एचवानबी भिसावाहकहरु प्राय कम्प्युटर प्रोगाम सर्भिस, कम्प्युटर सिस्टम डिजाइन सर्भिस, कलेज युनिभर्सिटी तथा प्रोफेशनल विद्यालयहरु, इन्जिनियरिंग सर्भिस, जनरल मेडिकल एण्ड सर्जिकल हस्पिटल, कानुनी कार्यालय लगायतका कम्पनीमा काम गर्नेहरु छन् ।

कति छन् एचवानी पाउने नेपालीहरु ?

सन् २०१६ मा ७०९ जना नयाँ नेपालीहरुले अमेरिकाको एच क्याटेगोरीको भिसा पाएका थिए । सन् २०१५  मा एचवानबी भिसा स्टेटसमा रहेका नेपालीहरुको संख्या १२४४ रहेको थियो भने त्यो भन्दा धेरै संख्यामा उनीहरुका डिपेन्डेन्टहरु रहेका थिए ।

त्यस्तै सन् २०१४ मा एचवानबी भिसा स्टेटसमा रहेका नेपालीहरु ११२७ जना रहेका थिए भने सन् २०१३ मा १०१८ जना नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए । सन् २०१२ मा १०३० नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए भने सन् २०११ मा १०४३ जना नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए । त्यस्तै सन् २०१० मा ९९१ नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए ।

पहिलोपटक तीनवर्षका लागि एच वान बी भिसा प्राप्त हुने र त्यसपछि थप तीनवर्षका लागि रिन्यु गर्न पाइने भएका कारण सन् २०११ मा पहिलोपटक एचवान बी भिसा प्राप्त गर्नेहरु समेत अहिलेसम्म भिसाबाहक विदेशी कामदारका रुपमा गनिन्छन् । हाल हरेक वर्ष ८५ हजारले एचवान बी भिसा प्राप्त गर्नसक्ने अमेरिकी कोटा रहेको छ । ६५ हजार नियमित र २० हजार अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले एच वान बी भिसा प्राप्त गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com