मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा


प्रकाशित मिति : जेष्ठ १५, २०७४ सोमबार

विराटनगर, १५ जेठ । दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ ।

यस जिल्लाका एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय आजबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । विराटनगर उपमहानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यसका साथै मोरङको ६६९ वटा मतदान केन्द्रका लागि चार हजार १४ कर्मचारी खटिनेछ । यसका लागि कर्मचारीको छनोट र तालिम कार्य एक साताभित्रमा सम्पन्न गरिसक्ने पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभयो ।

सो निर्वाचनका लागि छ लाख ५१ हजार मतपत्र प्राप्त भइसकेको छ । पुराना मतपेटिका सात हजार मौज्दात रहेकामा केन्द्रीय कार्यालयबाट थप ८५÷८५ लिटरको एक हजार १०६ वटा थप मतपेटिका पठाइएको बताइएको छ ।

यसैबीच, निर्वाचनमा मतदान गर्ने प्रक्रियालगायतका विषयमा जानकारी गराउनका सडक नाटक, पर्चा पोष्टर वितरण, मतदाता शिक्षालगायतका कार्य सुचारु भएका छन् ।

सफलतापूर्वक निर्वाचन गराउनका लागि दलहरुबीच सहमति

स्थानीय तहको निर्वाचन सफलतापूर्वक निष्पक्ष ढङ्गले सम्पन्न गराउनका लागि यहाँ सर्वदलीय समन्वय समिति गठन गरिने भएको छ ।

विभिन्न राजनीतिक दल, सुरक्षाकर्मी, निर्वाचन अधिकृतलगायतको विराटनगरमा बसेको बैठकले धाँधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सातबुँदे सहमति पनि गरेको छ ।

सो अवसरमा निर्वाचनको अवधिभर निर्वाचन आचारसंहिताको सबैले प्रभावकारी ढङ्गले पालना गर्ने र आचारसंहितालाई पालना नगर्नेलाई कानुनी कारबाही गर्नेसमेत सहमति भएको हो ।

यसका साथै मतगणना गर्दा कुनै पनि मतपत्रमाथि विवाद भएमा निर्वाचन अधिकृतले गरेको निर्णयलाई अन्तिम मान्ने, मतदाता परिचयपत्रको वितरण कार्यमा दलका कार्यकर्ताले सघाउने र मतदाता शिक्षालाई प्रभावकारी बनाउने सहमति भएको सो कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रममा दलका कार्यकर्ताबीच विवाद भएमा समाधानका लागि एक दलको एक नेताको नाम, दर्जा र फोन नं निर्वाचन अधिकृतलाई उपलब्ध गराउनेसमेत सहमति भएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com