न्युयोर्कमा सुरु हुने भयो नेपाली भाषा र संगीतकक्षा


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

अमेरिकाको न्युयोर्कमा पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संगीत सिकाउने उद्देश्यले नेपाली भाषा र संगीत कक्षा औपचारिक रुपमा सुरु हुने भएको छ । केही समयदेखि परिक्षणका रुपमा नेपाली भाषा र संगीतकक्षा संचालन भइरहेपनि अब भने पूर्णरुपमा संचालन हुने भएको हो ।

अमेरिकामा रहेका पछिल्लो पुस्ताका नेपालीहरुले नेपाली भाषा बोल्न र लेख्न नजान्ने समस्या रहेको र नेपाली संस्कृतिबाट पनि उनीहरु टाढा बन्दै गइरहेको अवस्थामा नेपाली भाषा र संगीतकक्षा फलदायी हुने विश्वास गरिएको छ । न्युयोर्कको उडसाइडमा युनाइटेड शेर्पा एसोसिएसन अमेरिका (शेर्पा किदुग) ले भाषा र संगीतकक्षा संचालन गर्न लागेको हो ।

भाषा र संगीतकक्षाबारे युनाइटेड शेर्पा एसोसिएसन अमेरिका (शेर्पा किदुग) का अध्यक्ष उर्गेन शेर्पाले पत्रकार भेटघाटमा भन्नुभयो  -‘पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृतिबाट नजिक राख्न हामीले यो पहल गरेका हौं । यसबाट नेपाली भाषा सिक्न चाहने विदेशीहरुले समेत फाइदा लिन सक्नेछन् ।’

भाषा र संगीत सिकाउने गुरु चर्चित संगीतकार गणेश पराजुलीले भन्नुभयो – ‘यो भाषा र संगीत कक्षा शेर्पा समुदायका लागिमात्र नभई सबै समुदायका नेपालीहरुका लागि हो । आफ्ना बच्चाहरुलाई यो भाषाकक्षामा भर्ना गरेर नेपाली भाषा र संगीतको नजिक राख्न हामी अनुरोध गर्दछौं ।’

अहिले अमेरिकामा पछिल्लो पुस्ताका बालबालिकाहरु आफ्नै घरमा अँग्रेजी नजान्ने हजुरबा हजुरआमा वा कतिपय बुबाआमासँग नै नेपाली भाषामा कुरा गर्न नजान्ने अवस्था रहेको छ । जसका कारण एउटै परिवारभित्र पनि संचारको समस्या हुँदै आएको छ । नेपाली भाषा बोल्न जानिहाले पनि लेख्न नसक्ने समस्या अधिकांश बालबालिकाहरुमा रहेको छ । यो भाषा कक्षाबाट उनीहरुले अत्यन्तै छिटो आधुनिक शैलीमा नेपाली भाषा सिक्ने अपेक्षा गरिएको छ ।

शेर्पा किदुग अमेरिकाले जारी गरेको वक्तब्यमा भनिएको छ हाम्रो उद्देश्यभ नेको यस प्रवासी भुमिमा आफ्नो भाषा, धर्म र संस्कृतिको रक्षा र सम्बद्र्धनका साथै विभिन्न अतिरिक्त कृयाकलापको माध्यमबाट समुदायको सर्वाङीण विकाशको लागि प्रयत्नशील रहनु हो । यसरी कुनै पनि समुदायको सर्वाङीण विकाशको खाका कोर्नुपूर्व त्यहाँ रहेको समस्याहरुको पहिचान गर्नु जरुरी छ । वर्तमान परिपेक्ष्यमा प्रवासी नेपाली समुदायमा देखिएको सबै भन्दा ठूलो समस्या भनेको पुस्तान्तर नै समस्या हो । यही पुस्तान्तरको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले शेर्पा किदुग अमेरिकाले नेपाली भाषा र संगीतको कक्षा सुरु गर्न लागेको ब्योहोरा सहर्ष जानकारी गराउन चाहन्छौं ।

डायस्पोराका नव आगन्तुक परिवारहरुले भोग्नु परेको भाषिक समस्या हल गर्न नेपाली भाषा कक्षाले सघाउने शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले विश्वास व्यक्त गर्नुभयो । नेपाली भाषा र संगीत कक्षा हप्ताको पाँचै दिन संचालन हुने र निकट भविश्यमा सप्ताहन्तमा पनि कक्षाहरु संचालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । संगीत शिक्षा सिकाउने गणेश पराजुली संगीत शिक्षामा बिमस गर्नुभएका बरिष्ठ संगीतकार हुनुहुन्छ । ऐच्छिक नेपालीमा समेत स्नातक गर्नुभएका उहाँसँग नेपाली भाषा र संगीत अध्यापनको लामो अनुभव छ ।

शेर्पा किदुगले विगतदेखि नै शेर्पा भाषा, संस्कृति र बौद्ध दर्शनका बारेमा नियमित कक्षाहरु संचालन गर्दै आएको छ । जुन अहिले नवौं बर्ष पूरा गरी दशौं बर्षमा प्रवेश गर्न लागेको छ । त्यहाँ एकसय पचासभन्दा धेरै विद्यार्थीहरुले ज्ञान लिइरहेका छन् । बालबालिकाहरुलाई शेर्पा भाषा, संस्कृति र बुद्ध धर्मको ज्ञान दिन सुरु गरिएको कक्षा पनि अहिले दोश्रो बर्षमा प्रवेश गर्दैछ । त्यहाँ ७० जनाभन्दा धेरैले अध्ययन गरिरहेका छन् । त्यो बाहेक सकर क्लबमा १२० जना बालबालिकाले नियमित प्रशिक्षण लिइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com