बजाजले ल्यायो सानो कार


प्रकाशित मिति : श्रावण २, २०७४ सोमबार

श्रावण २, २०७४- भारतको मोटरसाइकल निर्माता कम्पनी बजाजले सानो कार बजारमा ल्याएको छ । कार नभनेर चारपांग्रे सवारी साधन भनिएको यसलाई धेरैले यसलाई मोटरसाइकलकै परिष्कृत रूप पनि भन्ने गरेका छन् । यसको इन्जिन क्षमताले पनि त्यही देखाउँछ ।

बजाजको वेबसाइटका अनुसार यसको इन्जिनको क्षमता २ सय १६ सीसी मात्रै छ ।
तर, यसमा पावर स्टेरियरिङ, पावर विन्डोको सुविधा छ । चार पांग्रा छन् । अगाडि दुई र पछाडि दुई जाना बस्न सक्ने भएकाले यो नानो कारको प्रतिस्पर्धी भनेर पनि भारतीय सञ्चार माध्यमले जनाउने गरेका छन् । यसको इन्जिन पछाडि राखिएको र तौल पनि कम छ । बजाजका अनुसार यसको तौल ४ सय ५० किलो मात्रै छ ।

‘यो बजारमा उपलब्ध अन्य साना कारभन्दा ३७ प्रतिशत कम तौल भएको गाडी हो,’ बजाजको वेबसाइटमा उल्लेख छ । गाडीमा अगाडिपट्टि (धेरैजसो गाडीको इन्जिन हुने ठाउँ) लाई सामान राख्ने स्थानका रूपमा बनाइएको छ । यसलाई बजाज क्युट नाम दिइएको छ । सानो क्षमताको इन्जिन भए पनि कारका रूपमा विकसित गरिएकाले यसलाई सुरक्षित मानिएको छ । यसलाई सीएनजी वा एलपीजीबाट चलाउन सकिने उल्लेख छ । यसको बजार मूल्य भारतमा कम्तीमा १ लाख ३२ हजार रहने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com