‘अब अमेरिकामा नेपालीले एसाइलम पाउने सम्भावना कम’ – केशव सेडाई


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

अमेरिकाको सेकेण्ड सर्किट पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै एकजना नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेकोे छ । युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किटले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको छ । सेकेण्ड सर्किटको फैसलाले माओवादीको डरदेखाउदै फाइल गरिएका अन्य एसाइलम केसहरु पनि प्रभावित हुनसक्ने विश्लेषण गरिएको छ ।

रुद्र नरसिंह थापाक्षेत्री नामका नेपाली नागरिकको मुद्दामा अमेरिकी पुनरावेदनको सो निर्णयलाई सार्वजनिक गरिएको छ, जसले नेपाली नागरिक सम्बन्धित आगामी असाइलम मुद्दामा नजिरको काम गर्नसक्नेछ । आवेदक थापाले आफू नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको र माओवादी विद्रोहीबाट आफनो ज्यानको खतरा रहेकोले भागेर अमेरिका पुगेको र यही नै शरण पाँउ भन्दै असाइलम गरेका थिए ।

सन २०१४ को जुनमा, इमिग्रेसन सम्बन्धी न्यायधीशले मुद्दालाई अस्वीकृत गरेपछि आवेदकले पुनरावेदन अदालतलाई गुहारेका थिए । सेकेण्ड सर्किटको निर्णयमा भनिएको छ, ‘आवेदनमा उल्लेख भए जस्तो असुरक्षा एवम भयको स्थितिलाई अहिले नेपाल सरकारले नियन्त्रण गरिसकेको छ । आधारभूत रुपमै परिवर्तित नेपालको स्थितिले आफना नागरिकलाई अब कुनै खतरा पैदा गरेको छैन ।’ सेकेण्ड सर्किट कोर्टको यही फैसलाबारे न्युयोर्कका चर्चित कानुन व्यवसायी केशव सेडाईसँग खसोखासका प्रधानसम्पादक किशोर पन्थीको कुराकानी ।

 

नेपालको देशको अवस्थामा परिवर्तन आएको भन्दै सेकेण्ड सर्किट कोर्टले नेपालीको एसाइलम अस्वीकृत गरेपछि अब अमेरिकामा नेपालीले एसाइलम नपाउने ब्याख्या गरिएको छ । यसबारे तपाई के भन्नुहुन्छ ?

रुद्र नरसिंह केसीले एसाइलम अफिसमा मुद्दा फाइल गरेपछि यो मुद्दाको सुरुवात भएको हो । एसाइलम अफिसले उहाँको मुद्दा अस्वीकार गरेपनि उहाँ इमिग्रेशन कोर्टमा पुग्नुभयो । इमिग्रेशन कोर्टले पनि उहाँको मुद्दा अस्वीकार गरिदियो । त्यसपछि उहाँको मुद्दा बोर्ड अफ इमिग्रेशन अपिलमा गयो । त्यहाँ पनि मुद्दा अस्वीकृत भइसकेपछि उहाँ सेकेण्ड सर्किट पुनरावेदन अदालतमा आइपुग्नुभयो । नेपालको बदलिदो राजनीतिक अवस्थाले सकारात्मक वा नकारात्मक नतिजा ल्याउनसक्ने परिप्रेक्षमा हालै सेकेण्ड सर्किट पुनरावेदन अदालतको निर्णयलाई बिश्लेषण गर्ने प्रयास गर्दैछौं । नेपालीहरुले अमेरिकामा शरणको मुद्दा फाइल गर्दा ९० प्रतिशतभन्दा धेरैले माओवादीले दुख दिएको, माओवादीले भौतिक आक्रमण गरेको वा नेपाल फर्केमा माओवादीका कारण ज्यान जानसक्ने आधारमा फाइल गरेका छन् । अमेरिकाको सरकारी वकिलहरुले नेपालमा सन् २०१३ मा भएको चुनावपछि माओवादीहरु मुलधारमा आएको ब्याख्या गर्नुभयो । उनीहरु अब आतंककारी नभएको अमेरिकका सरकारी वकिलको विश्लेषण हो । यो मुद्दाबाट माओवादीलाई अमेरिकी सरकारले आतंककारीका रुपमा नभई अरुजस्तै राजनीतिक दलका रुपमा लिएको पुष्टी भएको छ । यो मुद्दामा आवेदकलाई विगतमा माओवादीले दुख दिएको कुरा अदालतले स्वीकार गरेको छ । तर भविश्यमा माओवादीका कारण डर भएको अवस्था नरहेको निचोडमा सेकेण्ड सर्किट पुगेको छ । यो एउटा मुद्दामात्र भएपनि यसबाट अन्य मुद्दामा समेत प्रभाव पर्ने देखिन्छ । एसाइलम अफिसमा फाइल गर्ने नयाँ एसाइलमका केसहरु, अदालतमा रहेका पेन्डिंग केशहरुका सन्दर्भमा यो केसले प्रभाव पार्छ । सेकेण्ड सर्किटमा यो निर्णय नै भएकाले सेकेण्ड सर्किटमा माओवादीको कारण देखाउदै फाइल गरिएका केसहरु स्वीकृत हुने सम्भावना निकै कम छ । तर अन्य सर्किटमा पनि यो केसलाई नजिर बनाएर एसाइलम स्वीकृत नहुने सम्भावना रहन्छ । सबै अवस्थाको विश्लेषण गर्दा नेपालीले फाइल गरेका एसाइलम केसको भविश्यको नजिता राम्रो आउने सम्भावना छैन । समस्या आउने सम्भावना धेरै छ । माओवादी डर देखाएर एसाइलम केस स्वीकृत हुने गरेकोमा अब माओवादी डर नभएको अदालतले फैसला गरिदिएपछि अन्य केसहरुको स्वीकृत दर निकै कम हुने निश्चित छ ।

सेकेण्ड सर्किट कोर्ट भन्दा बाहिरको क्षेत्रमा माओवादीलाई आधार बनाए नेपालीले फाइल गरेका एसाइलम केसहरु पूर्णरुपमा अस्वीकृत हुन्छन् त ?

यो केससँग मिल्ने केस भएको सन्दर्भमा अस्वीकृत हुने सम्भावना उच्च छ । एसाइलम अफिस, इमिग्रेशन कोर्ट, सर्किट कोर्ट वा बीआईएमा मुद्दा चलिरहेको छ भने त्यो मुद्दा माओवादीको डरको आधारमा फाइल गरिएको छ भने स्वीकृत हुने सम्भावना कम रहन्छ । किनभने माओवादीका कारण कुनै खतरा नरहेको भनेर सेकेण्ड सर्किट कोर्टले फैसला गरिसकेको छ । भारतको एसाइलम मुद्दाहरु स्वीकृत हुनमा जसरी समस्या छ त्यसरी नै नेपालको एसाइलम स्वीकृत हुनमा अव समस्या हुनेछ । नेपालको पनि देशको अवस्था परिवर्तन भएको सेकेण्ड सर्किट कोर्टले फैसला गरेकाले यसको प्रभाव विस्तारै अमेरिकाभर पर्दै जानेछ ।

कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

अमेरिकाका अदालतमा अहिले पनि ३ हजार भन्दा धेरै नेपालीका एसाइलम केसहरु पेन्डिंग अवस्थामा छन् । सेकेण्ड सर्किट कोर्टको क्षेत्राधिकारभित्र पनि धेरै नेपालीहरुले एसाइलम फाइल गरेका छन् । अधिकांश माओवादीको डर भएको भन्दै केसहरु फाइल गरिएका छन् । अब ती केसको भविश्य के होला ?

अब माओवादीको डर देखाउदै फाइल गरिएका मुद्दाहरुको भविश्य राम्रो छैन । राम्रो वकिलले मुद्दाको राम्रोसँग व्याख्या गर्न सकेको खण्डमामात्र एसाइल स्वीकृत हुनसक्छ । तर सामान्य आधारमा माओवादीको डर देखाएर एसाइलम पाउने सम्भावना कम हुन्छ । यो फैसला अब युएससीआईएसको एसाइलम अफिसहरुमा पनि लागुहुन्छ । केसहरु धेरैमात्रामा अस्वीकृत हुने सम्भावना छ । नेपाल माओवादी सरकारमा गइसकेको सन्दर्भमा अब माओवादीका कारण एसाइलम पाउने सम्भावना कम बनेको छ ।

सेकेण्ड सर्किटबाहेकका अन्य क्षेत्रमा कस्तो प्रभाव पर्ला ?

सेकेण्ड सर्किटबाहेक अन्य क्षेत्रको सरकारी वकिलले यही मुद्दाका आधारमा व्याख्या गर्न सक्छ । यो मुद्दालाई न्यायाधिससमक्ष देखाउदै सरकारी वकिलले यो निर्णय सहीजस्तो देखिने भएकाले यो आधारमा एसाएलम दिन नहुने भनेर वकालत गर्नसक्छ । उताको न्यायाधिसले स्वीकृत गर्ने नगर्ने न्यायाधिसमा भर पर्ने भयो । तर धेरैजसो न्यायाधिसले सेकेण्ड सर्किट कोर्टको फैसलाको आधारमा माओवादी डरका कारण फाइल गरिएका मुद्दा अस्वीकार गर्ने सम्भावना देखिन्छ । तर कम्तीमा सेकेण्ड सर्किटको क्षेत्रमा भने माओवादीका डरका कारण फाइल गरिएको एसाइलम स्वीकृत हुने सम्भावना निकै कम छ । सेकेण्ड सर्किटको कोर्टको नजिर आफ्नो केसमा लागु नहुने प्रमाणित गर्न सकेमा मात्र एसाइलम स्वीकृत हुनेछ । तर समग्रमा सेकेण्ड सर्किट कोर्टको फैसला नेपालीको एसाइलमको सन्दर्भमा राम्रो समाचार होइन । अहिले नै एसाइलम फाइल गरेका सबै नेपालीको मुद्दा तुरुन्तै अस्वीकृत हुने नभएपनि यो फैसलाका कारण विस्तारै अमेरिकाभर नै माओवादी डर देखाउदै फाइल गरिएका मुद्दाको पक्षमा सकारात्मक फैसला नआउने देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com