१५ हजारलाई अमेरिकी नागरिकता दिइदै , ३० हजार नेपालीले पाइसके


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

अबको तीनदिनपछि अमेरिकाको २ सय ४१ औं जन्मदिन हो । अमेरिकामा फोर्थ जुलाईलाई स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । अमेरिकाको जन्मदिनको अवशरमा अमेरिकी सरकारको युएससीआईएसले १५ हजार आप्रवासीहरुलाई नागरिकता प्रदान गर्ने कार्यक्रम राखेको छ । नागरिकता प्रदान गर्नका लागि स्वतन्त्रता दिवशको मर्म अनुरुप देशभर ६५ वटा नागरिकता वितरण समारोहहरु राखिएका छन् ।

जसमध्ये जुलाई ३ मा साउथ क्यारोलिना हप्किन्सको कंगारी नेशनल पार्क, जुलाई ४ मा न्युयोर्कको स्टीलवाटरमा रहेको साराटोगा नेशनल पार्क, जुलाई ४ मा नै भर्मोन्टको केल्भिन कुलिज होमस्टीड, जुलाई ४ मा नै एरिजोनाको सागुरो नेशनल पार्क, जुलाई ४ मा नै भर्जिनियाको थोमस जेफर्सन मन्टीसेलो, जुलाई ४ मा न्युजर्सीको ब्याटलसिप र भर्जिनियाको माउन्ट भर्मनमा हुने समारोह विशेष हुनेछ । यसरी विशेष समारोहकाबीच अमेरिकी नागरिकता पाउनेमा कैयन नेपालीहरुसमेत छन् । सन् १९७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको सम्झनामा हरेकवर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्रता दिवश मनाउने क्रममा अमेरिकाले हरेक वर्ष हजारौं योग्य आप्रवासीहरुलाई विशेष समारोहकाबीच नागरिकता प्रदान गर्ने कार्यक्रम समेत गर्दै आएको छ ।

जुलाई ४ मा कँग्रेसले स्वतन्त्रताको घोषणा गरेदेखि अमेरिकाले यसलाई आफ्नो जन्मदिनका रुपमा मनाउदै आएको छ । यसरी स्वतन्त्र अमेरिकामा नेपालीहरुले समेत अमेरिकी नागरिकता लिएर सुविधा र अधिकारको उपभोग गर्दै आएका छन् । अहिलेसम्म यसरी अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ३० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ ।


कुन वर्ष कति नेपालीले लिए अमेरिकी नागरिकता ?

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका  थिए ।   सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले,  सन् २००१ मा २०५ जनाले,  सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले ,  सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।  त्यस्तै सन् २००५ मा ४१७ जनाले,  २००६ मा ५७५ जनाले,  सन् २००७ मा ६३८ जनाले,  सन् २००८ मा ९५३ जनाले,  सन् २००९ मा १६३२ जनाले,  सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले  अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या  २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।  सन् २०१६ र सन् २०१७ को ९ महिनामा ५ हजार भन्दा धेरै नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com