अवार्ड लिलाममा राखेका महावीरलाई नेफिन इजरायलबाट साढे पाँच लाख सहयोग


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि आफूले पाएको म्यागासेसे लगायतका अवार्ड समेत लिलाममा राखेका महावीर पुनको सक्रियतामा स्थापना गर्न लागिएको केन्द्रका लागि सहयोग जुट्दैछ ।

अवार्डहरु नै लिलामीमा राखेको भोलिपल्ट नै केन्द्रका लागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले पाँच लाख ५० हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

ललिपुरस्थित नेपाल आदिवासी जनजति महासंघको केन्द्रीय कार्यालयमा आयोजित सहयोग हस्तान्तरण समारोहमा नेफिन इजरायलका तृतीय उपाध्यक्ष लक्ष्मी योञ्जन तामाङ र नेफिनका अध्यक्ष जगत बरामले पुनलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

२५६१औं बुद्ध जयन्तीको अवसरमा इजरायलमा आयोजित कार्यक्रममा संकलित रकम आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको उपाध्यक्ष योञ्जनले सो अवसरमा जानकारी दिनुभयो ।

कार्यक्रममा पुनले सहयोगका लागि धन्यवाद दिँदै आफूहरुले हुनेखाने वर्गबाट भन्दा दुःख गरेर विदेशमा रहेकाहरुबाटट सहयोग पाएको बताउनुभयो ।

कार्यक्रममा नेफिनका अध्यक्ष जगत बराम, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले सहयोग जुटाउने नेफिन इजरायललाई धन्यवाद दिएको थियो ।

कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, युवा महासंघका अध्यक्ष जीएस गुरुङ, नेफिनका पूर्वमहासचिव आङकाजी शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com