गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु


प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार

रसुवा गङ्गा दशहरा पर्वमा स्नान गर्ने भक्तजन गोसाइँकुण्ड जाने क्रम सुरु भएको छ ।

जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गा दशहरा अवसर पारी भक्तजन स्नान तथा पूजापाठका लागि आगमन सुरु भइसकेको र यस वर्षको गङ्गा दशहरा पर्व यही जेठ १२ देखि सुरु भई २१ गतेसम्म चल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

भगवान् शङ्कर गोसाइँबाबा विराजमान रहनुभएको पवित्र कुण्डमा डुबुल्की मारेपछि शारीरिक रोग हट्ने, अन्जानमा गरेका सबै पाप हट्ने र मागेका वर पूरा हुने मान्यता रहिआएको छ ।

गोसाइँकुण्ड जानका लागि धुन्चेसम्म मोटर र त्यसपछि डेढ दिनको पदैल यात्राबाट पुग्न सकिन्छ । भूकम्पपछि बाह्रै महिना कुण्ड जाने भक्तजनको दैनिक २०÷२५ जना ओहोरदोहोर भइरहेको चन्दनपारिका होटल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो ।

समुद्री सतहबाट १४ हजार १०० फिटको उचाइमा अवस्थित पौराणिक धार्मिक कुण्डमा सात अथवा तीन र नसके एकपटक डुबुल्की मार्ने चलन रहिआएको र स्नानपश्चात् पूजाआजापछि मनको चिन्ता हटी नयाँ सोचविचार आउने पुरोहित ढकालले बताउनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com