ट्रम्प कार्यकालमा अमेरिकी भिसा पाउने नेपालीहरु (तीनमहिनाको ब्रेकडाउन)


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

-किशोर पन्थी

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएको पहिलो महिना विवादित यात्रा प्रतिबन्ध लगायतका कैयन विषयका कारण विश्वभरका अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरुले निकै कम भिसा जारी गरे । काठमाडौंमा रहेको अमेरिकी दूतावास पनि यसको अपवाद रहेन । काठमाडौंमा रहेको अमेरिकी दूतावासले फरबरी महिनामा निकै कम भिसा जारी गर्यो । कुन भिसा कति जारी गरियो भन्नेबारे फरबरीको यकिन तथ्यांक अमेरिकी सरकारले सार्वजनिक गरेको छैन । तर मार्चदखि मेसम्म कति नेपालीलाई भिसा जारी गरियो भन्ने तथ्यांक खसोखासले प्राप्त गरेको छ । रिपोर्टमा तीनमहिनाको अवधिमा नेपालीलाई प्रदान गरिएको भिसाको विश्लेषण गरिएको छ ।

विद्यार्थी भिसा चारगुणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा अत्यन्तै कम जारी गरिएपनि अहिले भने विद्यार्थी भिसाको दर ह्वात्तै बढेको छ । अप्रिल महिनाको तुलनामा मे महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको दर झण्डै चारगुणा बढेको हो ।

अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार मे महिनामा ४५१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् भने उनीहरुका २८ जना डिपेन्डेन्टहरुले पनि अमेरिकाको भिसा पाएका छन् । जसमध्ये काठमाडौंमा रहेको दूतावासबाट अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरु ४३६ जना रहेका थिए भने अरु १५ जनाले अरुदेशबाट भिसा पाएका थिए । डिपेन्डेन्ट भिसा पाउनेहरुभने सबै काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा पाउनेहरु हुन् ।

फरबरीमा हरेक दिन औषतमा १ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । मार्च महिनामा हरेक दिन औषतमा एकदेखि दुईजना नेपालीलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएको अप्रिलमा भने औषतमा हरेक दिन ५ देखि ६ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाए । मे मा भने हरेक दिन २० देखि २२ जनासम्म नेपालीहरुले अमेरिकाको भिसा पाए । हरेक दिन झण्डै २ सय जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने दुतावास श्रोतको भनाई छ ।

ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अप्रिलमा ११९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ११६ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र ३ जनाले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

मार्चमा भने जम्मा ३६ जना नेपालीहरुले विद्यार्थी भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ३१ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र अन्यले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए । मार्चमा विद्यार्थी भिसाका ३२ जना नेपाली डिपेन्डेन्टहरुले अमेरिकाको भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ३० जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र २ जनाले अरुदेशमा रहेका दूतावासबाट डिपेन्डेन्ट भिसा प्राप्त गरेका थिए । अप्रिलमा भने अमेरिकी भिसा पाउने विद्यार्थी भिसाका डिपेन्डेन्टहरु २७ जना रहेका थिए । उनीहरु सबैले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

गतबर्ष (आर्थिक बर्ष २०१६) ओबामा कार्यकालमा ६४४० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । गतबर्ष औषतमा हरेक महिना साढे ५ सय नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो ।

कलाकारले पनि पाए भिसा

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछिका तीनमहिनाको विश्लेषण गर्दा मार्च र अप्रिलमा कुनै पनि नेपाली कलाकारहरुले अमेरिकाको पी थ्री भिसा पाएका थिएनन् । तर मे महिनामा भने १२ जना नेपाली कलाकारहरुले अमेरिकाको पी थ्री भिसा पाएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछिको पहिलो महिना फरबरीमा कतिजना नेपाली कलाकारले पी थ्री भिसा पाए भन्नेबारे अमेरिकी सरकारले तथ्यांक उपलब्ध नगराएपनि मार्चदेखिको तथ्यांक भने उपलब्ध गराएको छ ।

तथ्यांकमा मार्च र अप्रिलमा कुनै पनि नेपाली कलाकारले पीथ्री भिसा पाएको उल्लेख छैन । तर मे महिनामा भने १२ जना नेपाली कलाकारहरुले अमेरिकाको भिसा पाएका छन् । उनीहरुमध्ये सबैजनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा पाएका हुन् ।

भिजिटर भिसाको दर घट्दो

अमेरिकी राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरिसकेपछि पनि अमेरिकाले नेपालीका लागि उल्लेख्य संख्यामा भिजिटर भिसा जारी गरेको छ । तर पछिल्लो महिनामा भिजिटर भिसा पाउने नेपालीहरुको संख्या केही घट्दो रहेको छ । मे महिनामा भिजिटर भिसा बीवान र बीटु पाउने नेपालीहरु १६१० जना रहेका छन् । त्यो बाहेक बी वानमात्र पाउनेहरु ९ जना र बी टुमात्र पाउनेहरु १ जना रहेका छन् । काठमाडौंमा रहेको दूतावासले भने मे महिनामा बीवान र बीटु क्याटेगोरीमा १४१० जनालाई भिसा जारी गरेको छ । त्यस्तै बी वान क्याटेगोरीमा एकजनालाईमात्र भिसा जारी गरेको छ ।

जबकी अप्रिल महिनामा १६५६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा (बीवान बीटु) प्राप्त गरेका थिए । त्यो बाहेक अप्रिलमा बीवान र बी टु छुट्टा छुट्ै क्याटेगोरीमा थप ६ नेपालीहरुलाई अमेरिकाले भिसा जारी गरेको थियो । अप्रिल महिनामा काठमाडौंमा रहेको दूतावासले भने १४८९ जनाका नाममा भिजिटर भिसा जारी गरेको थियो ।

मार्च महिनामा भने अमेरिकाको बी क्याटेगोरीमा भिजिटर भिसा पाउने नेपालीहरु अझ धेरै थियो । मार्चमा १९८५ जना नेपालीहरुले बी वान बी टु संयुक्त क्याटेगोरीमा भिजिटर भिसा पाएका थिए । मार्चमा बी वान मात्र पाउने थप ६ जना र बी टुमात्र पाउने थप ५ जना रहेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र मार्चमा १७७४ भिजिटर भिसा जारी गरेको थियो ।

अमेरिकी नागरिकसँग विहे गर्न आउने नेपाली बढ्दो

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अमेरिकी नागरिकसँग विहे गर्न अमेरिका आउने नेपालीहरुको संख्या बढ्दो रहेको छ । अमेरिकी नागरिक भन्नाले अमेरिकी नागरिकताप्राप्त नेपालीहरुसमेत बुझाउँछ ।

अघिल्लो महिनाको तुलनामा अमेरिकी नागरिकसँग विहे गर्न अमेरिकामा मंगेतर भिसामा आउने नेपालीहरुको संख्या मे महिनामा बढेको हो । मे महिनामा अमेरिकी नागरिकसँग विहे गर्न मंगेतर भिसामा ९ जना नेपालीहरु अमेरिकामा आएका छन् । जबकी अप्रिलमा ७ जना नेपालीहरु अमेरिकी नागरिकसँग बिहे गर्न मंगेतर भिसामा अमेरिकामा आएका थिए । मार्चमा भने ९ जना नेपालीहरु अमेरिकी नागरिकसँग विहे गर्न मंगेतर भिसामा अमेरिका आएका थिए ।

के वान नामको मंगेतर भिसामा अमेरिकामा आइसकेपछि अमेरिका आउने व्यक्तिले ९० दिनभित्र विवाह गरिसक्नुपर्ने प्रावधान रहेको छ । आर्थिक बर्ष सन् २०१६ मा १३५ जना नेपालीहरु अमेरिकी नागरिकसँग विहे गर्न मंगेतर भिसामा अमेरिका आएका थिए । जबकी सन् २०१५ मा ८१ ज्नामात्र नेपालीहरु अमेरिकी नागरिकसँग विहे गर्न मंगेतर भिसामा अमेरिका आएका थिए ।

महिनाको एकजना नेपालीलेमात्र अमेरिकी भिसा पाएका भिसाश्रेणी

नेपालीहरुले अमेरिकाको भिसाका लागि सबैभन्दा धेरै आवेदनदिने र भिसा पाउने भिसा श्रेणी भिजिटर, विद्यार्थी भिसा हो । त्यो बाहेक अन्य क्याटेगोरीको भिसाका लागि निकै कममात्र नेपालीहरुले आवेदन दिन्छन् भने निकै कममात्रले भिसा पाउँछन् ।

अमेरिकी भिसाका केही यस्ता क्याटेगोरीहरुपनि छन् जसमा नेपालीहरुले महिनाको एकजनालेमात्र भिसा पाउने गरेका छन् । अझ कहिलेकाँही त एकजनाले पनि पाएका छैनन् ।

अमेरिकामा केहीसमयका लागिमात्र तालिम वा अध्ययनका लागि आउने विद्यार्थीले पाउने एम भिसा गतमार्चमा १ जनालेमात्र पाए भने अप्रिल र मेमा १ जना नेपालीले पनि पाएनन् । त्यस्तै नेपालमै रहेर अतिदक्ष क्षमताका कारण पाउने ओ वान भिसा मार्चमा १ जनालेमात्र पाए भने अप्रिल र मेमा कसैले पनि पाएनन् । त्यस्ता क्षमतावानका दम्पत्तिले पाउने ओ थ्री भिसा पनि मार्चमा त्यही एकजनाका थप एकजना दम्पत्तिले पाए ।

धार्मिक कामदारका रुपमा पाउने आरवान अर्थात् धार्मिक भिसा भने मार्चमा एकजना, अप्रिलमा एकजना र मेमा एकजना नेपालीले प्राप्त गरेका थिए । गतमार्चमा अमेरिकामा हिंशाबाट पिडितका एकजना नेपाली बच्चाले युथ्री क्याटेगोरीको भिसा पाएका थिए । तर त्यो क्याटेगोरीको भिसा अप्रिल र मेमा कसैले पनि पाएनन् ।


© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com