ट्रम्पको अधिकार सीमित पार्ने सहमति


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

श्रावण ९, २०७४- अमेरिकी कंग्रेसका दुवै दल राष्ट्रपतीय चुनावमा संलग्नताको सजायस्वरूप रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित गर्न सहमत भएका छन्। नयाँ विधेयकले  रुसमाथिको प्रतिबन्ध फुकुवा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार पनि हटाउनेछ।

निर्वाचित भएको केही समयदेखि नै ट्रम्पको चुनावी अभियानमा रुसले प्रभाव पारेको आरोप लाग्दै आएको छ। रुसले अमेरिकी चुनावी अभियानमा कुनै पनि संलग्नता अस्वीकार गरिरहे पनि अमेरिकी गुप्तचर अधिकारीहरूले यसबारे अनुसन्धान गरिरहेका छन्।

यसअघि ट्रम्पले क्रेमलिनबारे निर्णय लिन आफूलाई कूटनीतिक स्वतन्त्रता दिन कंग्रेससमक्ष आग्रह गरेका थिए। ट्रम्पको धारणाविपरीत दुई दलीय सहमतिले मस्कोबारे अमेरिकी कंग्रेसको प्रस्ट धारणा रहेको संकेत गरेको छ।

ट्रम्पले यो विधेयकलाई रोक्न विशेषाधिकार प्रयोग भने गर्न सक्छन्। मस्कोसँगको शंकास्पद सम्बन्धको आरोपबीच ट्रम्पले विधेयक रोक्ने सम्भावना भने न्यून छ। अर्कोतर्फ यदि उनले यस विधेयकमा हस्ताक्षर गरेमा ट्रम्प प्रशासनले विरोध गरिरहेको कानुन पास हुनेछ।

सिनेटको विदेश मामिला समितिका वरिष्ठ सदस्य बेन कार्डिनले सघन वार्तापछि विधेयकमा सहमति जुटेको जनाए। उनले अमेरिकी जनताका तर्फबाट कंग्रेसले राष्ट्रपति पुटिनलाई स्पष्ट सन्देश दिनका लागि ट्रम्पको सहयोग चाहिने बताए। डेमोक्रयाट सिनेटर चक सुमरले हाउस अफ रेप्रिजेन्टेटिभ र सिनेटले बृहत् दुई दलीय सहमतिका आधारमा विधेयकलाई समयमै अगाडि बढाउने बताए। उनले प्रतिबन्धसम्बन्धी सशक्त विधेयक आवश्यक रहेको उल्लेख गरे।

विधेयकमा उत्तर कोरिया र इरानमाथि थप प्रतिबन्ध लगाउन अनुमति दिने व्यवस्था छ। सिनेटबाट पारित भएको विधेयकमा हाउस अफ रेप्रिजेन्टेटिभमा मंगलबार मतदान हुँदै छ।

अमेरिकाले यसअघि केही रुसी नागरिक र कम्पनीहरूलाई प्रतिबन्ध लगाइसकेको छ। डिसेम्बरमा पूर्वराष्ट्रपति बाराक ओबामाले जासुसी गरेको आरोपमा ३५ जना कूटनीतिज्ञलाई फिर्ता पठाउनुका साथै दुई रुसी भवनहरू बन्द गरिदिएका थिए।

त्यसयता क्रेमलिनले लगातार बन्द भवनहरू फिर्ता गर्न माग गरिरहेको छ। भवन फिर्ता गर्न रुस र अमेरिकाले गरेको वार्ता निष्कर्षमा पुग्नै लागेको रुसी अधिकारीले बताएका थिए। तर नयाँ विधेयकले ट्रम्पलाई कंग्रेसको सहमतिबिना प्रतिबन्ध फुकुवा गर्न र रुसी भवन फिर्ता गर्न अप्ठ्यारो परेको छ। रुसका लागि अमेरिकी राजदूत सर्गेई किस्ल्याक नौ वर्षपछि कार्यकाल सकेर फर्किएका छन्। अमेरिकी सञ्चार माध्यमहरूले उनलाई राष्ट्रपतीय निर्वाचनमा रुसी संलग्नताबारे अनुसन्धानको मुख्य व्यक्ति बताएका थिए। नयाँ राजदूतबारे रुसले अहिलेसम्म केही बताएको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com