सगरमाथाको ८ हजार मिटरमा भेटिए चार शव


प्रकाशित मिति : जेष्ठ ११, २०७४ बिहीबार

सगरमाथाको ८ हजार मिटरको उचाईमा रहेको क्याम्प ४ मा त्रिपालभित्र चारवटा शव भेटिएका छन् । शेर्पा उद्दारकर्ताहरुले ती शवहरु भेटाएका छन् । अब यो सिजनमा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

मृतकहरु को हुन् भन्नेबारे केही खुलेको छैन । शव भेटिएको क्याम्प ८ हजार मिटरको उचाईमा रहेको चौथो तथा अन्तिम क्याम्प हो, जुन क्याम्पबाट सगरमाथा आरोहणको अन्तिम प्रयास गरिन्छ । गत सप्ताहन्तमा मात्र भारतीय आरोही रवि कुमार, अमेरिकी डाक्टर रोल्याण्ड इयरउड, स्लोभाक आरोही भ्लादिमिर स्टार्बा र अष्ट्रेलियन आरोही फ्रान्सिस्को एन्रिकोको ज्यान गएको थियो । त्यो भन्दा अगाडि दुईजनाको ज्यान गएको थियो ।

सगरमाथा आरोहणको सिजन मार्चमा सुरु भएर मे महिनाको अन्त्यसम्म चल्छ । प्रयाप्त उपकरण, मौसम भविश्यवाणी लगायतका कारण पछिल्लो समयमा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनेहरुको संख्या विगतको भन्दा भने घटेको छ ।

यो बर्ष नेपाल पर्यटन विभागले ३७१ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको थियो । सन् २०१४ र २०१५ मा सगरमाथा आरोहण गर्न नपाएका कारण यो बर्ष आरोहण गर्न चाहनेहरुको संख्या केही बढेको थियो । सगरमाथा आरोहणको अनुमति लिनका लागै झण्डै ११ हजार डलर तिर्नुपर्छ ।

फाइल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com