गौरी जोशीको उम्मेदवारी दर्ता नभएपछि यसो भन्छ्न् अगुवा


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

सूर्य थापा

टेक्सस(अमेरिका)- आगामी महिना हुन लागेको एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेदवारी निर्वाचन आयोगले स्वीकार गर्न आनकानी गरेपछि  यसले चर्को रूप लिएको छ । अमेरिकामा दर्ता भएको संस्था एनआरएन अमेरिकाको विधानले उम्मेदवारीका लागि कुनै रोक नलगाएको भएपनि आयोगले आईसीसीको विधान प्रयोग गर्दै अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेदवारी दर्ता गर्न आनानकानी गरेको हो ।

 

आयोगले जोशीसंग तपाईँले एनआरएन अमेरिकामा एक कार्यकाल  काम गरेको प्रमाण पेश गर्नु भन्दै इमेल गरेर जोशीको उम्मेदवारी तत्काल दर्ता गरेको छैन । एनआरएन अमेरिकाको विधानमा विवाद भएमा मात्र आईसीसीको विधान प्रयोग गर्न सक्ने प्रावधान रहेको भएपनि आयोग आत्तिएर वा दबाबमा परेर जोशीको उम्मेदवारी स्वीकार नगरेको भन्दै नेपाली समाजमा चर्को विरोध भएको छ । एनआरएन अमेरिकामा शुरु हुनुभन्दा पहिला न्याक संस्था रहेको र त्यस संस्थामा आफूले सन् २००७ देखि २००९ सम्म काम गरेको प्रमाण रहेको जोशीले बताउँदै आउनुभएको छ । जोशीको उम्मेदवारी अस्वीकारका बारेमा नेपाली समाजका अगुवाहरुले पत्रकार सूर्य थापालाई यस्तो प्रतिक्रिया दिएका छन् ।

 

डाक्टर अम्बीका अधिकारी, तत्कालीन न्याक अध्यक्ष तथा एनआरएन अभियन्ता

निर्वाचन आयोगले गौरीजीको उम्मेदवारी स्वीकार गर्न नसकेको देख्दा अचम्म लागेको छ । अमेरिकामा एनआरएन शुरु हुनुभन्दा पहिला न्याक भन्ने संस्था थियो पछि त्यही संस्थानै एनआरएन भएको हो । म अध्यक्ष रहेको बेला  गौरी जीले २००७ देखि २००९ सम्मको कार्यकालमा काम गर्नुभएको हो । उहाँले काम गरेको प्रमाण एनसीसीदेखि आईसीसीसम्म सबैसंग छ । जहाँसम्म उहाँहरुले आईसीसीको लिष्टमा नाम छुटेको भन्नु भएको छ त्यो अरू धेरैको पनि छुटेको छ त्यो प्राविधिक कमाजोरी हो । उहाँ हामिसंगै बैठक बसेका, विभिन्न निर्णयहरू गरेका, हाम्रो संस्थालाई प्रतिनिधित्व गरेका सबै प्रमाण छन् । म आफै पनि एनआरएन अमेरिकादेखि , आर.सी.हुँदै आईसीसीका विभिन्न पदहरुमा बसेर काम गरेको अनुभवले भन्दा यस संस्थामा यसरी कसैलाई पनि बन्देज गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । मलाई अझै पनि विश्वास छ गौरी जीको उम्मेदवारीले मान्यता पाउंछ भनेर ।

 

श्री पराजुली पूर्व उपाध्यक्ष एनआरएन अमेरिका

गौरी जीलाई उम्मेदवार हुनबाट रोक्ने कुनै धारा उपधारा छैन । एनसीसी र आईसीसीको मैले विधानमा हेर्दा उहाँलाई रोक्ने ठाउँ देखेको छैन तर उहाँहरुले कता, के देखेर रोक्नु  भयो म अचम्ममा परेको छु । निर्वाचन आयोग कसैबाट  निर्देशित भएको प्रष्ट देखिन्छ । यो कसको धाक या धम्कीबाट चलेको हो भन्ने कुरा प्रष्ट हुन्छ । एनसीसीको विधान अनुसार उहाँ दुई वर्ष साधारण सदस्य भएको भए पुग्ने हो, त्यो पनि छ . आईसीसीको विधानमा एक कार्यकाल काम गरेको भन्ने हो, त्यो पनि २००७ देखि २००९ सम्म गरेको सबैलाई छर्लगं छ ।

 

 

 

मुकेश सिंह, पूर्व एनआरएन आर.सी, अमेरिका क्षेत्र 

म प्रष्ट हुन सकेको छैन । न्याकनै एनआरएनको जन्मदाता हो । त्यो न्याकलाईनै आईसीसीले पत्र पठाएर प्रतिनिधित्व गर्न भन्दथ्यो. मैले त्यति बेला न्याकबाटनै एनआरएन आईसीसीमा प्रतिनिधित्व गरेको हो । सबै दर्ता नम्बरहरु न्याकका हुन् । न्याकमा काम गरेकोलाई मान्यता दिन नखोजेको हो भने, यो पुरै गलत हो । मैले लेखेरै प्रमाण दिएको छु कि गौरी जीले न्याकमा एक कार्यकाल काम गरेको हो भनेर । उहाँले काम गरेको सबै प्रमाण हुँदा हुँदै निहु खोज्ने काम गर्नु भएन । मलाई जोशी जी या अरू कुनै उम्मेदवारको पक्ष लिनु आवश्यक छैन । मेरो मान्यता यो हो कि न्याकलाई अमान्य गर्न खोज्नु त्यो पनि बन्दीता जी जस्तो वकिल निर्वाचन आयुक्त भएर, यो ठिक भएन । म आफू एनआरएन आरसी तथा पूर्व आईसीसी सदस्य अनि एनआरएन अमेरिकाको बाईलज लेख्ने व्यक्ति समेत भएकोले यो कुरा बौल्दैछु । मलाई अझै पनि विश्वास छ यो प्रजातान्त्रिक मुलुकमा, एनआरएनजस्तो संस्था कसैले हाईज्याक गर्न सक्ने छैन भनेर ।

 

आनन्द विष्ट, अध्यक्ष जनसम्पर्क समिति अमेरिका

गौरी जीको उम्मेदवारी दर्ता नभएको देख्दा मलाई पनि अचम्म लागेको छ । म आफू लामो समयदेखि नेपाली समाजमा सक्रिय भएको व्यक्तिको हिसाबले भन्दा न्याकनै त्यतिबेलाको वैधानिक एनआरएन रूप हो । न्याकनै एनआरएन हो भनेर आईसीसीले समेत मानेको अवस्थामा अमेरिकामा दर्ता भएको संस्थाले पनि कुनै पनि व्यक्ति संस्थामा काम गर्न आउँछु भन्दा बाटो छिक्न मिल्दैन । गौरी जीको उम्मेदवारीलाई आयोगले कसैको दबाबमा आएर भन्दा पनि यहाँको विधानलाई मानेर काम गरोस् भन्न चाहन्छु । हामीले न्याकसँग सामाजिक काममा सहकार्य गर्दा त्यही संस्थानै एनआरएन आईसीसीमा सहभागी हुँदै आएको सबैलाई थाहा भएकोले मलाई पूर्ण विश्वास छ आयोगले आफ्नो निर्णय सच्चाएर सामाजसेवामा आउन चाहने जोशी जीको उम्मेदवारीलाई मान्यता दिने छ ।

 

डाक्टर तारा निरौला, पूर्व न्याक अध्यक्ष तथा एनआरएन अभियन्ता

एक शब्दमा भन्दा यो निहुं खोज्ने काम मात्र भएको छ । गौरी जोशीले दुई वर्षको कार्यकालमा काम गरिसकेको हो भन्ने कुरा सबैलाई थाहा छ । तत्कालीन अध्यक्ष डाक्टर अम्बीका अधिकारलेनै गौरी जोशीले दुई बर्षे कार्यकाल गरेको हो भनेर लिखित पनि दिनुभएको छ । म तत्कालीन बोर्डमा वरिष्ठ उपाध्यक्ष थिएँ । हाम्रो टिममा उनले सदस्यता वितरणको प्रमुख समेत भएर काम गरेका हुन् । तत्कालीन रूपमा गौरी जी बोर्डमा निर्वाचित भएको लिष्ट जताततै छ । त्यस समयमा न्याकले गरेका हरेक काममा उनको प्रमाण छ । मलाई अझै पनि पूर्ण रूपमा विश्वास छ कि अमेरिका जस्तो मुलुकमा पनि कसैलाई पन्छाएर आयोग अगाडि बढ्ने छैन भनेर । त्यो समयमा अमेरिकामा रहेका सबै संस्थाबाट प्रतिनिधि पठाएर हाउस अफ डेलिगेट्स पठाएर बोर्ड बनाउने चलन थियो, त्यसमा जोशी जी काम गरेको सबै प्रमाण छ । अहिले आएर प्रश्न उठाएर अनावश्यक विवाद निकाल्नु कुनै आवश्यकता देखिन्न । एनआरएनको इतिहास हेर्दानै थाहा हुन्छ कि न्याकनै अमेरिकामा एनआरएनको प्रतिनिधित्व गर्थ्यो भनेर ।

 

हेम पाठक, समाजसेवी

गौरी जीलाई जसरी बन्देज गर्न खोजिएको छ यो देख्दा एनआरएन अमेरिका कसैले कब्जा पो गर्न लागेको हो की भन्ने शंका लागेको छ । हामी अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा बसेर पनि यति अप्रजातान्त्रीक काम गर्न खोज्दछौ भने के सामाजिक काममा आउन खोज्ने हो ? मेरो बुझाइमा उंहा विधान त पूर्ण रूपमा योग्य हुनुहुन्छ तर एनआरएन अमेरिकाको परिवर्तन र भलो नचाहानेहरुले उंहाको बाटो छेक्नलाई मात्र यो बखेडा निकालेको मैले बुझोको छु । मलाई कुनै शंका छैन की उंहा चुनावमा लड्न पाउनुहुुन्न भनेर । एनआरएनको भविष्यका लागि पनि यो बन्देज अवश्य खुल्नेछ । यदि केही व्यक्तिको लहलहैमा लागेर एनआरएन अमेरिकाद्धारा गठित निर्वाचन आयोगले यस पटक जोशीजीलाई उम्मेदवारी दिन बाटो रोक्यो भने एनआरएन अमेरिकामा स्वतन्त्र रूपमा सदस्य लिएकाहरुले स्वतन्त्र साधारण सदस्य हुँ भन्नुको कुनै औचित्य रहन्न ।

 

खग्रेन्द्र क्षेत्री, पूर्व एनआरएन अमेरिका अध्यक्ष 

बाईलजले गौरी जोशी पूर्ण रूपमा योग्य देखिनुहुन्छ । आईसीसीले एनआरएन अमेरिकालाई २००३ देखि मान्यता दिएको कुरा पत्र पहिला नै आएको छ । गोरी जीको उम्मेदवारी रोक्ने कानुनत कुनै ठाउँ देखिँदैन । यदि उहाँको उम्मेदवारी रोक्ने हो भने आईसीसी र एनसीसी दुवैको विधान उल्लघंन हुन्छ । कुनै व्यक्तिको दबाबमा आएर विधाननै नहेरी आयोगले काम गरे जस्तो देखिएको छ । चुनावको परिणाम आंकलन गरी कुनै व्यक्तिलाई पनि रोक्नु मिल्दैन । कुन व्यक्तिलाई रोक्न खोजियो भन्दा पनि म पूर्व अध्यक्ष र एउटा एनआरएन अभियान्ताको रूपमा भन्दा यो पूर्ण रूपमा एनआरएन अमेरिकालाई कमजोर बनाउने कार्य हो । मलाई पूर्ण विश्वास छ कि यो काम तत्काल सच्चाईनेछ ।

 

बाला घिमिरे, समाजसेवी

एनआरएन साझा संस्था हो । यसलाई हामीले विवादित बनाउनु भन्दा पनि सबैलाई समेट्ने गरी साझा थलो बनाउने तर्फ लाग्नु पर्दछ । गौरीजी एनसीसी र आईसीसीको विधानले मान्यता दिदां पनि कुनै व्यक्तिको दबाबबाट रोक्न खोजिएको हो भने यो संस्थाको अहित हुनेछ । अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा रहेका हामीहरूले कसैलाई पनि अन्याय नगरौं भन्ने मेरो धारण हो । मलाई विश्वास छ  अब विवादभन्दा पनि समाधानतर्फ लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु ।

 

 

 

प्रभु थापा, अध्यक्ष प्रवासी नेपाली मन्च अमेरिका

समग्रमा भन्नुपर्दा  एनआरएन अमेरिका विवाद रहित भएर चलोस् भन्ने हाम्रो चाहना हो । अमेरिकी भूमिमा अमेरिकी कानुन अनुसार चलोस् भन्ने चाहान्छौ । निर्वाचन आयोगले कुन व्यक्तिको उम्मेदवारी दर्ता गर्न मानेनभन्दा पनि यो संस्था कता जादैछ भन्ने कुरा चिन्ताको विषय हो। कसैको निर्देशनबाट संस्था चल्न खोजेको देख्दा निकै दुख लागेको छ. त्यसैले हामी यस्ता कार्यको घोर विरोध गर्दछौँ । हामी एनआरएन विधान सम्मत साझा संस्थाको रूपमा जाओस् भन्ने चाहान्छौं । अमेरिकी भूमिमा दर्ता भएको संस्था यहीको नियमले नै चल्नु पर्दछ भन्ने मान्यता राख्दछौं । मलाई अझै पनि विश्वास छ यो संस्थाको हितका लागि उहाँको उम्मेदवारीले मान्यता पाउनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com