यस्तो छ अमेरिकी विदेशमन्त्रालयले दूतावासहरुलाई दिएको १३ पेज लामो निर्देशन


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

अमेरिकी विदेशमन्त्रालयले भिसाका सन्दर्भमा विभिन्न गाइडलाइनहरु प्रदान गर्दै विश्वभरका कुटनीतिक र कन्सुलर पोष्टहरुलाई १३ पृष्ठ लामो निर्देशन पठाएको छ । न्युयोर्क समय अनुशार जुन २९ बिहिबार राती ८ बजेदेखि लागु हुनेगरी पठाइएको सो निर्देशनमा भिसा कन्सुलरलाई भिसा जारी गर्नुभन्दा अगाडि अपनाउनुपर्ने विधि सिकाइएको छ ।

निर्देशिकाका चारवटा बुँदामा यात्रा प्रतिबन्ध लगाइएका ६ वटा देशहरु र कार्यकारी आदेशको बारेमा व्याख्या गरिएको छ ।

२०१७ को जुन २९ भन्दा अगाडि नै अमेरिका छिरेका, जुन २९ मा अमेरिकाको अद्यावधिक भिसा भएकाहरुलाई यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशले प्रभाव नपार्ने उल्लेख गर्दै निर्देशिकामा जुन २९ को राती ८ बजेभन्दा अगाडिको ७२ घण्टाको अवधिमा जारी भिसा पनि खारेज गर्न नहुने उल्लेख छ ।

निर्देशिका डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

निर्देशिकाको छैठौं बुंदामा गैरआप्रवासी भिसाको लागि भिसा अधिकृतसमक्ष न्युयोर्क समय अनुशार जुन २९ को राती ८ बजेपछि कार्यकारी आदेशमा उल्लेखित ६ वटा देशका नागरिकले पासपोर्ट दिइसकेपछि विभिन्न तीन आधारमा भिसा जारी वा अस्वीकृत गर्नुपर्ने जनाइएको छ ।

सुरुमा भिसा अधिकृतले आवेदक कार्यकारी आदेशको आधारमा नभई इमिग्रेशन एण्ड नेशनालिटी एक्टको आधारमा आवेदक भिसाका लागि योग्य भएनभएको जाँच्नुपर्नेछ । यदि आवेदक योग्य नभएको खण्डमा भिसा अधिकृतले कन्सुलर लुकआउट एण्ड सपोर्ट सिस्टममा उपयुक्त रिफ्युजल कोड हाल्नुपर्छ । यदि आवेदक इमिग्रेशन एण्ड नेशनालिटी एक्टको आधारमा भिसाका लागि योग्य देखिएमा कन्सुलर अधिकारीले कार्यकारी आदेशका आधारमा योग्य भए नभएको जाँच्नुपर्छ ।

कुनै आवेदकको अमेरिकामा व्यक्ति वा संस्थासँग वास्तविक सम्बन्ध छ भने त्यो व्यक्तिका हकमा कार्यकारी आदेश लागु हुँदैन । यदि आवेदकले बी, सी वान, डी, आई र के भिसा बाहेक अन्य भिसाका लागि योग्यता प्रमाणित गर्न सकेको खण्डमा आवेदकका हकमा कार्यकारी आदेश लागु हुँदैन । नजिकको नातेदार, पारिवारिक आधार, रोजगारमा आधारित आप्रवासी भिसाका आवेदकका हकमा पनि कार्यकारी आदेश लागु हुनेछैन । तर अमेरिकामा जागिरको अफर नगरिएका ईबी वान क्याटेगोरीको भिसामा भने कार्यकारी आदेश लागु हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com