देशनिकाला भएकी नेपाली किशोरीलाई फर्काउन हस्ताक्षर अभियान


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

– हरिकृष्ण पन्थी

नेपाली बाबुआमाबाट जर्मनीमा जन्मेकी १४ बर्षकी बालिका बिभ्सी रानालाई जर्मन प्रहरीहरुले कक्षाकोठाबाटै नियन्त्रणमा लिएर नेपाल देशनिकाला गरिएपछि उनलाई जर्मनीमा फिर्ता गराउन अभियान थालिएको छ । उनका विद्यालयका साथीहरु लगायत विभिन्न संघ संस्थाहरुले हस्ताक्षर अभियान संचालन गरेका हुन् ।

अगस्त ३० सम्म ५० हजार हस्ताक्षर पुगेमा ५० हजार हस्ताक्षर पुगेमा बिभ्सी र उनका बाबुआमालाई जर्मन नियमअनुशार फिर्ता गर्ने वा नगर्ने सन्दर्भमा त्यहाँको सरकारले निर्णय गर्ने जनाइएको छ । तीनदिनमा नै जर्मनभित्रै साढे २४ हजारले हस्ताक्षर गरिसकेका छन् भने अन्य देशबाट २५ हजार भन्दा धेरैले समर्थन हस्ताक्षर गरेका छन् ।

तपाई पनि हस्ताक्षर गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । 

जर्मनीको नर्थ राइन बेष्टफेलियामा हाइस्कुलमा अध्ययनरत रानालाई प्रहरीले कक्षाकोठाबाटै नियन्त्रणमा लिएर फ्रैंकफर्ट विमानस्थलमा लगेका थिए र त्यहीबाट देशनिकाला गरेर नेपाल पठाएका थिए । कक्षाकोठाबाट प्रहरीले बिभ्सीलाई पक्राउ गर्दा उनी आत्तिएर रोएकी थिइन् । बिभ्सीका परिवार जर्मनीमा बस्न पाउने अनुमति सन् २०१३ मा नै सकिएको थियो ।

त्यसपछि उनका परिवारले जर्मनीमा बस्नका लागि अनुरोध गर्दै फाइल गरेको अपिल पनि सन् २०१६ को मार्चमा मा खारेज भएपछि बिभ्सीलाई देशनिकाला गरिएको हो ।

बिभ्सीसँगै उनका बाबुआमालाई पनि जर्मनीबाट देशनिकाला गरिएको छ । बिभ्सीका परिवार १५ बर्ष अगाडि जर्मनीमा गएर एसाइलमका लागि आवेदन दिएका थिए । तर आवेदन अस्वीकृत भएको थियो । बिभ्सीका १८ बर्षका दाजुलाई भने जर्मनी छाड्न बाध्य पारिएको छैन । तर बिभ्सीका दाजुलाई किन जर्मनीमा नै बस्न दिइयो भन्नेबारे स्पष्ट छैन । कक्षा कोठाबाटै संघीय अधिकारीहरुले बिभ्सीलाई पक्राउ गर्दा उनका सहपाठीहरु पनि त्रसित भएका थिए । सबैजना विद्यार्थीहरुमाझ रुवावासी नै चलेको थियो ।

बिभ्सीका एकजना साथी बेहोस भएर ढलेपनि अस्पताल नै लग्नुपरेको थियो । देशनिकाला भइसकेपछि पनि बिभ्सीले उनका साथीहरुलाई आफू सकुशल रहेको र कुनै चिन्ता नलिन भन्दै मेसेज पठाएकी थिइन् ।

विभ्सीले आफू सकुशल रहेको भन्दै साथीहरुलाई सन्देश पठाएकी थिइन्

बिभ्सीको पक्राउबिरुद्ध उनका साथीहरुले तयार पारेको पोष्टर ।
बिभ्सीको कक्षा कोठामा रहेको खाली सिट ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com