सन्जु र कमलाको राष्ट्रिय कीर्तिमान


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

श्रावण ११, २०७४- सन्जु चौधरी र कमला श्रेष्ठले एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप–२०१७ को दोस्रो दिन मंगलबार ३–३ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै सन्जुले महिला ५३ केजीतर्फ राष्ट्रिय कीर्तिमान तोडेकी हुन् भने कमलाले ५८ केजी स्पर्धामा आफ्नै कीर्तिमान सुधार गरेकी थिइन्। कमलाले स्न्याचमा ६७ केजी र क्लिन एन्ड जर्कमा ८५ केजीसहित कुल १ सय ५२ केजी उचाल्दै कीर्तिमान सुधारिन्। उनले पुरानो कीर्तिमानभन्दा स्न्याचमा १ केजी र क्लिन एन्ड जर्कमा ६ केजीसहित कुल ७ केजी बढी उचालेकी हुन्। उनले गत वर्ष राजविराजमा भएको सातौं राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ र क्लिन एन्ड जर्कमा ७९ गरी कुल १ सय ४५ केजी उचाल्दै झन्ट कटवालको कीर्तिमान तोडेकी थिइन्।

‘वासआउट’ भएपछि १२ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्ने अवसर गुमाएकी २० वर्षीया कमलाले सेप्टेम्बर २०१६ मा टोकियोमा भएको एसियाली युवा तथा जुनियर भारोत्तोलनमा पनि ७८ केजी उचाल्दै क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यसलाई सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा सुधारेकी हुन्।

‘स्न्याचमा ७१ केजी र क्लिन एन्ड जर्कमा ९० केजी उचाल्ने लक्ष्य थियो तर सोचेजस्तो अलि भएन,’ भरौल, सुनसरीकी कमलाले भनिन्, ‘रेकर्ड बनाउन पाउँदा खुसी छु।’ तीन वर्षयता भारोत्तोलनमा लागेकी उनले थपिन्, ‘यस च्याम्पियनसिपमा दोस्रोपल्ट सहभागी भएको हुँ। त्यसैले पहिलोपल्ट खेल्दाजस्तो डर भएन, रेकर्ड बनाउनेमा केन्द्रित हुँदा पनि दबाब महसुस गरिनँ।’ दक्षिण कोरियाका दुई, म्यान्मार र इराकका एक–एक खेलाडीलाई उछिन्दै समूह ‘बी’ मा पहिलो भएकी कमलाले ६५ केजीबाट सुरु गरेर स्न्याचमा दोस्रो प्रयासमा ६७ केजी उचाल्दै कीर्तिमान बनाइन्। तर ७१ केजी उठाउने उनको तेस्रो प्रयास भने असफल भयो। क्लिन एन्ड जर्कमा पहिलोपल्ट ८० केजी उचाल्दा पनि ‘पुल’ नपुग्दा उनी चुकेकी थिइन्। त्यसपछि ८० केजीमा सफल भएकी उनले तेस्रो अवसरमा ८५ केजी पनि उठाइन्।

‘राम्रा खेलाडीहरू भएकाले यसपालि पदक आस गरिएको थिएन तर च्याम्पियनसिपको अनुभवले भविष्यमा अरु प्रतियोगितामा अगाडि बढ्न सहयोग गर्नेछ,’ नेपाली सेनामा आबद्ध उनले भनिन्, ‘अब एसियन इन्डोर गेम्सको तयारीमा लाग्नेछु।’ आउँदो सेप्टेम्बरमा एसियन इन्डोर गेम्स तुर्कमेनिस्तानको अस्गाबातमा हुँदै छ। सातौं राष्ट्रिय खेलकुद २०७३ र लुम्बिनी च्याम्पियनसिप २०७० मा स्वर्ण जितेकी कमलाले चौथो र पाँचौं ग्राँ प्रिमा रजत हात पारेकी थिइन्।

पहिलोमै कीर्तिमान
नेपालगन्जकी १८ वर्षीया सन्जुले ५३ केजी स्पर्धाको स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ८० केजीसहित कुल १ सय ४० केजी उठाएर देवी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा बनाएको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। सातौं राष्ट्रियमा स्वर्ण जित्ने क्रममा देवीले स्न्याचमा ५९ केजी र क्लिन एन्ड जर्कमा ७९ केजीको कीर्तिमानी प्रदर्शन गरेकी थिइन्।

पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी सन्जुले भनिन्, ‘कीर्तिमान बनाउने सोचेकी थिइनँ। त्यसैले एकदम खुसी छु।’ उनले दुवै कीर्तिमान दोस्रो प्रयासमा उठाएकी थिइन्। तेस्रो अवसरमा ६३ र ८२ केजी उठाउने प्रयासमा भने उनी सफल भइनन्। ‘आत्तिएँ, हतार गरें, त्यसैले तेस्रो प्रयासमा असफल भएँ,’ उनले त्यो क्षण सुनाइन्।

उनले प्रशिक्षणमा ६२–८५ केजी उचाल्दै आएकी थिइन्। ‘पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकाले नर्भस भइयो। त्यसैले ट्रेनिङअनुसार प्रदर्शन गर्न सकिनँ,’ सातौं राष्ट्रिय खेलकुदमा ‘वासआउट’ भएकी उनले भनिन्। अब निरन्तर प्रशिक्षण गर्ने उनको चाहना छ।

सन्जु, कमलासँगै जुनियरमा टीकामाया गुरुङले पनि प्रतिस्पर्धा गरिन्। ५८ केजी स्पर्धामा टीकामायाले स्न्याचमा ४५ केजी र क्लिन एन्ड जर्कमा ५५ केजी गरी कुल १ सय केजी उचालिन्।
युवा/जुनियरको ५३ केजीमा कविता चौधरीले स्न्याचमा ४१ केजी र क्लिन एन्ड जर्कमा ५० केजी गरी कुल ९१ केजी उठाइन्। युवा/जुनियर पुरुषतर्फ ६२ केजीमा सजरुद्दिन आलमले स्न्याचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७५ केजी उचाले।

टीकामाया, कविता र सजरुद्दिनले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश प्रधानले बताए। कविता र सजरुद्दिन समूह ‘बी’ को अन्तिम स्थानमा रहे भने टीकामायाले पुछारबाट दोस्रोमा रहेर प्रतिस्पर्धा टुंग्याइन्।
च्याम्पियनसिपको तेस्रो दिन बुधबार पुरुषतर्फ ६९ केजीमा प्रकाश केसी र सुरज वैश्यले प्रतिस्पर्धा गर्दै छन्। प्रकाशले दोस्रोपल्ट एसियन जुनियर च्याम्पियनसिप खेल्न लागेका हुन् भने सुरजको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। सुरजको चुनौती युवा/जुनियरमा हुनेछ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com