रोचक परिणाम : कतै बराबर, कतै १ मतको फरक


प्रकाशित मिति : जेष्ठ ७, २०७४ आईतबार

गत बैशाख ३१ गते भएको पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनमा केही स्थानमा निकै कडा प्रतिस्पर्धा मात्र भएन कि निकै कम मतान्तरमा समेत हार जित भएका घटना देखिएका छन् ।

गोलाप्रथाबाट निर्वाचित

सल्यानको ढोरचौर गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी ३२१ मत प्राप्त गरे । दोहोर्याएर मतगणना गर्दा पनि मत बराबरी नै आएपछि गोलाप्रथाबाट टुंगो लगाइयो । गोलाप्रथामा कांग्रेसका दिनेशले बाजी मारे ।

एक मत बढी ल्याएर निर्वाचित

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित हुनुभएको छ ।

एमाले उम्मेदवार लोहनी ६३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार धनबहादुर लामाले ६३८ मत प्राप्त गर्नुभएको थियो ।

एक मतको मात्र अन्तर भएपछि प्राप्त मतको प्रत्येक बुलेटिनको अङ्कलाई तीनपटकसम्म गणना गरे पनि सोहीअनुसारको नतिजा देखिएपछि परिणाम सार्वजनिक गरिएको छ ।

वडा सदस्य पदमा एमालेका उम्मेदवार सीता पाण्डे ६३७, दलित महिला सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार कालिकादेवी बर्देवा ५८०, खुला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विकास पाण्डे ६२५, एमालेका उम्मेदवार हरिकुमार गुरुवाचार्य ४९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

डोल्पाः मुड्केचुलामा जम्मा २ मतको फरक

सबैभन्दा कम मतान्तर अर्थात् २ मतले डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् । उनले ९३३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लंकबहादुर रोकायाले ९३१ मत प्राप्त गरे । सो गाउँपालिकामा कुल मतदाता २,४०४ छन् ।

जुम्लाः हिमा गाउँमा ३ मतको फरक

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार राजबहादुर शाहीले तीन मतन्तरले जितेका छन् । उनले १,३१७ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका भैरवबहादुर रोकायाले १,३१४ मत पाएका छन् । सो गाउँपालिकाको मतदाता संख्या ५,१६९ छ ।

डोल्पाः त्रिपुरासुन्दरीमा १८ मत फरक

नगरपालिका प्रमुखमा एमालेका ओमबहादुर बूढा १८ मतान्तरले विजयी भए । उनले १६०९ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका डिलबहादुर विष्टले १५९१ मत प्राप्त गरे ।

सिन्धुलीः तीनपाटनमा १९ मतको फरक

सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णबहादुर थापा १९ मतान्तरले विजयी भए । प्रतिद्वन्द्वी एमालेका छत्रबहादुर दाहालले ५,६८२ मत पाएका छन् भने विजयी थापाले ५,७०१ मत पाएका छन् ।

जाजरकोटः बारेकोटमा १९ मत फरक

गाउँपालिका प्रमुखमा कांग्रेसका महेन्द्रबहादुर शाह १९ मतान्तरले विजयी भए । उनले २१४८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादीका तिलक रावतले २१२९ मत प्राप्त गरे ।

धादिङः ज्वालामुखीमा २८ मत फरक

धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विनोद तिमल्सिनाले २८ मतअन्तरले जितेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९२६ मत प्राप्त गरेका छन् । तिमल्सिनाले ५ हजार ९ सय ५४ मत पाएका छन् । कुल जनसंख्या २३ हजार ९६६रहेको उक्त गाउँ पालिकामा जम्मा मतदाता संख्या १७ हजार २९७ छ । आजको नयां पत्रिकाले छापेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com