ट्रम्प साउदी अरबपछि इजरायल र प्यालेस्टाइनतिर


प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमणका क्रममा साउदी अरबपछि इजरायल र प्यालेस्टाइनको भ्रमणका लागि सोमबार तेलअभिभका लागी छुट्नुभएको छ ।

ट्रम्पको विमान साउदी अरबबाट यहुदीहरुको राज्य इजरायलका लागि सिधा उडान भर्ने सम्भवत पहिलो विमान हुनेछ ।

साउदी अरबको बसाइपछि राष्ट्रपति ट्रम्प सिधै तेल अभिभका लागि छुट्नुभएको हो । इजरायलमा रहँदा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतका नेतासँग भेट गरी इजरायल–प्यालेस्टानबीच शान्तिका लागि बाटो खोज्ने विषयलाई महत्वका साथ उठाउने बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले साउदीबाट इजरायलका लागि सिधा उडान नहुने विषयमा सम्भवत अनभिज्ञ हुनुहुन्थ्यो र यसरी बाटो तय गर्नुभयो, इजरायली नागरिक उड्डयन प्राधीकरणका प्रवक्ताले बताउनुभयो ।

इजरायल र साउदी अरबबीच कुटनीतिक सम्बन्ध रहेको छैन । यद्यपि दुई देशबीच इरानसँग जोडिएर आउने विषयमा अनौपचारिक सम्बन्ध भने देखिने गरेको छ ।

इजरायली नागरिक खासगरी हजारौँ इजरायली मुस्लिम धर्मावलम्बीहरु साउदी अरबमा हज मनाउन जाने गर्छन् । तर साउदीबाट इजरायल जाने गरेका भने कमै उदाहरण भेटिन्छन् ।

यसैवीच अमेरिकी राष्ट्रपतिको इजरायल तथा प्यालेस्टाइनको भ्रमणलाई लिएर यहाँको सुरक्षास्थितिमा अत्यन्तै सावधानी अपनाइएको बताइएको छ ।

इजरायली नेतासँगको सोमबारको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्प प्यालेस्टाइन जानुहुने र वेथलेहममा प्यालेस्टाइन नेता महमुद अब्बाससँग भेट गर्नुहुनेछ ।

ट्रम्प पूर्व अमेरिकी राष्ट्रपतिको तुलनामा इजरायलप्रति केही नरम मानिनुहुन्छ । सन् १९६७ मा इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलम कब्जामा लिएको थियो । त्यसपछि अहिलेसम्म प्यालेस्टाइन भूमिमा करिब ६ लाख यहुदीलाई विभिन्न १४० बस्तीमा बसोबास गराउँदै आएका छन् ।

तर प्यालेस्टिनीहरु सो क्षेत्र आफ्नो भएको र इजरायलले अन्तर्राष्ट्रिय कानुन विपरित बस्ती बसालेको दाबी गर्दै आएको छ ।

ट्रम्पले यसअघि नै तेल अभिभमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने बताउँदै आउनुभएको छ । जसले इजरायललाई त खुशी तुल्याएको छ, प्यालेस्टिनीहरु भने यसप्रति प्रशन्न छैनन् ।

तस्विर : सीएनएन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com