मेक्सिको हुँदै अमेरिका छिरेका ७ नेपालीलाई काठमाडौं छाडेर फर्के अमेरिकी अधिकारी


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

मानव तस्करीको चंगुलमा परेर महिनौं लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले डिपोर्ट गरेको छ । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले सरकारी जहाज नै चार्टर गरेर सात नेपालीलाई बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई नेपाली अधिकारीलाई जिम्मा लगाएर फर्केको हो ।

नेपालबाट भारत, कोलम्बिया, टर्की, पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका सात नेपालीले त्यसका लागि ३० देखि ४० लाख रुपैयाँ खर्चेका थिए । देशैपिच्छेका दलालबाट पटक–पटक ठगिँदै मेक्सिको बोर्डरबाट हाम्फालेर अमेरिका पसेका सात जनामध्ये कसैले पाँच महिना त कसैले सात महिना लामो अवैध यात्रा गरेका थिए । फर्केकाहरू २२ देखि ४२ वर्ष उमेर समूहका छन् ।

सडकमार्ग हुँदै भारतको राजधानी दिल्ली पुगेका नेपालीहरूले दलालको सेटिङमा दिल्लीस्थित विमानस्थलबाट बिनाकागजात कोलम्बियाको उडान भरेको बताए । रुकुम कोल गाविसका तारक पुनले नेपालबाट अमेरिका पुग्दा तीन महिना लामो यात्रा गरे । भारतबाट थाइल्यान्ड पुगेका उनी इन्डोनेसिया हुँदै बोलिभिया पुगे । एउटा देशबाट अर्को देशमा जाँदा उनलाई दलालले नै नयाँ दलालको हातमा सुम्पिन्थे । बोलिभियाबाट स्थलमार्ग हुँदै पेरु पुगेका पुन त्यहाँबाट इक्वेडर हुँदै पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुगेका थिए ।

पुनले मानव तस्करको सेटिङमा परेर आफूजस्तै अमेरिका जान हिँडेका दर्जन बढी नेपालीलाई विभिन्न देशमा भेटेको सुनाए । ३० लाख खर्चेर अमेरिका टेकेका पुनले भने, ‘बाँचेर फर्किएँ ।’ दलालको सेटिङमा मेक्सिको र अमेरिका छुट्याउने बोर्डरको पर्खालसम्म पुगेर पुनले झन्डै २० फिट अग्लो पर्खालबाट हाम्फालेर अमेरिकाको जमिन टेकेको बताए । त्यसलगत्तै उनलाई अमेरिकन बोर्डर सेक्युरिटी एजेन्सीले पक्रियो र डिटेन्सन सेन्टरमा झन्डै सात महिनासम्म राख्यो ।

दलालको चंगुलमा परेर रुकुमकै धनीराम बुढाले अमेरिका पुग्ने सपनामा ३० लाख गुमाए । भारतबाट टर्की हुँदै कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला हँ‘दै उनी मेक्सिको पुगेका थिए । उनले अवैध मार्गमा हिँडदाको दु:ख सुनाउँदै भने, ‘पाँच दिनसम्म दैनिक एउटा सानो बिस्कुटको भरमा जंगलै जंगल यात्रा गरें ।’ जंगल यात्राका क्रममा बुढाले बाटोमा भेटिने खोलाको पानी मात्रै खान पाउँथे ।

उनले आफूसँगैको टोलीमा सात नेपाली र केही अफ्रिकी देशका नागरिक रहेको बताए । अमेरिका छिर्ने क्रममा सीमामा रहेको पर्खालबाट हाम्फाल्दा बुढाको गोलीगाँठो नै फुट्यो र खुट्टाको हड्डी भाँच्चियो । अध्यागमनले पक्रेर लगेपछि उनलाई २८ दिनसम्म अस्पतालमा राख्यो । ३२ वर्षीय बुढाले भने, ‘बाँचेर नेपाल त आइयो तर यतिका धेरै ऋण कसरी तिर्ने हो ?’ मानव तस्करको चंगुलमा परेर अमेरिकासम्म पुगेका बुढाले यो यात्रामा तीस लाख रुपैयाँ गुमाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्दा उनको गोजीमा ३० रुपैयाँ मात्रै थियो । उनले भने, ‘कसैको सहयोग मागेर घरसम्म जेनतेन पुग्नुपर्ला ।’बागलुङ, बलेवाका बस्नेत थरका एक तन्नेरीले भने मानव तस्करको चंगुलमा परेर ४० लाख रुपैयाँ गुमाए । जापानमा रहेका दाइले दु:ख गरेर कमाएको सबै पैसा सकेका उनको विमानस्थलमा झर्दा गोजीमा ‘सुक्कोदाम’ थिएन । उनले भने, ‘साथीहरूसँग घर जाने खर्च मागेको छु ।’

१२ पास गरेका बस्नेत मानव तस्करको समूह पक्रेर मेक्सिको हुँदै अमेरिका छिरेका थिए । निकारागुवाको जंगलमा १७ घण्टासम्म खाना र पानीबिना हिँडेका बस्नेतले डाँका समूहले हतियार देखाएर दुई सय डलर लुटेको कथा सुनाए । उनले अवैध रूपमा अमेरिका छिर्ने नेपालीको धेरै टोली बाटोमा देखेको सुनाए । कोलम्बियाबाट अवैध रूपमा पानामा प्रवेश गर्ने क्रममा मात्रै १० लाख रुपैयाँ तिरेका बस्नेतले भने, ‘हिँडदाहिँडदै थाकेर, लखतरान परेर र खान नपाएर विरिक्तिएका थुप्रै मान्छे देखें । दुई/तीन जना त दु:ख खेप्न नसकेर मरेका पनि देखें ।’ मेक्सिकोको पर्खालबाट अमेरिका हाम्फालेर पैदल हिँडेको तीस मिनेटमै बस्नेत समातिएका थिए ।

अनौठो त के छ भने नेपाल फर्काइएका सातै जना नेपालीलाई अमेरिकाबाट जहाज चढाउन्जेल पनि आफूहरूलाई कहाँ लगिँदै छ भन्ने थाहा थिएन । अमेरिकन सुरक्षाकर्मीले अमेरिकाकै अर्को स्टेटमा लैजान लागिएको सूचना दिएका थिए । बस्नेतले भने, ‘थाइल्यान्ड आएपछि मात्रै हामीलाई नेपाल फिर्ता पठाउन लागिएको सूचना पाइयो ।’ सात नेपालीलाई स्वेदश फर्काउन चार्टर गरेको जहाजमा १५ अमेरिकी सुरक्षाकर्मी थिए ।

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले मानव तस्करीको चंगुलमा परेर नेपालीहरूलाई विदेश पुर्‍याउने गिरोहको सूत्र पत्ता लगाउन आफूहरूले प्रयत्न गर्ने बताए । उनले फर्केकाहरूबाट प्राप्त सूचना विश्लेषण गर्दै अनुसन्धान अघि बढाइने बताए । महानिर्देशक गेलालले मानव तस्करले भारतको बाटो सजिलै प्रयोग गरेको भन्दै यसबारे भारतीय अध्यागमन अधिकारीसँग पनि कुरा गरिने बताए ।


इकान्तिपुरबाट साभार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com