‘सम्पत्ति हडप्न ज्यानै लिए’


प्रकाशित मिति : श्रावण ८, २०७४ आईतबार

– दीपक परियार

श्रावण ८, २०७४- आफू निरक्षर। पत्नी सुस्त मनस्थितिकी। बुढेसकालमा जन्मेका पाँच छोरी र एक छोरा। पोखराको मुख्य बजारमा करोडौंको सम्पत्ति थियो ६८ वर्षीय लोकप्रसाद सुवेदीको। आफन्तका अनुसार भाडामा बस्नेले उक्त सम्पत्ति हडप्न खोज्दा पोखरा नयाँबजारका यी वृद्धले ज्यानै गुमाउनुपरेको छ ।

पुख्र्यौली घर पर्वतको, ठानामौला भएका सुवेदीको २४ वर्षअघि पोखराकी शारदा पराजुलीसँग बिहे भयो। दुवै छोरी अशक्त र सुस्त मनस्थितिका भएकाले शारदाका बाबुआमाले बराबर सम्पत्ति दिई ज्वाइँलाई पनि आफूसँगै राखे। लोकप्रसाद र शारदाले पाँच छोरी विष्णुमाया, हरिमाया, लक्ष्मी, सरस्वती, पार्वती र छोरा श्रीकृष्णलाई जन्म दिए। श्रीकृष्ण अहिले ७ वर्ष पुगेका छन्। नयाँबजार प्रदर्शनी केन्द्रको गेटैअगाडि दुईतले घर बनाइदिएर लोकप्रसादकी सासू बितिन्।

पोखराकै घार्मी स्थायी घर भएका तुलसी पौडेल र उनकी पत्नी भगवती १५ वर्षदेखि लोकप्रसादको घरमा भाडामा बस्थे। बीचमा पौडेल दम्पतीको क्रियाकलाप शंकास्पद लागेपछि लोकप्रसादका आफन्तले उनीहरूलाई कोठाबाट निकाले। आफन्तलाई थाहा नदिई पौडेल दम्पती पुन: २०६८ मा लोकप्रसादकै घरमा भाडामा बस्न थाले। त्यतिबेला तुलसी जग्गा खरिद–बिक्रीमा लागेका थिए।

०७१ मा लमजुङका टसजंग गुरुङ लोकप्रसादकै सटर भाडामा लिई मोटर पाट्र्सको पसल सञ्चालन गर्थे। उनै टसजंगले लोकप्रसादको घरघडेरी कृषि विकास बैंकमा धितो राख्न लगाई ४५ लाख रुपैयाँ झिके। त्यसपछि रकम लिएर फरार भए। बैंकले ताकेता गरेपछि मात्रै रकम झिकिएको थाहा भयो। घरघडेरी बैंकले जफत गर्ने भएपछि नयाँबजारकै शान्तिदर्शन महिला समूहले सम्पत्ति जोगाइदिने पहल गर्‍यो। घरपछाडि रहेको घडेरी बिक्री गरी ७० लाख रुपैयाँ प्राप्त भयो।

उक्त रकमले सुवेदी परिवारको सम्पूर्ण ऋण चुक्ता गरी बाँकी रहेको ७ लाख ५० हजार रुपैयाँ ०७१ भदौ ५ मा कैलाश विकास बैंकमा राखियो। त्यतिबेलैदेखि पौडेल परिवारको टसजंगसँग साँठगाँठ रहेको समूहकी अध्यक्ष दिलकुमारी गुरुङ बताउँछिन्। समूहले नाबालक छोराछोरी भएकाले अन्यले पनि उनीहरूको सम्पत्तिमाथि आँखा नगाडुन् भनेर अनुमतिमा मात्रै सम्पत्ति बेचबिखन गर्ने कागज गर्‍यो। महिला समूह, टोल विकास संस्था, ९ नम्बर वडा कार्यालय, नयाँबजार प्रहरी बिटका प्रतिनिधि साक्षी बसे। पछि उक्त रकममध्ये ६ लाख रुपैयाँमा चितवनको जगतपुरमा लोकप्रसादले कित्ता नम्बर ३०९ को २ कट्ठा जग्गा खरिद गरे।

पोखराको एक निजी विद्यालयमा पढाउने भगवतीले असार २४ मा कसैलाई थाहा नदिई लोकप्रसादलाई चितवन लगिन्। उनले लोकप्रसादकी माइली छोरी १६ वर्षीया हरिमायालाई कसैले सोधे ‘पर्वतको घर जानुभएको छ’ भन्न लगाइन्। हरिमायाले त्यसै भनिन्। जग्गा बिक्री गर्न आवश्यकता नै नभएका उनलाई भगवतीले फकाई–फुल्याई लगेकी थिइन्। पौडेल दम्पतीले उनी त्यहीँ हुँदाहुँदै पनि अधिकृत वारेसनामा बनाई असार २९ मा गोरखाका नरबहादुर थापालाई जम्मा ७ लाख रुपैयाँमा उक्त जग्गा बेचेको कागज बनाए। चितवन जगतपुरको उक्त जग्गाको चलनचल्तीको मूल्य नै हाल ५० लाख रुपैयाँ रहेको लोकप्रसादका भतिज दुर्गा सुवेदी बताउँछन्।
साउन ३० मा भगवतीले हरिमायालाई पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा बोलाइन्। हरिमाया पुग्दा उनका बुबा इन्तु न चिन्तुको अवस्थामा थिए। उनलाई अस्पतालको आईसीयूमा भर्ना गरियो। तीन दिनसम्म लोकप्रसादका अरू आफन्तलाई कुनै खबर भएन। अन्तिम अवस्थामा पुगेपछि साउन २ मा बल्ल खबर गरियो।

लोकप्रसादका भाइ नाता पर्ने लोकराज शर्मा सुवेदी, भतिज दुर्गा सुवेदीलगायत १२ बजे अस्पताल पुगे। उक्त दिन ४:५० मा लोकप्रसादको निधन भयो। आफन्तसँग चिकित्सकले लोकप्रसादलाई अन्तिम अवस्थामा अस्पताल ल्याइएकाले बचाउन नसकेको प्रतिक्रिया दिए। चिकित्सकले लोकप्रसाद दीर्घरोगी रहेको र लामो समय औषधि सेवन नगर्दा अन्तिम अवस्थामा उपचार सम्भव नभएको बताएका थिए। लोकप्रसादका भाइ लोकराजले आफ्ना दाइको मृत्यु स्वाभाविक नभई सम्पत्ति हत्याउने उद्देश्यले भएको आरोप लगाए। ‘लामो समयदेखिको योजना बनाई दाइको सोझोपन र भाउजूको अशक्तताको फाइदा लिएको देखिन्छ,’ उनी भन्छन्, ‘बाहिरबाटै मृत्युशय्याको परिस्थितिमा पुर्‍याई नाटकीय रूपले हस्पिटल भर्ना गर्नेसम्म कार्य गरिएको छ।’ उनले भगवती र उनका पति तुलसीविरुद्ध कर्तव्य ज्यान आरोपमा शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी नै दिएका छन्।

अपहरणको शैलीमा चितवन लैजानु, कौडीको भाउमा जग्गा बेच्नु, अस्पताल ल्याएपछि लामो समयसम्म आफन्तलाई खबर नगर्नुले हत्या नै भएको उनको आरोप छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले उपचारका क्रममा लोकप्रसादको निधन भएको देखिएकाले पौडेल दम्पतीको संलग्नताबारे अनुसन्धानपछि मात्रै बताउन सकिने जनाए। उनले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बताए। शान्तिदर्शन महिला समूहले लोकप्रसादको निधन शंकास्पद भएको भन्दै साउन ३ मा शवको दाहसंस्कार गर्न दिएको थिएन। साउन ४ मा पोस्टमार्टम गरेपछि बिहीबार लोकप्रसादको दाहसंस्कार गरिएको हो।

उनका ५ छोरीमध्ये जेठी विष्णुमाया र साइँली लक्ष्मीको बिहे भइसकेको छ। काइँली सरस्वती काठमाडौंमा आफन्तकोमा बसेर कक्षा ७ मा पढ्दै छिन्। कान्छी पार्वती पनि आफन्तकोमै बसेर पढ्छिन्। माइली हरिमाया र छोरा श्रीकृष्ण मात्रै बुबाआमासँग बस्दै आएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com