अमेरिकामा यात्रा प्रतिबन्ध सुरु


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धि कार्यकारी आदेश न्युयोर्क समय बिहिबार बेलुका ८ बजेदेखि लागु भएको छ । अमेरिकी सर्बोच्च अदालतले कार्यकारी आदेश कार्यान्वयनका लागि अनुमति दिएपछि लागु भएको हो ।

यात्रा प्रतिबन्ध अनुशार अमेरिकामा विद्यालय वा कलेजको सम्बन्ध रहेका वा पारिवारिक सम्बन्ध भएकाहरु अमेरिका छिर्न पाउनेछन् तर होटल रिजर्भेशनलाई भने वास्तविक सम्बन्धका रुपमा स्वीकार गरिनेछैन ।

त्यस्तै अमेरिकामा बोल्नका लागि बोलाइएका शैक्षिक लेक्चररलाई भने अमेरिका छिर्न अनुमति दिइनेछ । यो प्रतिबन्ध लिबिया, सिरिया, इरान, सोमालिया, यमन र सुडानका नागरिकका लागि ९० दिनका लागि हो । शरणार्थीका हकमा भने जुनसुकै देशबाट भएपनि अमेरिकामा यात्रा प्रतिबन्ध लगाइनेछ ।

अमेरिकी सरकारले बुधबार नै भिसाका लागि अमेरिकी दूतावास र कन्सुलेटहरुमा भिसाको नयाँ गाइडलाइन पठाइसकेको छ । जसअन्तरगत भिसा आवेदकले भिसा प्राप्त गर्नका लागि बुबाआमा, दम्पत्ति, छोराछोरी, ज्वाई, बुहारी वा दाजुभाईदिनीबहिनी अमेरिकामा रहेको प्रमाणित गर्न सक्नुपर्नेछ । तर मंगेतर, हजुरबा हजुरआमा, नातीनातिना, अन्टी, अंकल, भजित, भान्जाभान्जी, भिनाजु, भाउजु, काकाकाकीका छोराछोरी जस्ता सम्बन्ध भएकाहरुलाई भने अमेरिका छिर्न दिइनेछैन ।

अमेरिका आउनका लागि पर्खिरहेका शरणार्थीहरुका हकमा पनि नयाँ प्रतिबन्ध लागु हुनेछ । यात्रा प्रतिबन्ध लागु हुने भएपछि एम्नेष्टी इन्टरनेशनल जस्ता समुहहरुले विमानस्थलहरुमा आफ्ना सोधकर्ताहरु पठाउने भएका छन् । एकपटक भिसा जारी भइसकेकाहरुको भिसा खारेज नगरिने भएकाले नयाँ भिसाका आवेदकहरुमात्र यो यात्रा प्रतिबन्धबाट प्रभावित हुनेछन् ।

यात्रा प्रतिबन्ध नलाग्नेहरु को को हुन् ?

– अमेरिकी नागरिकहरु
– अमेरिकाको ग्रिनकार्ड हुनेहरु
– यसअगाडि भिसा पाइसकेकाहरु
– जुन २६ भन्दा अगाडि अमेरिका छिरिसकेकाहरु
– अमेरिकासहित अन्य देशको पनि नागरिकता हुनेहरु
– एसाइलम स्वीकृत भएकाहरु
– अमेरिकामा प्रवेश गरिसकेका शरणार्थीहरु
– अमेरिकामा नजिकको पारिवारिक, ब्यापारिक र शैक्षिक सम्बन्ध भएका विदेशी नागरिकहरु

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com