सत्ता परिवर्तनको हतार नगर्न अध्यक्ष ओलीको आग्रह


प्रकाशित मिति : जेष्ठ ९, २०७४ मंगलबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “मैले दुवै दलका प्रमुखलाई कम्तीमा २०, २२ दिन त पर्खनुस्, लोकलाजको पनि ख्याल गर्नुस् भनेको छु, यो हाम्रो मामिला हो भन्दैहुनुुहन्थ्यो, तर यो अस्थिरता निम्त्याउने कुरा पनि हो ।”

निर्वाचनको मिति तय भइसकेपछि सरकारले संविधान र सहमति विपरीत स्थानीय तहको सङ्ख्या थपेकोमो आपत्ति जनाउँदै उहाँले त्यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गर्नुभयो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ११ जिल्लामा २२ स्थानीय तह थप र केहीलाई स्तरोन्नति गरेको थियो । निर्वाचन आयोगले सरकारको उक्त निर्णयलाई आचारसंहिता विपरीत भनी स्पष्टरुपमा भन्नुपर्ने र सरकारले पनि निर्णय सच्याउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले संविधान संशोधन विधेयक पनि फिर्ता लिनुपर्ने माग गर्दै पहिलो चरणको स्थानीय निर्वाचनमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गरिनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनलाई प्रभावित हुने गरी बजेटमा नयाँ कार्यक्रम नल्याउन र करका दायरा यथावत् राख्न माग गर्दै उहाँले “राष्ट्रिय जनता पार्टीले राष्ट्रिय भावनाका साथ लोकतान्त्रिक अभ्यास र प्रक्रियामा साथ दिने अपेक्षा पनि व्यक्त गर्नुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com