बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारबाट निन्दा


प्रकाशित मिति : जेष्ठ ९, २०७४ मंगलबार

नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी उक्त हमलामा परी १९ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको छ । उहाँले यस दुःखद घडीमा आफू, नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती सरकार र जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।

मन्त्री डा महतले सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । घटनामा परी कैयौँ व्यक्ति घाइते भएका छन् ।

मन्त्री डा महतले सो घटनाको निन्दा गर्दै यस्तो अमानवीय कार्यमा संलग्नलाई जति सक्दो चाँडो कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिनुभएको छ । उहाँले नेपाल सधैँ सबैखाले आतङ्ककारी क्रियाकलापको विरुद्धमा छ भन्दै सो पत्रमा आतङ्ककारीका विरुद्धमा गरिने कारबाहीमा नेपाल सरकार बेलायत सरकार र बेलायती नागरिकका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com