सर्बोच्चले दियो ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनको अनुमति


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

बहुप्रतिक्षित यात्रा प्रतिबन्धबारेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबारे फैसला गर्दै अमेरिकी सर्बोच्च अदालतले आंशिक रुपमा आदेश कार्यान्वयनको अनुमति दिएको छ । यो मुद्दामा सर्वोच्च अदालतले आगामी बर्षात्मा मौखिक तर्क सुन्ने जनाइएको छ ।

इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका यात्रा गर्नमा ९० दिनसम्म प्रतिबन्ध लगाउने आदेश आगामी ७२ घण्टाभित्र कार्यान्वयन हुने जनाइएको छ । अमेरिकाभित्र रहेका व्यक्ति वा संस्थासँग प्रमाणिक सम्बन्ध हुनेहरुबाहेकका लागि यात्रा प्रतिबन्ध लगाउनेगरी सर्वोच्चले आदेश दिएको हो ।

अमेरिकी विश्वविद्यालयमा स्वीकार गरिएका विद्यार्थीहरु वा अमेरिकी कम्पनीहरुबाट कामदारका रुपमा स्वीकार गरिएकाहरुका हकमा भने यात्रा प्रतिबन्ध लागु नहुनेगरी सर्वोच्च अदालतले फैसला गरेको छ । सर्वोच्च अदालतको यो फैसलालाई ट्रम्पको विजयका रुपमा हेरिएको छ । कार्यकारी आदेश आंशिक रुपमा कार्यान्वयनका लागि सर्बोच्च अदालतले बाटो खोलिदिएपछि विमानस्थलहरुमा पुन पहिलेजस्तै अराजकता फैलिनसक्ने अनुमान गरिएको छ ।

सर्बोच्च अदालतले यात्राप्रतिबन्धबारेको आदेशबारे निर्णयदिएको यो नै पहिलोपटक हो । ट्रम्पको अदालतको फैसलालाई राष्ट्रीय सुरक्षाको स्पष्ट विजयको संज्ञा दिएका छन् । अमेरिकालाई नोक्सान गर्ने व्यक्तिलाई अमेरिकाभित्र छिर्न अनुमति दिन नसकिने बताउदै ट्रम्पले आफूले कडा मिहिनेती र उत्पादनमुलक काम गर्ने अमेरिकी नागरिक र अमेरिकालाई माया गर्ने व्यक्तिमात्र आफूले चाहने बताए ।

ट्रम्पले यसै महिनाको मध्यतिर एउटा मेमोमा हस्ताक्षर गर्दै यात्राप्रतिबन्धबारेको आदेशबारे सर्वोच्चको फैसला आएको ७२ घण्टाभित्र कार्यान्वयन गर्नुपर्ने भन्दै माताहतका निकायलाई निर्देशन दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com